बुमराहले च्याम्पियन ट्रफी गुमाउने

काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रीत बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहको स्थानमा हर्षित राणालाई भारतीय टोलीमा समावेश गरिएको छ । यससँगै दायाँ हाते स्पिनर वरुण चक्रवर्तीलाई पनि च्याम्पियन्स ट्रफीको लागि भारतीय टोलीमा समेटिएको छ ।

सन् २०२२ पछि बुमराहले गुमाउने यो दोस्रो आइसिसीको प्रतियोगिता हो । यसअघि उनले ढाडको चोटका कारण सन् २०२२ को टी–२० विश्वकप खेल्न सकेका थिएनन् । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले बुमराहलाई ढाडको चोटका कारण च्याम्पियन्स ट्रफीबाट बाहिरिएको बताएको छ । पुरुष छनोट समितिले उनको स्थानमा हर्षितको नाम दिएको छ । च्याम्पियन्स ट्रफीका लागि प्रस्तावित भारतीय टोलीमा यशस्वी जयसवालको स्थानमा वरुणलाई समावेश गरिएको छ ।

जयसवाललाई ट्राभलिङ रिजर्भमा समावेश गरिएको छ । उनीसँगै मोहम्मद सिराज र शिवम दुबेको नाम पनि ट्राभलिङ रिजर्भमा छ । च्याम्पियन्स ट्रफीअघि अन्तिम टोली सूची जारी गर्न आइसिसीले तोकेको समयसीमा ११ फेब्रुअरी थियो । त्यसपछि टोलीमा कुनै पनि परिवर्तनका लागि आइसिसी प्राविधिक समितिको स्वीकृति आवश्यक पर्दछ ।

बुमराहको स्थानमा आएका हर्षितले हालै इग्ल्यान्डविरुद्धको एकदिवसीय शृंखलाबाट डेब्यू गरेका थिए । रोहित शर्माको नेतृत्वमा रहेको टोलीमा शुभमन गिल उपकप्तान छन् । यसैगरी, सो टोलीमा विराट कोहली, श्रेयस एयार, केएल राहुल (विकेटकिपर), ऋषभ पन्त (विकेटकिपर) र हार्दिक पाण्डे छन् । अक्षर पटेल, वासिंगटन सुन्दर, कुलदीप यादव, हर्षित राणा, मोहम्मद शमी, अर्शदीप सिंह, रवीन्द्र जडेजा र वरुण चक्रवर्ती सो टोलीमा छन् ।

यसअघि घोषित टोलीमा रहेका बुमराह भने चोटका बाबजदु समावेश गरिएका हुन् । उनी पछिल्लो समयसम्म ठिक भइसक्ने अनुमान गरिएको थियो । राणाले इंग्ल्यान्डसँगको खेलमा शानदार प्रदर्शन गरेपछि उनलाई स्थान दिन सहज भएको थियो । यसैगरी इंग्ल्यान्डसँगको टी–२० मा त्यत्तिकै उत्कृष्ट प्रदर्शन गरेका चक्रवर्तीलाई दोस्रो विशेषज्ञ बलरको रूपमा टोलीमा समावेश गरिएको हो । टेस्टमा सानदार प्रदर्शन गरिरहेका जयसवाल टोलीमा रहे पनि इंग्ल्यान्डसँगको एक दिवसीय खेलमा कमजोर प्रदर्शनपछि च्याम्पियन्स टोलीबाट हटाइएका हुन् । अर्का विशेषज्ञ स्पिनर कुलदीप यादव पनि सो टोलीमा छन् ।

यसैगरी, अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले व्यक्तिगत कारणले च्याम्पियन्स ट्रफीबाट नाम फिर्ता लिएका छन् । क्रिकेट अस्ट्रेलियाले १५ खेलाडीको नयाँ सूची जारी गरेको छ । १३ जनवरीमा घोषणा गरिएको टोलीमा ५ परिवर्तन गरिएको छ ।

नियमित कप्तान प्याट कमिन्सको अनुपस्थितिमा स्टिभ स्मिथलाई टोलीको जिम्मेवारी दिइएको छ । प्याट कमिन्स, जोश हेजलवुड र मिचेल मार्शको चोट र मार्कस स्टोइनिसको सन्न्यासका कारण अस्ट्रेलियाले पहिले नै टोलीमा केही परिवर्तन गर्नुपरेको थियो ।

स्टार्क बाहिरिएसँगै अस्ट्रेलियाले १९ फेब्रुअरीदेखि पाकिस्तान र युएईमा आयोजना हुने प्रतियोगिता फ्रन्टलाइन पेसरबिना नै खेल्ने भएको छ । अस्ट्रेलियाको समूहमा इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान पनि छन् । अस्ट्रेलियाले बुधबार र शुक्रबार कोलम्बोमा श्रीलंकाविरुद्ध २ एकदिवसीय खेल खेल्दै च्याम्पियन्स ट्रफीको तयारी गर्नेछ ।

अस्ट्रेलियाले २२ फेब्रुअरीमा इंग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि दक्षिण अफ्रिका २५ फेब्रुअरी र २८ अफगानिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया