एमालेबारे मौन, सरकारको कडा आलोचना

केन्द्रीय कमिटी बैठकमा माधव नेपालको प्रतिवेदन

नेकपा (एकीकृत समाजवादी)को शुक्रबार ललितपुरको जावलाखेलमा बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत । तस्बिरः रासस

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्तारुढ गठबन्धनको कडा आलोचना गरेका छन् । शुक्रबार ललितपुरमा शुरु भएको पार्टी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेकपा एमाले प्रति मौन रहेका अध्यक्ष नेपाल सरकारप्रति कडा रुपमा प्रस्तुत भएका हुन् ।

पार्टीको औपचारिक बैठक तथा कार्यक्रमहरुमा मात्रै होइन सार्वजनिक समारोहरुमा नेकपा(एमाले) र त्यसका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेर नथाक्ने नेपालले यसपटक ओलीप्रति भने मौनता साँधेका छन् । प्रतिवेदनमा अध्यक्ष ओली र एमालेप्रति कुनै आरोप–प्रत्यारोप गरिएको छैन । पार्टीको दशौँ महाधिवेशन, महाधिवेशनपछिका निर्णय र कार्यान्वयनको अवस्था तथा आगामी कार्यभार र कार्ययोजनासहितको १६ पेजको प्रतिवेदन प्रस्तुत गरेका अध्यक्ष नेपालले गठबन्धन सरकार देश र जनताको हितमा नभएको उल्लेख गरेका छन् ।

दुई दलीय तानाशाही लाद्ने प्रयत्न भएको आरोप

अध्यक्ष नेपालले प्रतिवेदनमा राष्ट्रिय राजनीतिक परिस्थितिको चर्चा गर्दै वर्तमान सत्ता गठबन्धनबाट मुलुकमा दुई दलीय तानाशाही लाद्ने प्रयत्न भइरहेको बताएका छन् । गठबन्धन सरकार देश र जनताको हितमा नभएको उल्लेख गर्दै सरकार निरंकुश र स्वेच्छाचारी ढंगले चलेको उनको आरोप छ । सरकारले भ्रष्टाचार नियन्त्रण नगरी भ्रष्टचारीलाई संरक्षण गरेको आरोप पनि नेपाल छ । ‘वर्तमान सत्ता गठबन्धनबाट मुलुकमा दुई दलीय तानाशाही लाद्ने प्रयत्न भइरहेको छ । गठबन्धन सरकार देश र जनताको हितमा छैन ।’ अध्यक्ष नेपालले भनेका छन्, ‘यसले भ्रष्टाचार नियन्त्रण गर्ने होइन भ्रष्टचारीहरुलाई संरक्षण गर्ने काम गरेको छ ।’

अध्यक्ष नेपालले सरकार सबै क्षेत्रमा असफल भएको उल्लेख गरेका छन् । सरकार गठन भएको ७ महिना पुग्दासम्म पनि जनअपेक्षा अनुरुप कुनै काम गर्न नसकेको बताएका छन् । त्यस्तै, सेवा प्रवाह, सुशासन र विकास सबै क्षेत्रमा सरकार असफल भएको अध्यक्ष नेपालको ठहर छ ।

नीति निर्माणमा विचौलिया हाबी भएको आरोप

अध्यक्ष नेपालले मुलुकको अर्थतन्त्र ओरालो यात्रामा रहेको र क्रमशः धराशायी बन्दै गएको भनेका छन् । दलाल नोकरशाही पुँजीपति र विचौलियाहरु सत्तामा हाबी हुँदै गएको आरोप नेपालको छ । बिचौलियाहरुले सरकारका नीति निर्माणमा समेत प्रभाव पार्न थालेको प्रतिवदेनमा उल्लेख छ । सरकारले संसद छलेर ल्याएका अध्यादेशहरुमा पनि बिचौलियाकै प्रभाव देखिएको आरोप लगाउँदै पुँजी बजारमा पनि बिचौलियाहरुकै हस्तक्षेप रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सहकारी प्रकरणमा प्रतिशोधात्मक कारवाही

अध्यक्ष नेपालले रास्वपा अध्यक्ष रवि लामिछानेको नाम त उल्लेख गरेका छैनन् तर सहकारी प्रकरणमा सरकारले प्रतिशोधात्मक कारवाही गरेको उल्लेख गरेका छन् । ‘सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगी जस्ता कार्यमा केवल प्रतिशोधात्मक कारबाही मात्र भएको छ ।’ प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी भ्रष्टाचारीहरु सरकारबाट संरक्षित रहेको आरोप लगाउँदै अर्थतन्त्रमा विगत ६ महिनामा कुनै उल्लेख्य उपलब्धी नभएको उल्लेख गरेका छन् ।

अध्यादेशको विरोध

अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सरकारले ल्याएको अध्यादेशको विरोध गरिएको छ । जग्गा दलाललाई हदभन्दा बढी जग्गा बेच्न दिने तथा अव्यवस्थित बसोबासीको नाममा सरकारी वा सार्वजनिक जग्गा कब्जा गरी बसेकालाई सित्तैमा जग्गा दिनेजस्ता प्रावधान अध्यादेशमार्फत् ल्याउनुले सरकार भु–माफिया र दलाल व्यापारीको पक्षमा रहेको स्पष्ट भएको उल्लेख गरिएको छ । त्यसैगरी मुल्य नियन्त्रण गर्न नभई व्यापारीलाई आफुखुशी मुल्य निर्धारण गरी मनपरी नाफा लिन र कालोबजारी गर्न पनि छुट दिने प्रावधान ल्याइएको भन्दै त्यसको विरोध गरिएको छ ।

अध्यक्ष नेपालले सरकारका गतिविधिले आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भएको उल्लेख गरेका छन् । उनले आफुहरुको पहलकदमीमा संसदमा रहेका प्रतिपक्षी दलहरुलाई सरकारका गलत क्रियाकलापका विरुद्ध उभ्याएको दाबी पनि गरेका छन् ।

नेपाली कांग्रेसलाई प्रधान शत्रु किटान गर्न झलनाथको आग्रह

अध्यक्ष नेपाल नेकपा(एमाले) र प्रधानमन्त्री ओलीप्रति नरम भएको भन्दै पार्टी बैठकमा अध्यक्ष नेपालको आलोचना भएको छ । बैठकमा बोल्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीको प्रधान शत्रु बारे राजनीतिक प्रतिवेदनले स्पष्ट नपारेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले प्रधान शत्रु कांग्रेसलाई बनाएर जानुपर्ने भन्दै सो कुरामा पार्टी स्पष्ट हुनुपर्ने धारणा राखेका थिए । बैठकमा अध्यक्ष नेपालले १३ बुँदे आचारसंहिता पनि प्रस्ताव गरेका छन् ।

शुक्रबार शुरु भएको बैठक शनिबार समापन हुनेछ । पहिलो दिनको बैठकमा सम्मानित नेता झलनाथ खनाल लगायत १२ जना केन्दीय सदस्यले बोले भने आज शनिबारका लागि ५० जना भन्दा बढी केन्द्रीय सदस्यले नाम टिपाएका छन् ।

प्रतिक्रिया