काठमाडौं । राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ लाकार्पण गरिएको छ । पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक आज यहाँ आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तक सत्य लिखतमा आधारित रहेको बताएका छन् । आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनावटी कुरा नभएको उनको भनाइ थियो ।
‘हुन त आफ्नै श्रीमतीको प्रशंसा गर्यो भन्ने पर्ला, तर म ढुक्कका साथ भन्न सक्छु, यो पुस्तक २४ क्यारेटको छ, यसको सत्यताबारे कसैले चुनौती दिन सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने पनि थिएन, त्यो सबै राधिकाको कमाई र मेहनत हो, त्यो घर पनि ट्रष्टका नाममा दान गरिसकिएको छ, मेरो त सानो हुँदा आफूूले खनजोत गर्ने गरेको झापाको खेत पनि बाढी पहिरोले बगाइसकेको छ, राधिका नहुने हो भने म अहिलेसम्म यसरी बाँच्न सक्ने थिइनँ ।’
देश र जनताको अधिकारका लागि ज्यानको पर्वाह नगरी हिँडेको आफू जस्तो मान्छेका बारेमा आर्थिक विषयमा अनेक अफवाह फैलाइएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको प्राप्तिलाई आफूले सफलता मानेको बताए ।
‘जेलबाट चप्पल लगाएर निस्किएको एउटा कैदी प्रधानमन्त्री भयो भनेर होच्याउनेहरू पनि छन्, सायद तिनीहरू श्रीपेच लगाएका मान्छेले आफूलाई रैती बनाएको देख्न चाहन्छन्, जनताको छोरो प्रधानमन्त्री भएको देख्न चाहँदैनन्’, उनले भने, ‘मलाई धेरैले माया र साथ दिन्छन्, मैले लोभ गर्ने हो भने साथीहरूले घर सम्पत्ति जोड्न सहयोग गर्छन् तर मलाई कुनै लोभ छैन, मसँग जे छ, त्यो देश, पार्टी र राज्यको सम्पत्ति हो ।’
बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनेको हो : लेखक शाक्य
लेखक तथा प्रधानमन्त्री पत्नी शाक्यले देशका लागि निरन्तर सक्रिय प्रधानमन्त्री ओली जस्तो व्यक्तिबारे अनेक अफवाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने गरेको बताएकी छन् ।
आफूले नेपाल राष्ट्र बैंकमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट खर्च चलाएको उल्लेख गर्दै उनले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरुसँग दुःखेसो पोखिन् ।
‘हाम्रो जीवनशैली सामान्य नै हो, दुःखी, गरिब र असहायलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ, जीवनको एक–एक हिसाब बुझाउन म तयार छु, बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनाइएको हो’ शाक्यले भनिन्, ‘सम्पूर्ण नेपालीले सहज रूपमा लाउन र खान पाउनुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।’
‘करुणा पुस्तकले पाठकलाई आत्मविश्वास जगाउँछ’
पुस्तकमाथि टिप्पणी गर्दै वक्ताहरुले प्रधानमन्त्री र प्रथम महिलाको जीवनका आरोह–अवरोहमा आधारित पुस्तकले जस्तो सुकै दुःख र कष्टमा पनि आशाको दियो बाल्न सकिन्छ भन्ने सन्देश दिने बताए ।
नेकपा (एमाले) का उपमहासचिव एवं साहित्यकार प्रदीपकुमार ज्ञवालीले प्रतिकूलतामा पनि बाँच्नका लागि पुस्तकले प्रेरणा दिने धारणा राखे । गायिका आनी छोइङ डोल्माले राधिका शाक्यको लेखन र व्यवहार दुवै करुणामय पाइएको अनुभव व्यक्त गरिन् ।
लेखक अमर न्यौपानेले पुस्तकबाट प्रधानमन्त्री ओलीको आत्मविश्वास र ढृढ इच्छाशक्ति तथा त्यो प्राप्तिमा शाक्यको योगदानलाई बुझ्न सकिने बताए । कार्यक्रममा प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यको ३७औँ विवाह उत्सवका अवसरमा आयोजकबाट उनीहरूलाई बधाई दिनुका साथै सम्मान गरिएको थियो ।
प्रतिक्रिया