काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पार्टीको विधानले तोकेको समयमा नहुने निश्चित देखिएको छ । सभापति शेरबहादुर देउवाले आगामी प्रधानमन्त्री बन्नका लागि नेकपा (एमाले) सँग गरेको अग्रीम सहमतिलाई देखाउँदै महाधिवेशनको मिति सार्न खोजेका छन् ।
उक्त प्रस्तावलाई संस्थापन पक्षका शीर्ष नेताहरूले मौन सहमति जनाएसँगै र केन्द्रीय समितिमा समेत देउवाको बहुमत भएको अवस्था हेर्दा कांग्रेसको १५औँ महाधिवेशन आगामी २०८२ साल मंसिरभित्रै नहुने देखिएको हो । गत २ फागुनमा पार्टी सभापति देउवा निवासमा संस्थापन पक्षका शीर्ष नेताहरू १५औँ महाधिवेशनमा संस्थापन पक्षका सभापति उम्मेदवारबारे छलफल गर्न भेला भएका थिए । सो भेलामा सभापति देउवाले निर्धारित मितिमा महाधिवेशन गर्न नसकिने स्पष्ट सन्देश दिइसकेका छन् ।
२०७८ मंसिरमा सभापति निर्वाचित सभापति देउवाको कार्यकाल आगामी २०८२ मंसिरमा सकिनेछ । कांग्रेस विधानअनुसार हरेक ४ वर्षमा महाधिवेशन गर्नुपर्ने हुँदा २०८२ मंसिरसम्ममा महाधिवेशन भइसक्नुपर्ने हो । तर, कांग्रेसको विधानअनुसार १ वर्ष समय सीमा थप गर्न सकिन्छ । त्यसो हुँदा २०८३ मंसिरसम्ममा महाधिवेशन सक्नुपर्ने हुन्छ । यस्तै, संविधानको व्यवस्थाअनुसार ६ महिना समय थप गर्न पनि सकिन्छ । त्यसो हुँदा कांग्रेस महाधिवेशनको अन्तिम समय सीमा भनेको २०८४ को जेठ महिनासम्म हो । कांग्रेस नेता तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले समेत सोही व्यवस्थालाई बल पुग्ने गरी शनिबार एक सार्वजनिक कार्यक्रममा पार्टी विधान र संविधानअनुसार महाधिवेशन हुने बताएका छन् ।
संस्थापन पक्ष २०८४ सम्मै वर्तमान कार्यसमितिको कार्यकाल लम्ब्याउन चाहिराखेको छ । कांग्रेस–एमालेले गत असार १७ गते गरेको सहमतिअनुसार प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली गत असार ३० गते नियुक्त भए । उनको २ बर्से कार्यकालपछि देउवा प्रधानमन्त्री हुने सहमतिमा उल्लेख छ । यसो हुँदा २०८३ साल असार ३० पछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् । प्रधानमन्त्री हुनुअघि महाधिवेशन गर्ने पक्षमा उनी छैनन् ।
कांग्रेसको विधानका कारण सभापति देउवा आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न पाउनेछैनन् । किनकि विधानले नै एकै व्यक्ति २ पटकभन्दा बढी सभापति हुन रोकेको छ । उनी १५औँ महाधिवेशनपछि नेतृत्वबाट बाहिरिँदै छन् । २०८२ मा पार्टी नेतृत्व अर्काको हातमा जाँदा संसदीय दलको नेता पनि हातबाट फुस्किने र विधानतः संसदीय दलको नेता नै प्रधानमन्त्री हुन पाउने भएकाले आफू २०८३ सालमा प्रधानमन्त्री बन्न नसक्ने भएपछि देउवाले महाधिवेशन सार्न जोडबल गरिरहेका हुन् । यसर्थ निर्धारित मितिमा महाधिवेशन नहुने पक्कापक्की बनिसकेको छ ।
अर्कातर्फ, स्थानीय निर्वाचन तथा संघ र प्रदेशको निर्वाचनपछि पार्टीको महाधिवेशन गर्नुपर्नेमा पनि संस्थापन पक्ष लबिइङमा लागिरहेको छ । उक्त निर्वाचनअघि सारेर अथवा कुनै उपाय निकालेर महाधिवेशन पछि धकेलेर भए पनि देउवा एमालेसँगको सहमतिअनुसार प्रधानमन्त्री बनेर आफ्नै नेतृत्वमा आगामी निर्वाचन गराएर बिदा लिने प्रयासमा छन् । यसो हुँदा नेपाली कांग्रेसको राजनीति नै १५औँ महाधिवेशनको वरिपरि केन्द्रित हुन पुगेको छ ।
