सर्लाही । जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध जनवर्गीय संगठन ‘समाजवादी किसान महासंघ’ का केन्द्रिय अध्यक्ष भाग्य नारायण रायले कृषि नीति सुधारका मुद्दामा सशक्त रूपमा आवाज उठाउने बताएका छन् ।
बुधबार जनवर्गीय संगठन संयुक्त आयोजक समितिद्वारा आयोजित पार्टी सम्बद्ध जनवर्गीय संगठनहरुको रुपान्तरण तथा पुनर्गठन घोषणा सभाको निर्णय अनुसार राय महासंघको केन्द्रिय अध्यक्षमा नियुक्त भएपछि सो कुरा बताएका हुन् । उनी लामो समयदेखि समाजवादी आन्दोलन तथा कृषक हकहितका विषयमा क्रियाशील रहँदै आएका छन् ।
सर्लाहीको कौडेना गाउँपालिका स्थानीय नेता राय सर्लाहीमा एउटा कुशल किसानको रुपमासमेत स्थापित व्यक्ति हुन् । उनी २०६४ सालको पहिलो संविधान सभाको चुनाव नेकपा एमाले पार्टीबाट सर्लाहीको ५ नम्बर क्षेत्रबाट प्रत्यक्ष लडेका थिए ।
नवनियुक्त केन्द्रिय अध्यक्ष रायले, नयाँ नेतृत्व चयनसँगै महासंघले आगामी दिनमा किसानका चुनौती, समस्या र तिनका समाधानका लागि विभिन्न कार्यक्रमको योजना अघि बढाउने बताए । जनवर्गीय संगठन जनताहरुको बिचको संगठन भएकोले संगठनको उदेश्य प्राप्तिको लागि कुनै कसर बाकी नराख्नेसमेत उनले बताए ।
कृषिलाई अझ आधुनिकीकरण र आत्मनिर्भर बनाउनुपर्ने औँल्याउँदै उनले व्यवसायीक रुपले कृषिलाई रुपान्तरण गर्ने प्रक्रिया व्यापक बढ्दै गएकोले कृषि क्षेत्रलाई सबल बनाए देशमा बेरोजगारी हट्ने उनले बताए । समाजवादी किसान महासंघको नमुना कार्ययोजना र त्यसको ठोस कार्यान्वयनको माध्यमबाट देशभरीका किसानहरुको माझमा प्रभावकारी रुपले फरक पहिचान स्थापित गर्न आवश्यकता रहेको समेत उनले बताए ।
अध्यक्ष रायको नेतृत्वमा २१ सदस्य कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा क्रमशः राजेश्वरी शर्मा, कृष्ण भक्त डंगोल, बेचु राई, तबरेज अहमद रहेका छन् । भने महासचिवमा ओम कृष्ण श्रेष्ठ र उप महासचिवमा पुर्ण राई लगायतका पदाधिकारीहरु रहेका छन् ।
घोषणा सभाले समाजवादी किसान महासंघ, नेपाल बौद्धिक पेशाकर्मीं महासंघ, समाजवादी आदिवासी जनजाति महासंघ, संघीय समाजवादी खेलकुद महासंघ र संघीय कानून व्यवसायी महासंघ गरी पाँच वटा पार्टी सम्बद्ध जनवर्गीय संगठनहरुको रुपान्तरण तथा पुनर्गठन गरेको छ ।
नवनियुक्त अध्यक्ष रायको अध्यक्षतामा भएको पार्टी सम्बद्ध जनवर्गीय संगठनहरुको रुपान्तरण तथा पुनर्गठन घोषणा सभा कार्यक्रममा जिल्ला, प्रदेश र केन्द्रिय तहका नेता तथा कार्यकर्ताहरुको भब्य उपस्तिथि रहेको थियो ।
प्रतिक्रिया