प्रजातन्त्र दिवस मनाउन थालिएको ७४ वर्ष बितिसकेको छ । २००७ फागुन ७ गते जहानियाँ राणाशासन फालेर प्रजातन्त्र घोषणा गरिएको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । इतिहासको स्मरण गर्न मात्रै होइन, नयाँ पुस्तालाई प्रेरणा दिन यस्ता दिवसहरू मनाउने गरिन्छ । अग्रजहरूको बलिदानीपूर्ण संघर्षद्वारा राणाशासन फालेर प्रजातन्त्र स्थापना गरिएको हो । तर ७ दशकसम्म प्रजातन्त्र संस्थागत हुन नसक्दा त्यो बलिदानपूर्ण संघर्षले सार्थक परिणाम दिन नसकेको तितो अनुभूति गर्न सकिन्छ ।
शासन सत्ताको केन्द्रमा रहनेहरूले आफ्नो स्वार्थअनुसार प्रजातन्त्रको व्याख्या गरिदिँदा अन्योल सिर्जना भएको छ । जननिर्वाचित संविधानसभाद्वारा तय गरिएको विधिअनुसार देशको शासन व्यवस्था सञ्चालन गर्ने घोषणा त्यतिबेला राजा त्रिभुवनले गरेका थिए । तर आफूले गरेको घोषणामा राजा त्रिभुुवन इमानदार रहन सकेनन् । राजाले आफूखुसी सरकार गठन र विघटनको सिलसिला सुरु गरे । यद्यपि प्रजातन्त्रको नाम दिन भने छुटाएनन् । प्रजातन्त्रका लागि २०१४ सालमा फेरि अर्को संघर्ष भयो ।
संविधानसभाको सट्टा संसद्को निर्वाचन गर्ने सहमतिका साथ संघर्ष टुंगियो । २०१५ सालमा संसदीय आमनिर्वाचन सम्पन्न भयो । तर १८ महिना पुग्दा नपुग्दै राजाले जननिर्वाचित सरकार र संसद् विघटन गरी शासन सत्ता आफ्नो हातमा लिए । तैपनि राजा महेन्द्रले पनि ‘प्रजातन्त्र’ शब्द प्रयोग गर्न छाडेनन् । पञ्चायतकालका ३० वर्ष पनि सत्ताद्वारा प्रजातन्त्र दिवस धुमधामका साथ मनाउने गरिन्थ्यो राजा त्रिभुवनको नामसँग जोडेर ।
प्रजातन्त्र केवल शब्द मात्र होइन, शासन पद्धतिको नाम हो – जनताले जनताको लागि चलाउने शासन व्यवस्था । तर नेपालमा राजाले प्रत्यक्ष रूपमा शासन चलाउँदा पनि प्रजातन्त्र भन्न छाडिएन । पञ्चायतका ३० वर्षसम्म यही रटान लगाइयो । स्कुल तथा कलेजका विद्यार्थीहरूलाई पनि यसरी नै पढाइयो । फलस्वरूप प्रजातन्त्रको परिभाषा मात्रै दुषित भएन, प्रजातान्त्रिक संस्कारसमेत संकटमा पर्दै गयो । र, त्यसको सजाय देशले भोगिरहेको छ । यतिबेला २००७ सालको जनक्रान्तिको लक्ष्यभन्दा एक कदम अघि बढेर लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । आवधिक निर्वाचनका माध्यमबाट संसद् र सरकार गठन हुने गरेका छन् । तर जनताले लोकतन्त्रको अनुभूति गर्न सकिरहेका छैनन् । शासनसत्तामा जनप्रतिनिधि पुगेको अवस्थालाई हेर्दा देशमा प्रजातन्त्र छैन भन्न मिल्दैन । तर नेताहरूको गलत शासनशैलीका कारण जनताले प्रजातन्त्रको अनुभूति गर्न पाएका छैनन् ।
प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र, नाम जे दिइए पनि मर्म एउटै हो । यी विशेषणहरू जननिर्वाचित प्रतिनिधिद्वारा गरिने जनउत्तरदायी शासन व्यवस्थाका हुन् । तर शासनसत्तामा पुग्नेहरूको संस्कार परिवर्तन हुन नसकेको अनुभूति जनताले गरेका छन् । शासन पद्धति आफैँमा साध्य होइन, साधन मात्रै हो । मूल मर्म जनताको सुख समृद्धि हो । जनतालाई खुसी तथा सन्तुष्ट राख्नु हो । यो मामिलामा हाम्रो देशका सत्ताधारीहरू असफल भएका छन् ।
शासनसत्तामा पुग्न जनताको विश्वास लिने तर पुगिसकेपछि आफ्ना नातागोता तथा भाइभारदारलाई लाभको पदमा पुर्याउने राणाकालीन सिलसिलाका कारण प्रजातन्त्र अहिले पनि खतरामुक्त छैन । फरक यत्ति हो कि, हिजोका दिनमा राजाबाट प्रजातन्त्र खतरामा परेको थियो, आज शासन सत्तामा पुगेका दलका नेताहरूको गलत कार्यशैलीका कारण प्रजातन्त्र खतरामा पर्ने अनुमान गरिएको छ । पहिलो कुरा त प्रजातन्त्र दिवस मनाउने शैलीमा पनि परिवर्तन गर्नु जरुरी छ । दोस्रो कुरा राजनीतिक पार्टीभित्र आन्तरिक प्रजातन्त्र संस्थागत गराउन ढिलो भइसकेको छ । जबसम्म राजनीतिक दलभित्र प्रजातन्त्र हुँदैन तबसम्म दलका नेता तथा कार्यकर्ताहरूले प्रजातान्त्रिक संस्कार सिक्न सक्दैनन् । प्रजातान्त्रिक संस्कार नभएका व्यक्ति शासनसत्तामा पुग्ने सम्भावनालाई जबसम्म निमिट्यान्न पार्न सकिन्न, तबसम्म प्रजातन्त्र खतरामुक्त हुँदैन ।
प्रतिक्रिया