सक्रियता बढाउँदै शेखर, संस्थापनलाई दबाबमा राख्ने प्रयास
नेपाली कांग्रेसको १५औँ महाधिवेशन पार्टीको विधानअनुरुप गर्ने कि नगर्ने भन्ने बहस भइरहेका बेला नेता शेखर कोइराला समूहले तोकिएकै समयमा महाधिवेशन गर्न दबाब सिर्जना गर्ने भएको छ । शेखर समूहले विधानतः २०८२ साल मंसिरभित्रै महाधिवेशन सम्पन्न गराउनुपर्नेमा जोड दिँदै आएको छ । विधानले तोकेको समयमा महाधिवेशन नहुने पक्कापक्की देखिएसँगै शेखर समूह संस्थापन पक्षलाई कसरी दबाबमा राख्ने भन्ने रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ ।
शनिबार नेता शेखर कोइरालाले नेपाल प्रजातान्त्रिक सेनानी संघको अधिवेशनका लागि काठमाडौँमा आएका नेता–कार्यकर्तालाई आफ्नो सम्पर्क कार्यालय विशालनगरमा बोलाएर समयमै महाधिवेशन गर्न पार्टीलाई दबाब दिन आग्रह गरे । त्यहाँ उनी आफू मात्रै सहभागी थिएनन्, सहमहामन्त्री जीवन परियार, नेताहरू सुजाता कोइराला, मीनेन्द्र रिजाल, सञ्जय गौतम, सरिता प्रसाईँलगायत पनि सहभागी थिए ।
उसो त फागुन २ गतेको घटनाक्रमपछि शेखरको सक्रियता झनै बढेको छ । कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले २०८४ को आमनिर्वाचनपछि पार्टीको महाधिवेशन गर्ने कुरा आइराखेको भन्दै सो कुरा चिन्ताजनक भएको बताए । उनले आफूले सो कुरा नमान्ने स्पष्ट पारे । ‘२०८४ को चुनावपछि मात्रै महाधिवेशन गर्ने भन्ने कुरा आइराखेको छ । त्यो चिन्ताजनक विषय हो । म त्यो कुरालाई मान्नै सक्दिनँ,’ उनले भने ।
महाधिवेशन ढिलो भएमा पार्टी कमजोर हुने उनको भनाइ थियो । उनले कांग्रेस पार्टी नेताहरूले नभई जिल्लाका कार्यकर्ताहरूले धानेको भन्दै तल्लो तहबाटै महाधिवेशन समयमै सम्पन्न गर्न दबाब दिन आग्रहसमेत गरे । १४औँ महाधिवेशनमा देउवासँग सभापतिमा हारेका कोइरालाले १५औँ महाधिवेशनमा पनि सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सौर्य दैनिकसँग नेपाली कांग्रेसजस्तो पुरानो र लोकतान्त्रिक पार्टीले विधान मिचेर महाधिवेशन सार्नु गलत हुने बताए । उनले त्यो गर्न खोजिए महाधिवेशन विधानसम्मत् हुनुपर्छ भन्नेमा जनदबाब निस्किने बताए ।
त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले शेखर समूहको मनसाय विधानसम्मत् ढंगले पार्टी चलोस् भन्ने रहेको बताए । ‘निर्धारित समयमै अधिवेशन होस् । पार्टीको अधिवेशन लम्ब्याउने बहानामा नजाओस् भन्नेमा छौँ,’ उनले भने, ‘कांग्रेसको अधिवेशन समयमा भएन भने कांग्रेससँगै देशले ठुलो मूल्य चुकाउँछ । त्यसमा दबाब सिर्जना गर्छौं ।’
बढ्दै शेखर–गगन संवादहीनता
