पोखरा दुर्घटनाले उठाएका प्रश्नहरू

सम्पादकीय

शनिबार पोखरामा भएको हाइड्रोजन बेलुन दुर्घटनाले सिंगो मुलुकको ध्यान खिचेको छ । किनकी यो दुर्घटनामा घाइते भएकामध्ये उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखराका मेयर धनराज आचार्य ‘भिआइपी’ हुन् । दोस्रो कुरा, नेपालमा बेलुुन बिस्फोटबाट भएको दुर्घटनाबाट सार्वजनिक रूपमा यस्तो क्षति भएको पहिलोपटक हो । यस्तो खालको दुर्घटना हुन्छ भन्ने हेक्का अहिलेसम्म नेपालको सुरक्षा संयन्त्रले नराखेको पुष्टि भयो । तेस्रो कुरा, अन्तर्राष्ट्रिय विमानस्थलसमेत भएको र पर्यटकीय राजधानी घोषणा गरिएको पोखरामा जलनसम्बन्धी सामान्य उपचार गर्ने सुविधासमेत नरहेको यथार्थ उजागर भयो ।

सर्सर्ती हेर्दा यो दुर्घटनाका मुख्य दोषी मञ्च व्यवस्थापनको जिम्मेवारी लिने व्यवसायी तथा संलग्न मजदुर हुन् । बेलुनमा हाइड्रोजनजस्तो प्रज्ज्वलशील ग्याँस किन भरियो ? हाइड्रोजन भरिएका बेलुनलाई किन आगोका झिल्का नजिक लगियो ? भन्ने प्रश्न उठाउँदै मञ्च सजावटको जिम्मेवारी लिने संस्था तथा मजदुरमाथि प्रश्न सोझ्याइएको छ । सामान्य रूपमा हेर्दा यी प्रश्न स्वाभाविक हुन् । तर यो घटनालाई सामान्य रूपमा मञ्च सजावटवालाको कमजोरीका रूपमा लिइनु आफैँमा थप लापरबाही हुन सक्छ ।

किनकी मुख्य कमजोरी राज्यको सुरक्षा संयन्त्रको हो । त्यहाँ आवश्यक सावधानी अपनाउन नेपाल प्रहरी चुकेकै हो । प्रहरी संगठनभित्र विशिष्ट व्यक्तिको सुरक्षाका लागि डिआइजीको नेतृत्वमा सुरक्षा सेवा निर्देशनालय छ । भिआइपी सुरक्षा प्रोटोकल तथा नीतिसमेत बनाइएको छ । तर, यो निर्देशनालयमा भिआइपी सुरक्षासम्बन्धी तालिम गरेका दक्ष जनशक्तिको अभाव देखिन्छ ।

२०६३ सालमा घुन्सा हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जना संरक्षणविद्को ज्यान गएपछि भिआइपी सुरक्षाको विषयमा प्रश्न उठेको थियो । यसैगरी ६ वर्षअघि तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको पाथिभरा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पनि भिआइपी सुरक्षाको सवालमा थुप्रै बहस भएका थिए । भिआइपीहरू सवारी रुट तथा उनीहरू सहभागी हुने कार्यक्रमको सुरक्षाका सन्दर्भमा थप साधन–स्रोतको आवश्यकता औँल्याइएको थियो । दुर्घटनालगत्तै यस विषयले ठूलै चर्चा पाउने, तर समयक्रमसँगै सेलाउँदै जाने सिलसिला जारी रहेको देखियो । पोखराको बेलुन दुर्घटना यसैको नियति हो ।

भिआइपी सुरक्षाका नाममा सवारी आवागमन प्रभावित पार्नेबाहेक थप सजगता अपनाउने कुरामा हाम्रा सुरक्षा संयन्त्रहरू यदाकदा चुक्दै आएका छन् । बेलुनमा हाइड्रोजन ग्याँस भरिने गरिएको कुराको समयमै हेक्का राख्न सकेको भए आगो नजिक हुने कुरा रोक्न सकिन्थ्यो । हाइड्रोजन ग्याँस सबैभन्दा प्रज्ज्वनशील हुने र हाइड्रोजन बमभन्दा खतरनाक बम अहिलेसम्म बन्न नसकेको कुरा सामान्य ज्ञानका पुस्तकहरूमा पनि उल्लेख छ । कक्षा ८ को विज्ञान पुस्तकमा त यस विषयमा छुट्टै च्याप्टर नै राखेर पढाइने गरिएको छ ।

सरकारले छानबिन समिति गठन गरेका कारण पोखरा दुुर्घटनाबारे केही दिनमै यथार्थ विवरण बाहिर आउने नै छ । अहिलेसम्म आएको समाचारअनुसार यो दुर्घटना नियोजित होइन, आकस्मिक हो । तर भोलिका दिनमा आपराधिक मानसिकता बोकेका व्यक्ति तथा संगठनहरूले नियोजित रूपमा यस्तै प्रकारका दुर्घटना गराउने सक्ने अवस्था रहेको छर्लंग देखिन्छ । उपप्रधानमन्त्री पौडेल तथा मेयर आचार्य यो दुर्घटनाबाट भाग्यले बचेको देखिन्छ । बेलुनहरूको संख्या र आकार अलिकति मात्रै बढी भएको भए पनि ज्यानै जोखिममा पर्न सक्ने रहेछ । त्यसो त भिआइपी सुरक्षा प्रोटोकलमा दुर्घटना हुनुपूर्वको सावधानी मात्रै होइन, दुर्घटनापछिको उद्धार तथा उपचारका विधि तथा प्रक्रियाहरूसमेत पर्छन् ।

भिभिआइपीको सवारीमा चिकित्सकसहितको एम्बुलेन्स समावेश गरिनुको कारण पनि यही हो । तर यो मामिलामा हाम्रो देश धेरै पछाडि छ । सामान्य जलनको उपचारका लागिसमेत राजधानी काठमाडौँ ल्याउनुपर्ने बाध्यता भनेको राज्यको सानो कमजोरी होइन ।

१० महिनाअघि प्रधानमन्त्री नै गएर पर्यटकीय राजधानी घोषणा गरेको पोखराको त यस्तो हालत छ भने अन्य क्षेत्रका हालत कस्तो होला ? त्यसैले पोखरा दुर्घटनाबाट पाठ सिक्दै यस सन्दर्भमा उठेका प्रश्नहरूको सम्बोधन गर्न सरकारले ढिलाइ गर्नुहुन्न । यस्ता कार्यक्रम गर्दा मञ्च सजावटमा जति ध्यान दिइन्छ, सुरक्षामा पनि त्यति नै ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया