म्याच फिक्सिङ गरेपछि बंगलादेशकी क्रिकेटर सोहेली अख्तरलाई पाँच वर्ष प्रतिबन्ध

दुबई । बंगलादेशकी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सोहेली अख्तरलाई भ्रष्टाचार (म्याच फिक्सिङ) को आरोपमा पाँच वर्षको प्रतिबन्ध लगाइएको छ । उनले आइसिसीको भ्रष्टाचार विरोधी संहिताको पाँचवटा उल्लंघन गरेको स्वीकार गरेपछि पाँच वर्षको लागि सबै प्रकारका क्रिकेटबाट प्रतिबन्धित गरिएको खेलको नियामक निकायले जनाएको छ ।

अख्तरले सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको महिला टी–२० विश्वकपमा एक बंगलादेशी खेलाडीलाई हिट विकेट आउट हुन १३ हजार पाउन्ड (१६ हजार डलर) को प्रस्ताव गरेकी थिइन् ।

नाम नखुलाइएकी खेलाडीले अख्तरको बारेमा रिपोर्ट गरेकी थिइन् । उनी त्यो प्रतियोगितामा संलग्न थिइनन् ।बंगलादेश क्रिकेट बोर्डका निर्देशक तथा महिला विभाग प्रमुख नजमुल आबेदिन फहिमले अख्तरको कार्य गैरकानुनी भएको बताइन् ।

‘हामी यस विषयमा शून्य सहनशीलताको नीति अपनाउँछौँ र बंगलादेश क्रिकेटका सबै तहमा फिक्सिङ रोक्न कडा प्रयास गरिरहेका छौँ’, फहिमले भनिन् । ३६ वर्षीया स्पिनर अख्तरले आफ्नो देशका लागि १३ टी–२० र दुई एकदिवसीय खेल खेलेकी छन् ।

उनले सन् २०२२ मा बंगलादेशका लागि अन्तिम पटक खेलेकी थिइन् । आरोपहरू मध्ये अख्तरले आफ्नो आचरणको अनुसन्धानमा ढिलाइ वा बाधा पुर्याएको पनि स्वीकार गरिन् ।

प्रतिक्रिया