विदेशमा पढ्न जाने विद्यार्थीहरूको सुरक्षा चिन्ता

भारतको ओडिसा भुवनेश्वरस्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत रूपन्देहीकी २० वर्षीया प्रकृति लम्साल गत आइतबार मृत अवस्थामा फेला परिन् । उनको मृत्यु रहस्यमय भएको भन्दै नेपाली विद्यार्थीहरूले छानविनका लागि विश्वविद्यालय प्रशासनलाई अनुरोध गरे । अनुरोध वास्ता नगरिएपछि दबाब दिए । तर दबाब दिने विद्यार्थीहरूलाई सुरक्षा गार्ड लगाएर कुटपिट गरियो । घटनाले आन्दोलनको रूप लियो ।

सोही कलेजमा पढ्ने एक विद्यार्थीको दुव्र्यवहारका कारण उनको मृत्यु भएको विद्यार्थीहरूको भनाइ छ । त्यसबारे प्रकृतिले कलेजलाई जानकारी गराउँदासमेत कारबाही नभएको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका हुन् । सामान्य मागलाई सम्बोधन गर्नुको सट्टा दमन गर्ने, विद्यार्थीलाई नै निकाल्ने हर्कत भयो । उक्त विश्वविद्यालयमा अध्ययनरत करिब १ हजार नेपाली विद्यार्थीहरूलाई छात्रबासबाट निकालिएको समाचार स्थानीय मिडियामा आयो ।

सोमबार प्रतिनिधिसभाको बैठकमा रास्वपाकी सांसद सुमना श्रेष्ठले यस विषयमा कुरा राख्ने अनुमति मागिन्, तर पाइनन् । यतिन्जेलसम्ममा आन्दोलनलाई भारतीय विद्यार्थीहरूले पनि साथ दिइसकेका थिए । एकातिर आन्दोलन थप चर्किने संकेत देखियोे, अर्कोतिर नेपालले पनि दिल्लीस्थित आफ्नो राजदूतावासमार्फत कूटनीतिक पहल सुरु गर्यो ।

यो पहलको परिणाम सकरात्मक देखिएको छ । शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिई छानबिन सुरु गरिएको छ । नेपाली विद्यार्थीहरू भारतमा कति असुरक्षित रहेछन् ? भन्ने कुरा यो घटनाले थप उजागर गरेको छ । तर तत्काल कूटनीतिक पहल भयो भने समस्या समाधान जटिल रहेनछ भन्ने कुरा पनि पुष्टि भएको छ ।

भारतमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरू असुरक्षित भएको घटना यो पहिलो होइन । बैंग्लोरको अक्सफोर्ड कलेजमा पढ्दै आएका रौतहटका २४ वर्षीय विद्यार्थी झा १० वर्ष अघि छात्रबासमा मृतअवस्थामा फेला परेका थिए । भारतको राजधानी नयाँ दिल्लीमा चार्टर एकाउन्टेन्ट पढ्दै गरेका २ नेपाली विद्यार्थी विप्रा पोखरेल र सन्तोष ऐर २०७३ चैत २५ गते हिमाञ्चल ट्रेकिङका क्रममा मृत अवस्थामा फेला परेका थिए । यी त मिडियामा व्यापक बनेका प्रतिनिधि उदाहरण मात्रै हुन् ।

अन्यदेशको तुलनामा भारतमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरू असुरक्षित भएको समाचार नयाँ होइनन् । भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका विषयमा धेरै पहिलेदेखि सरोकारवालाहरूले सरकारको ध्यान आकृष्ट गराउँदै आएका छन् । खुला सिमाना, जनस्तरको व्यापक सम्बन्ध र सरकारको अनुमति आवश्यक नपर्ने भएकोले भारतमा पढ्न जाने विद्यार्थीहरूको संख्या ठूलो छ, तर यसको ‘रेकर्ड’ सरकारसँग छैन । आफ्नो देशका विद्यार्थीको विषयमा दिल्लीस्थित नेपाली दूतावासले सरोकार राख्ने गरेको देखिँदैन ।

नेपालले पनि अहिलेसम्म यसको आवश्यकता देखेको छैन । त्यसो त नेपाली भएकै कारण भारतमा विद्यार्थीहरू असुरक्षित भएका होइनन्, अन्य विकसित देशको तुलनामा भारतको सुरक्षा व्यवस्था फितलो छ । त्यसैगरी अन्य विकसित देशमा अध्ययनरत नेपाली विद्यार्थीहरू पूर्ण सुरक्षित छन् भन्ने पनि होइन । उदाहरणका लागि अष्ट्रेलिया अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरूको दुर्घटना तथा मृत्युदर तुलनात्मक रूपमा बढी छ ।

विदेशमा अध्ययनरत विद्यार्थीहरूको सुरक्षाका विषयमा विशेष नीति तथा संयन्त्र बनाउनुपर्ने माग धेरै पहिलेदेखि उठ्दै आएको छ । विगत एक दशकको तथ्यांक हेर्ने हो भने विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या करिब साढे ६ लाख देखिन्छ । विगत ३ वर्षको तथ्यांक अझै डरलाग्दो छ । वार्षिक १ लाखका दरले विद्यार्थीहरू बिदेशिएका छन् । यो तथ्यांक भारत बाहेकको हो । यतिबेला चर्चामा आएको किट विश्वविद्यालयमा मात्रै १ हजार २०० नेपाली विद्यार्थी अध्ययनरत रहेको तथ्य बाहिर आएको छ ।

उक्त कलेजकोे ब्याचलर तहको शुल्क भारु १७ लाख रुपैयाँ रहेको समाचार मिडियामा आएको छ । यस हिसाबले पनि भारतमा लाखौँ विद्यार्थी अध्ययनरत रहेको र वार्षिक अर्बौं रुपैैयाँ खर्च हुने गरेको सहज अनुमान लगाउन सकिन्छ । फरक यत्ति हो कि अन्य विकसित देशमा अध्ययन गर्न जाने विद्यार्थीहरूले पढाइसँगै रोजगारी पाउने भएकोले रेमिट्यान्सका रूपमा रकम पठाउँछन्, तर भारत अध्ययन गर्न जाने विद्यार्थीलाई पढाइसँगै रोजगारीको सुविधा छैन । नेपालका शैक्षिक संस्थामा गुणस्तरीय शिक्षणको वातावरण नभएकै कारण विद्यार्थीहरू अध्ययनका लागि भारत जाने गरेको यथार्थताप्रति सचेत हुन ढिलाइ भइसकेको छ ।

आफ्नो मुलुक छाडेर बाहिर पढ्न गएपछि भाषा र संस्कृतिमा परेको फरकले, नियम कानुन नबुझेर, शैक्षिक संस्थाका कारण र आर्थिक अवस्थाले पनि समस्या आउने यथार्थताप्रति अभिभावक तथा विद्यार्थीहरू सचेत हुनुपर्छ । दूतावास र कन्सुलेटहरूले नियमित रूपमा विद्यार्थीहरूसँग संवाद गरी तिनीहरूको समस्याहरू सुन्न र समाधान गर्नुपर्छ । सम्बन्धित देशका सुरक्षा निकाय तथा शैक्षिक संस्थासँग समन्वय गरेर नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गरिनुपर्छ ।

प्रतिक्रिया