ललितपुरलाई हस्तकलाको राजधानी बनाउनुपर्नेमा जोड

ललितपुर । ‘लोपोन्मुख हस्तकलाको पुस्तान्तरण’ विषयक एकदिवसीय कार्यशाला तथा गोष्ठी सम्पन्न भएको छ । ललितपुर महानगरपालिका १६ वडा हस्तकला तथा पर्यटन विकास समितिको आयोजनामा शनिबार भएको सो कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीको मुख्य प्रस्तुति रहेको थियो । ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा हस्तकला क्षेत्रमा आबद्ध कलाकार तथा विज्ञको उपस्थिति रहेको थियो ।

उपप्रमुख शाक्यले ललितपुरलाई नेपालकै हस्तकलाको राजधानी बनाउनुपर्नेमा जोड दिइन् । उनले हस्तकलाको विकासका लागि सचेत ढंगले काम गर्नुपर्नेमा जोड दिँदै तथ्याङ्क र खोज अनुसन्धानलाई अगाडि बढाउनुपर्ने धारणा राखिन् । उनले लोपोन्मुख हस्तकलाको पुस्तान्तरणका लागि महानगरले सक्दो काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

उपमेयर शाक्यले हस्तकलाको विधागत बर्गीकरण, कलाकारको संख्या तथा कलाको अवस्थाका बारेमा अनुसन्धान गरिनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘तथ्याङ्कसहित कला र कलाकारको अवस्थालाई खोज अनुसन्धान गर्न सकियो भने त्यसबाट निस्कने निष्कर्षले नीति तथा योजना बनाउन सहयोग पुग्छ । साथै पुस्तान्तरणका लागि समेत मद्दत मिल्दछ ।’

सो कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव थुम्केलीले मौलिक पहिचानका रुपमा हस्तकलाले बनाएको विशिष्टता नेपालको सांस्कृतिक सम्पदा भएको बताउँदै एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएको यसले नेपाली मौलिक पहिचानलाई विश्वसामु परिचित गराउन सकेको बताए ।

उनले भने, ‘नेपालमा सयौं किसिमका हस्तकलाका मौलिक सामान पाइन्छन् । यो ज्ञान परम्परालाई नवपुस्तामा पुस्तान्तरण गर्दै सामाजिक रुपान्तरणमा अग्रसर बनाउनु पर्दछ ।’

थुम्केलीले विशेषगरी समुदायगत रुपमा विकास हुँदै आएको हस्तकलालाई सम्भावना र अवसरका रुपमा नवप्रवर्तनसँग जोडेर प्रदेश तथा स्थानीय सरकारले समृद्धिको आधारका रुपमा राखेर नीति नियम बनाउँदै व्यवस्थित ढंगले पुस्तान्तरणको अभियान चाल्नु पर्नेमा जोड दिए । उनले मौलिकताको जर्गेना, रोजगारीको सिर्जना र अर्थतन्त्रमा योगदान दिने नेपालकै विशिष्ट क्षेत्र हस्तकला रहेको जिकिर गरे । उनले सभ्यता, पहिचान स्थापित गर्दै देशलाई समृद्धिको दिशामा लैजान हस्तकलालाई व्यवस्थितरुपमा अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले इतिहास, पुरातात्त्विक अन्वेषणमा सहयोग तथा कन्जर्भेसन, रेनोभेसनका लागि कलाकारको भूमिका विशेष रहने भएकाले पुस्तान्तरणका लागि योजनाबद्ध ढंगले काम गर्नु पर्ने विचार व्यक्त गरे ।

सदस्य सचिव थुम्केलीले संस्कृति, शिल्पज्ञान, परम्परागत प्रविधि र विविधताको संगम भएको ललितपुर महानगरको १६ वडामा लोक–परम्परागत चित्रकला, मूर्तिकला, धातुपत्र कला, परम्परागत प्रविधिमा भाँडाकुँडा, जडाउ कला (फिलगिरी), गरगहना, वास्तुकला÷स्थापत्यकला तथा व्यावसायिक कला आदि प्रचलित रहेको जनाए ।

उनले बजेटको व्यवस्थापन, नीति तथा कानुनी समस्या, हस्तकला ज्ञान परम्परा शिक्षामा नजोडिएको, दक्ष जनशक्तिको अभाव, हस्तकलाको अध्ययन गर्ने थलोको अभाव, पुस्तान्तरणमा समस्या, कलादीर्घा, कोसेलीघर, सङ्ग्रहालयको अभाव, सङ्घ, प्रदेश तथा पालिकासँग समन्वयको कमी, प्रशासनिक झञ्झट, व्यवसायीको पलायन, बजार (वैदेशिक व्यापार सम्भौता प्रभावकारी नहुनु), आत्मसम्मान तथा प्रोत्साहनको कमी, प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोग, विदेशी प्रविधि र सामान आयात, व्यवस्थित प्रदर्शनी, मेला, महोत्सवमा समन्वयको कमी (देश विदेशमा) समस्या र चुनौती रहेको बताए ।

उनले प्रदेश र पालिका स्तरमा सांस्कृतिक संरचना गठन गरी हस्तकलाको पहिचान, खोज अनुसन्धान गर्नुपर्ने धारणा व्यक्त गरे । यस्तै, सातै प्रदेशमा हस्तकला हव वा केन्द्रको स्थापना, कलादीर्घा, कोसेलीघर तथा सङ्ग्रहालयको स्थापना, हस्तकलासम्बन्धी गैरसरकारी संघसंस्थाको स्थापना, औपचारिक÷अनौपचारिक शिक्षामार्फत पाठ्यक्रम निर्माण, कला शिक्षण संस्था हस्तकलाको अध्ययन आदि हुनुपर्नेमा जोड दिए ।

