काठमाडौँ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ घाटा बेहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यो अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको आयात र १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात भएको हो ।
विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १० दशमलव शून्य ९, निर्यात ४६ दशमलव ५० र कुल वैदेशिक व्यापार १३ दशमलव ३० प्रतिशतले बढेको छ । त्यस्तै, गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल वैदेशिक व्यापारघाटा ६ दशमलव २० प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८ दशमलव ६० र निर्यातको हिस्सा ११ दशमलव ४० प्रतिशत रहेको छ ।
व्यापार घाटा कुन देशसँग कति ?
सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा ४ खर्ब ९८ अर्ब ३४ करोड व्यापार घाटा बेहोरेको विभागको तथ्यांकबाट देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा भारतबाट ५ खर्ब ९६ अर्ब ३५ करोड रुपैयाँको वस्तु आयात हुँदा ९८ अर्ब ७५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । त्यस्तै, चीनसँगको व्यापार घाटा १ खर्ब ९० अर्ब ४४ करोड रुपैयाँ बराबर छ । पछिल्लो ७ महिनाको अवधिमा चीनबाट १ खर्ब ९२ अर्ब ४५ करोड रुपैयाँको वस्तु आयात हुँदा २ अर्बको मात्रै निर्यात भएको छ । अर्जेन्टिना, युक्रेन, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलियालगायत मुलुकसँगको व्यापारघाटा उच्च छ ।
३५ मुलुकसँगको वैदेशिक व्यापारमा नाफा
नेपालले ३५ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा गरिरहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सबैभन्दा धेरै व्यापार नाफा अफगानिस्तानसँग छ । अफगानिस्तानसँग ७ महिनामा १ करोड २४ लाखको आयात र ५९ करोड ४५ लाख रुपैयाँको निर्यात भएको छ । डेनमार्क, रसियन फेडेरेसन, अस्ट्रिया, नर्वे, माल्दिभ्सलगायत देशहरूसँग व्यापार नाफा बढी रहेको छ ।
बढी आयात गरिएका वस्तुहरू
विभागको तथ्यांकअनुसार माघ मसान्तसम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा २९ अर्ब ४५ करोड १६ लाख रुपैयाँको डिजेल, २४ अर्ब ५८ करोड ३२ लाख रुपैयाँको पेट्रोल र ६ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको एलपि ग्यास आयात भएको छ । त्यस्तै, ५ अर्ब ५० करोड ९० लाख रुपैयाँबराबरको विद्युतीय सवारीसाधन र ५ अर्ब ४३ करोड ४१ लाख रुपैयाँको अन्य सवारीसाधन आयात भएको छ । ७ महिनामा ३ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको पनि विभागले जनाएको छ ।
३२ अर्ब ४१ करोड भटमास तेल निर्यात
नेपालले बढी निर्यात गरेका वस्तुहरूमा भटमास तेल पहिलो स्थानमा छ । माघ मसान्तसम्ममा ३२ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै, अर्ब ५७ करोड ६७ लाखको सूर्यमुखी तेल, ५ अर्ब ३८ करोड ८० लाखको अलैँची, ३ अर्ब ८९ करोड ५२ लाखको कार्पेट, ३ अर्ब १० करोडको धागो र ३ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ ।
प्रतिक्रिया