काठमाडौँ । लामो समयदेखि संघीय सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा) ले भारतको राजधानी नयाँदिल्लीमा २७ वर्षपछि सरकार बनाउने भएको छ । ७० सदस्यीय दिल्ली विधानसभा निर्वाचनमा बहुमत हासिल गरेसँगै भाजपाले सन् १९९८ पछि दिल्लीमा एकल सरकार बनाउने अवसर पाएको हो ।
आफ्नो दलको सफलतापछि प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको विकासका लागि कुनै कसर बाँकी नराखिने बताए । प्रायः निर्वाचनमा मत स्विङ हुने प्रान्तका रूपमा रहेको दिल्लीमा यस पटक सन् २०१३ यता सरकार सञ्चालनको नेतृत्व गरिरहेको अरविन्द केजरीवाल नेतृत्वको आमआदमी पार्टी भाजपाभन्दा धेरै पछि परेको छ । पूर्वमुख्यमन्त्री केजरीवाल आफैँ भाजपाका उम्मेदवार प्रवेश बर्मासँग ३ हजारभन्दा बढी मतान्तरले पराजित भए । चुनावी परिणामपछि उनले भाजपालाई बधाई दिएका थिए ।
मतदाताले भ्रष्टाचारविरोधी र कल्याणकारी मुद्दालाई समर्थन गरेपछि सन् २०१३ को निर्वाचनमार्फत् आम आदमी पार्टी नेतृत्वमा उदाएको हो । तर, २ वर्षअघि ‘मदिरा ठेक्का प्रकरण’मा भ्रष्टाचारको आरोपमा स्वयं मुख्यमन्त्री केजरीवाल, उपमुख्यमन्त्री मनिष सिसोदियालगायत नेताहरू जेल परेका थिए । यसअघि महाराष्ट्र र छत्तिसगढलगायत राज्यमा पनि भाजपाले सफलता पाएको थियो । सोही सफलताका कारण उत्साहित भाजपाले आफ्नो पूरा शक्ति दिल्ली निर्वाचनमा लगाएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह दुवै चुनावमा सक्रिय थिए ।
यता, संघीय संसद्मा प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस भने दिल्लीमा शून्य सिटमा रह्यो । कंग्रेसले सन् १९९८ देखि २०१३ सम्म त्यहाँ सरकार चलाएको थियो । सन् २०१२–१३ ताका त्यहाँ अचाक्ली बढेको प्याजको मूल्य नियन्त्रण गर्न नसकेपछि कांग्रेसको पतन सुरु भएको थियो । दिल्ली चुनावको तथ्यांक हेर्दा केजरीवाल सबैभन्दा दोस्रो लामो समय मुख्यमन्त्री हुने दोस्रो नेतासमेत हुन् । १५ वर्षसम्म दिल्ली सरकारको नेतृत्व गरेकी कंग्रेसकी शिला दीक्षितलाई प्रतिस्थापन गर्दै २०१३ मा केजरीवाल मुख्यमन्त्री भएका थिए । गत वर्ष भ्रष्टाचारको आरोप लागेपछि पदमुक्त हुनुअघि केजरीवालले ९ वर्ष २१९ दिन दिल्ली सरकारको नेतृत्व गरेका थिए । बाँकी कार्यकाल उनकै दलकी आतिशी मिश्राले सरकारको नेतृत्व गरेकी हुन् ।
दिल्ली सरकार सन् १९५२ देखि १९५६ सम्म कंग्रेसको नेतृत्वमा थियो । सन् १९५६ देखि १९९३ सम्म राष्ट्रपति शासन थियो । सन् १९९३ पछि सन् १९९८ सम्म दिल्लीमा भाजपाको शासन चल्यो । सन् १९९८ पछि कंग्रेसकी शिला दीक्षित ३ कार्यकाल दिल्लीको मुख्यमन्त्री भइन् । २८ डिसेम्बर, २०१३ देखि दिल्लीमा आम आदमीको नेतृत्व थियो ।
प्रतिक्रिया