यसैगरी निरन्तररुपमा कार्यशाला, प्रशिक्षण, तालिम, प्रदर्शनी, गोष्ठी, अन्तरक्रिया, बहस, छलफल गर्दै नवप्रवर्तनसँग जोडेर परम्परागत रुपमा आएको ज्ञानलाई पुस्तान्तरण गर्नुपर्ने बताए । उनले नेपाली हस्तकलाको सैद्धान्तिकरण गर्न खोज–अनुसन्धान, प्रकाशन, अभिलेखीकरण एवं प्रचार प्रसार, कला र कलाकारको सर्वेक्षण, हस्तकलाको ब्राण्डिङ (मानकीकरण÷विशिष्टीकरण) गर्नुपर्नेमा जोड दिए ।

नीतिगतरुपमा कच्चापदार्थ, भन्सार, कर, कम ब्याजमा ऋण, ढुवानीसम्बन्धी समस्या हल हुनुपर्ने जनाउँदै थुम्केलीले राज्यले निरन्तर नियमन गर्नुपर्ने विचार व्यक्त गरे । यस्तै, पेशाप्रतिको आत्मसम्मानका लागि पुरस्कार, सम्मान तथा प्रतियोगिता, विद्वतवृत्ति, छात्रवृत्ति, सिर्जनावृत्ति आदिको व्यवस्था हुनुपर्ने धारणा राख्दै सदस्य सचिव थुम्केलीले आन्तरिक तथा बाह्य बजारलाई व्यवस्थित ढंगले व्यवस्थापन गर्नुपर्ने बताए ।

सो कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रदिप शाक्यले हस्तकलाको विकासले मौलिक नेपाली कलाको जर्गेना हुने बताउँदै यसका लागि सिप र ज्ञानको पुस्तान्तरण हुनुपर्ने जनाए । उनले लोपोन्मुख हस्तकलाको खोज अनुसन्धान, अभिलेख तथा प्रकाशनमा जोड दिँदै प्रशिक्षण, कार्यशाला, तालिम आदिबाट सिप विकासमा सबै ध्यान दिनुपर्नेमा जोड दिए । प्राज्ञसभा सदस्य शाक्यले भने, ‘हस्तकला समाज चिन्ने सिर्जनात्मक आँखा भएकाले यसले नेपालको इतिहासमात्रै नभएर सांस्कृतिक, धार्मिक, सामाजिक तथा राजनैतिक परिवेशलाई चलायमान बनाएको छ । यसको महत्त्वलाई चीरस्थायी बनाउन पुस्तान्तरण गर्दै अगाडि बढ्नु पर्दछ । लोपोन्मुख हस्तकलाको संरक्षण, प्रवद्र्धन तथा विकासमा अहिले नै ध्यान नदिए राज्यले एउटा सिंगो सभ्यता गुमाउँछ ।’

सो कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले प्रविधिमैत्री बन्दै हस्तकलाको विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले हस्तकलामा नाम, दाम र भविष्य रहेको बताउँदै नेपाली हस्तकलालाई अन्तर्राष्ट्रिय रुपमा व्यवस्थित ढंगले लैजानुपर्ने धारणा राखे । उनले भने, ‘युवापुस्ता बाहिर गए पनि आफ्नै हस्तकला सिकेर जानुपर्दछ । यसले हाम्रो मौलिकतालाई विश्वमा चिनाउन मद्दत गर्दछ भने आर्थिकरुपमा पनि हामीलाई सबल बनाउन महत्वपूर्ण सहयोग पु¥याउँदछ ।’

हस्तकलाको विकास गर्ने महाअभियानमा सबै लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष शाक्यले एकापसमा मिलेर नेपाली हस्तकलाको विकासमा अघि बढ्नुको विकल्प नभएको जिकिर गरे । हस्तकला तथा पर्यटन विकास समितिका संयोजक आनन्दबीर बज्राचार्यले लोपोन्मुख हस्तकलाको मौलिकतालाई जर्गेना गर्दै समृद्धिको यात्रामा लाग्न महानगरले काम गरिरहेको बताए ।

उनले भने, ‘मौलिक हस्तकलाको संरक्षण, प्रवद्र्धन, विकास र संवद्र्धनमा राज्यका सबै तह लाग्नुपर्दछ ।’ ललितपुर महानगर १६ वडाध्यक्ष निर्मलरत्न शाक्यले रैथाने मौलिक शिल्पज्ञानको प्रवद्र्धनात्मक कार्यमा महानगर काम गरिरहेको बताए । उनले भने, ‘हस्तकलाको खोज–अनुसन्धान, अभिलेख तथा प्रकाशनको कार्यसँगै प्रशिक्षण, कार्यशाला, गोष्ठी, सम्मेलन, महोत्सव, प्रतियोगिता, प्रदर्शनी एवम् कलाकारको जीवनस्तर उकास्नका लागि महानगर सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले ललितपुरलाई हस्तकलाको राजधानी बनाउनुपर्नेमा जोड दिँदै संस्कृति बचेमात्रै सभ्यता जीवन्त बन्ने भएकाले आफूले सोही अनुसार काम गरिरहेको जिकिर गरे । सो कार्यक्रममा कलाकार राजेश शाक्य, सुरेश प्रधानलगायतले हस्तकलाको अभिलेखीकरण, सिप हस्तान्तरण, पाठ्यक्रम निर्माण, सहज नीति बनाउनुपर्नेमा जोड दिए । सो कार्यक्रममा ६० जनाभन्दा बढी सहभागी रहेका थिए ।

प्रतिक्रिया