नेपालको जनसंख्या पुग–नपुग ३ करोड छ । तर सञ्चालनमा रहेका बैंक खाताको संख्या ३ करोड ७५ लाखभन्दा माथि छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूका मात्रै देशभर कुल ४ हजार ७६६ वटा शाखाहरू सञ्चालनमा रहेका छन् । १–२ वटा अपवादबाहेक देशका सबै पालिकाहरूमा बैंकिङ सुविधा पुगेको छ । यो तथ्यांकले के देखाउँछ भने पछिल्लो ३ दशकको अवधिमा उल्लेख गर्न लायक प्रगति भएका क्षेत्रहरूमध्ये बैंकिङ सुविधाको क्षेत्र हो । गाउँगाउँमा बैंक सुविधा पुगेको मात्रै होइन, सूचना प्रविधिको विकासका कारण घरमै बसेर बैंकिङ कारोबार गर्ने अवसर प्राप्त भएको छ ।
बैंक खातामा भएको रकम आफ्नो हातको मोबाइल टेलिफोनमार्फत तरकारी किन्दासमेत भुक्तानी गर्न सकिने अवस्था बनेको छ । तीन दशकको अन्तरालमा प्रविधिको विश्वव्यापीकरणसँग जोडेर प्राप्त भएको यो सुविधा सानो उपलव्धि होइन । यद्यपि यो उत्साहजनक उपलब्धिसँगै विकृति र वित्तीय अपराध पनि डरलाग्दो ढंगले बढेको छ । एकजना व्यक्तिको बैंक खाताको रकम अर्कै व्यक्तिले प्रयोग गरिदिने समस्या बढ्दै गएको छ । यो समस्याले कतिसम्म विकराल रूप लिएको छ ? भन्ने कुरा नेपाल प्रहरीको तथ्यांकले पुष्टि गर्छ । विगत ५ वर्षको अवधिमा एटिएम तोडफोडका मात्रै ३८ वटा घटना भएका छन् । यो अवधिमा ३९ हजार ६८३ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् ।
प्रहरीमा उजुरी नगरी चुप लागेर बस्ने पीडितको संख्या पनि उल्लेख्य छ ।
५ वर्षको अवधिमा बैंकिङ कसुरका मात्रै करिब ४० हजार मुद्दा दर्ता हुनु भनेको अपराध नियन्त्रण राज्यको बुताभन्दा बहिर पुग्दै छ भन्ने संकेत हो । किनकि नेपाल प्रहरीको विद्यमान जनशक्ति तथा साधन स्रोतले यतिधेरै मुद्दाको अनुसन्धान गरी पीडितलाई न्याय दिन वर्षौं लाग्छ । त्यसमाथि पनि प्रहरीको साधन स्रोतलाई बैंकिङ कसुर नियन्त्रणका लागि मात्रै केन्द्रित गर्न सकिने अवस्था छैन ।
प्रहरीका जिम्मेवारी धेरै छन् । अर्को कुरा सबैभन्दा सुरक्षित हुने ठानेर नै मानिसहरूले बैंकमा रकम जम्मा गर्छन् । तर बैंकमा राखेको रकमसमेत असुरक्षित हुन थाल्यो भने जनतामा राज्यप्रतिको विश्वास गुम्छ । पछिल्लो समयमा देखापरेको बैंकिङ कसुरसम्बन्धी अपराध नियन्त्रण गर्न प्रहरीको प्रयासले मात्रै सम्भव देखिँदैन । अपराध हुनुभन्दा अघि नै अर्थात संभावित अपराधको अनुसन्धान गर्न अन्य क्षेत्रमा प्रहरी सक्षम छ, तर प्रविधिको तीव्र विकाससँगै मौलाएको बैंकिङ अपराधका सबै पाटामा पहुँच पुर्याउन प्रहरीलाई कठिन भएको देखिएको छ ।
बैंक नगइ आफ्नो मोबाइल या कम्युटरबाट सिधै पैसा भुक्तानी गर्ने विद्युतीय प्रविधि अहिले सबैभन्दा बढी प्रचलनमा छ । यो प्रविधिलाई कनेक्ट आइपिएस भनिन्छ । घरमै बसेर एउटा बैंकबाट अर्को बैंक तथा खातामा सजिलै पैसा पठाउन सकिने, सेयरको कारोबार पनि गर्न सकिने भएकोले यो प्रविधि निकै प्रचलनमा छ । तर अपराधीहरूले बैंकिङ प्रणालीमै विद्युतीय पहुँच पुर्याएर रकम चोर्ने घटना बढेका छन् ।
कनेक्ट आइपिएस लगायतका प्रविधिमार्फत मोबाइल बैंकिङको प्रयोग नेपालमा भन्दा विकसित देशहरूमा कैयौँ गुणा धेरै छ । तर विकसित देशहरूमा व्यक्तिको बैंक खाता सुरक्षित हुन्छ । अपराधीहरूको पहुँच हम्मेसी संभव हुँदैन । यसो हुनुको मूल कारण त्यहाँका वित्तीय संस्थाले प्रयोग गर्ने भरपर्दा सफ्टवेयर नै हो । हामीकहाँ कतिपय अवस्थामा बैंकहरूको लापरबाही तथा खातावालको असावधानीले पनि समस्या निम्तिने गरेको छ । यद्यपि अधिकांश वित्तीय अपराधमा बैंकहरूले प्रयोग गर्ने सफ्टवेयरमा अपराधकर्ताको पहुँच देखिएको छ । देशभित्रै र बाहिरका ह्याकरहरूबाट कसरी बच्ने ? भन्ने कुरा कतिपय खातावालहरूलाई थाहा पनि छैन ।
आमजनतामा भएको डिजिटल साक्षरताको कमीलाई हतियार बनाएर ह्याकरहरूले उनीहरूका निजी तथा वित्तीय सूचना हात पार्ने गरेका छन् । यस अर्थमा बैंकहरूले अबलम्बन गर्ने गरेको प्रविधिमाथि राष्ट्र बैंकले थप निगरानी गर्नु जरुरी छ । यसैगरी आफ्नो खाता र वित्तीय सूचनाको सुरक्षा कसरी गर्ने ? भन्ने सन्दर्भमा व्यापक जनचेतना जगाउन आवश्यक देखिएको छ ।
प्रतिक्रिया