१४औँ महाधिवेशनमा शेखर कोइरालाकै प्यानलबाट चुनाव लडेर महामन्त्रीमा निर्वाचित गगन थापाको कोइरालासँग दुरी बढ्दै गइरहेको छ । दुवैले औपचारिक रूपमा अलग भएको घोषणा नगरे पनि छुट्टाछुट्टै गतिविधिहरू सञ्चालन गरिरहेका छन् । थापा शेखर समूहको बैठकमा आउन छाडेका छन् । उनी महामन्त्रीका रूपमा पार्टी गतिविधिमा सक्रिय छन् । कोइराला भने वरीयताको कुरा झिकेर पार्टीका कतिपय बैठकमा पनि अनुपस्थित हुने गरेका छन् । महामन्त्री थापाले पनि १५औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने स्पष्ट पारिसकेका छन् ।
तर, सहमहामन्त्री परियारले महामन्त्री थापाले समूह नछाडेको सौर्य दैनिकलाई बताए । कोइराला र थापा एउटै विचार समूहमा रहेको उनको भनाइ छ । ‘मेरो सूचनामा आजसम्म उहाँ (गगन) ले समूह छाड्नुभएको छैन । शेखर र गगन एउटै समूहमा हुनुहुन्छ,’ उनले भने, ‘बाहिर जे–जति प्रचार र हल्लाहरू भएका छन्, त्यसमा सत्यता छैन ।’ त्यस्तै, नेता गौतमले आफूहरूको विचार समूहको नेतृत्व शेखर कोइरालाले नै गरिरहेको बताए । उनले शेखर विचार समूह आजको दिनसम्म अक्षुण्ण रहेको दाबी गरे ।
समूह नछाडेको गगनको जिकिर, शेखर नै तर्किएको आरोप
महामन्त्री गगन थापाले पनि निकटस्थहरूलाई आफू शेखर समूहमा नै रहेको जिकिर गर्ने गरेका छन् । थापा पक्षीय एक नेताका अनुसार उनले आफूले कोइरालालाई बारम्बार फोन सम्पर्क गरिरहेको उल्लेख गर्दै कोइराला नै आफूसँग तर्किरहेको आरोप लगाउने गरेका छन् । उनले कोइरालाले नै आफूसँग सरसल्लाह नगरेको भन्दै आफू भने समूह धानेर नै बसिरहेको बताउने गरेका छन् ।
थापाले देउवा समूहमा नजिकिएको भन्ने कुराको पनि खण्डन गर्ने गरेको ती नेताले जानकारी दिए । आफू जिम्मेवार ठाउँमा रहेको भन्दै जिम्मेवारी पूरा गर्नका लागि पार्टी सभापतिलाई कतिपय अवस्थामा ‘कन्भिन्स’ र कतिपय अवस्थामा ‘कम्प्रमाइज’ गर्दै अघि बढिरहेको थापाको भनाइ छ ।
संयन्त्रमा गगन हाबी भएपछि शेखरको निरन्तर विरोध
सरकार सञ्चालनमा सहयोगका लागि भन्दै कांग्रेस–एमालेले एक संयन्त्र बनाएका छन् । जसमा कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखक र परराष्ट्रमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा छन् । त्यस्तै एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् । संयन्त्रमा गगन थापा हाबी भएसँगै नेता शेखर कोइराला भने संयन्त्रको विरोधमा निरन्तर आगो ओकलिरहेका छन् । उनले कम्युनिस्ट शासन शैलीमा संयन्त्र बनाइएको भन्दै तीव्र आलोचना गरिरहेका छन् । शनिबार मात्रै पनि उनले सरकार बाहिरबाट संयन्त्र बनाएर शासन गर्न खोज्नुले अप्ठ्यारोमा पार्ने बताए ।
उनले पालिका–पालिकासम्म २ दलीय संयन्त्र बनाउने कुराको विपक्षमा उत्रिन कार्यकर्ताहरूलाई निर्देशन नै दिए । ‘सरकारभित्र संयन्त्र बन्नु ठिक छ, मन्त्रीहरूको संयन्त्र बन्छ,’ नेता कोइरालाले भने, ‘तर, सरकार बाहिरबाट मन्त्री चलाउन थालियो भने त्यसले अप्ठ्यारो पार्छ ।’ संयन्त्र बनाउने कुराको पछि नलाग्न भन्दै उनले कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘अहिले जुन हावा चलिराखेको छ, त्यो हावामा नलाग्नुस् । आफ्नो काममा लाग्नुस् । पालिकाको विकासका लागि के मद्दत चाहिन्छ, मलाई सम्झिनुस्,’ उनले भने ।
प्रतिक्रिया