पदीय जिम्मेवारी विपरीतको अभिव्यक्ति

जनतामा राज्यको उपस्थिति महसुस गराउने सबैभन्दा महत्वपूर्ण संयन्त्र हो, प्रहरी । हाम्रो देशमा प्रहरीको अवस्था कस्तो छ, नेपाल प्रहरीप्रति जनता विश्वस्त हुनसक्ने अवस्था छ कि, छैन ? भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी सुन्ने हो भने निकै नै कहालीलाग्दो अवस्था छ । शनिबार राजधानीमा नेपाल प्रहरीबाटै आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले सुन तस्करहरूले प्रहरीलाई हप्काउने गरेको बताए । उनको भनाइ थियो, ‘हिजोका दिनमा प्रहरी देखेपछि सुन तस्कर भाग्थ्यो, आज उल्टै हप्काउँछ ।’ प्रधानमन्त्री ओलीको यो भनाइ कम गम्भीर छैन ।

राज्यसंयन्त्रको बागडोर सम्हालेर बसेको व्यक्तिले भनेको कुरा नपत्याउने कसरी ? अंशतः सत्य पनि हो । तर, यदि यो अभिव्यक्ति पत्याउने हो भने जनताले देशमा सरकार छ, राज्य संयन्त्र छ भनेर कसरी विश्वास गर्ने ? अब जनताले आफ्नो सुरक्षाको प्रबन्धका लागि छुट्टै निजी दस्ता तयार गर्नुबाहेक अर्को विकल्प नरहेको हो त ? प्रधानमन्त्री ओलीको यो भनाइले प्रहरीको मनोबल थप गिराएको मात्रै छैन, जनतालाई आतंकितसमेत बनाएको छ । देशको कार्यकारी प्रमुखले आममानिस आतंकित हुने ढंगको अभिव्यक्ति दिनु पदीय मर्यादा तथा जिम्मेवारी विपरीत हो । यद्यपि प्रधानमन्त्री ओलीका यस्ता अभिव्यक्ति नयाँ भने होइनन् ।

वास्तवमा प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति सोह्रै आना झुठो भने होइन । नेपाल प्रहरीको वर्तमान अवस्थाबारे सडकमा गएर ४ जनालाई सोध्ने हो भने ३ जनाले दिने अभिव्यक्ति लगभग यस्तै हुन्छ । फरक यत्ति हो कि, सडकको मान्छेले गर्ने टिप्पणी र प्रधानमन्त्रीले गर्ने टिप्पणी समानस्तरको हुनु हुँदैन । किनकी सर्वसाधारण जनताले प्रहरीको सफलताभन्दा असफलताका समाचार बढी सुनेका हुन्छन् ।

प्रहरीको सदुपयोगभन्दा दुरुपयोग बढी भएको समाचार सुनेका हुन्छन् । तर, प्रधानमन्त्रीले राज्यका आफू मातहतका निकायको सफलता र असफलता दुवै पाटोको जानकारी राख्नुपर्छ ।

प्रधानमन्त्रीको मुखबाट प्रहरीभन्दा तस्कर बलिया भएको टिप्पणी आउनु भनेको आफैँ निकम्मा छु भन्ने स्वीकारोक्ति हो । त्यसमा पनि प्रधानमन्त्री ओली आजभन्दा ३० वर्षअघि नै गृह मन्त्रालय सम्हालिसकेका नेता हुन् । विगत १ दशक यताको अवधि हेर्ने हो भने करिब आधाभन्दा बढी समय ओली नै प्रधानमन्त्री बनेका छन् । त्यसैले प्रधानमन्त्री ओलीको यो भनाइ आफ्नो औचित्य समाप्त भएको स्वीकारोक्ति पनि हो ।

३० वर्षअघि ओलीले गृह मन्त्रालय सम्हाल्दै गर्दा नेपाल प्रहरीको मनोबल कस्तो थियो, प्रहरीप्रतिको जनविश्वास कस्तो थियो ? भन्ने कुरा अरूले बताइरहनै पर्दैन । ओलीले स्वयं भनेका छन्, ‘पहिले पहिले मेरो आँखामा सोझो हेरेर भन त तिमीले अपराध गरेको हो कि होइन भनेर प्रहरीले सोध्यो भने अपराधीले सोझो आँखाले हेर्न सक्दैनथ्यो ।’

ओलीले सही कुरा बोलेका हुन् । किनकी त्यतिबेला हातमा छडी बोकेर १ जना प्रहरी अपराधी खोज्न गाउँ छिर्यो भने स्वयं अपराधी नै आत्मसमर्पण गर्न उपस्थित हुन्थ्यो । ऊ उपस्थित हुन नमाने गाउँलेले नै पाता कसेर प्रहरीलाई बुझाउँथे । तर अहिले प्रहरीहरू पोसाक लगाएर एक्लै दुक्लै गाउँ पस्ने अवस्था छैन । प्रहरीप्रति विश्वास घटेका कारण जनता अपराधीसँग भयभित छन् ।

अपराधीको सुराकी जनताले दिने अवस्था कमजोर भएको छ । राज्यका संयन्त्रमध्ये सबैभन्दा महत्वपूर्ण जिम्मेवारी तथा अधिकार भएको प्रहरी संगठनप्रति जनविश्वास गुम्नु भनेको राज्यप्रति नै जनविश्वास गुम्नु हो । राज्यप्रति जनविश्वास गुम्नुको परिणाम भयावह हुन्छ भन्ने यथार्थलाई बिर्सन मिल्दैन । त्यसमा पनि सत्ता सञ्चालन गर्नेहरूले त झनै बिर्सन मिल्दैन ।

प्रहरीमाथि अत्यधिक राजनीतीकरण र सत्ता सञ्चालन गर्नेहरूले नै प्रहरी संगठनलाई व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्दा यो अवस्था आएको हो । पछिल्लो ३ दशकमा राज्यसत्ताको बागडोर सम्हाल्नेहरूले प्रहरी संगठनको के कसरी दुरुपयोग गरे ? भन्ने उदाहरणहरूको फेहरिस्त निकै लामो छ । यो सिलसिला अहिले पनि जारी छ ।

यद्यपि यो मामिलामा प्रहरी संगठनको माथिल्लो तहमा रहनेहरूका पनि प्रसस्त कमी कमजोरी छन् । तर मुख्य कमजोरी सत्ताको बागडोर सम्हाल्नेहरूकै हो । अपराध अनुसन्धानमा एशियामै दक्ष मानिने नेपाल प्रहरीलाई अझै चुस्त र व्यावसायिक बनाउनु अहिलेको प्रमुख कार्यभार हो । यदि प्रहरीप्रतिको जनविश्वास विगतकै अवस्थामा पुर्याउने हो भने राजनीतिक तहले व्यक्तिगत तथा दलीय स्वार्थको दलदलबाट प्रहरीलाई मुक्त गराउने साहस देखाउनै पर्छ ।

प्रतिक्रिया