नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दानमा लिई पार्टी कार्यालय बनाउने भनी गरेको निर्णयका विरुद्ध सामाजिक सञ्जालमा धारणा राखेका कारण गएको पुस १० गते पार्टी स्थायी समिति सदस्य विन्दा पाण्डेलगायत ३ नेतालाई कारबाही गर्यो । पार्टीले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । तर, उनलाई भने पार्टीले आधिकारिक रूपमा अहिले पनि कारबाहीको जानकारी दिएको छैन । कारबाही अघि उनलाई पार्टीले स्पष्टीकरण सोधेको थियो । उनले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको सञ्चार माध्यममा जानकारी गराइयो । यद्यपि उनलाई स्थायी समितिबाट हटाइएको भनिएको छैन । पाण्डे आफू अहिले पनि एमाले स्थायी समिति सदस्य रहेको बताउँछिन् । यसै सेरोफेरोमा रहेर एमाले नेतृ पाण्डेसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवादको अंश:
अहिले त फुसर्दमा हुनुहुन्छ होला होइन, पार्टीको काम गर्नै परेको छैन !
– ठिकै छ । आफ्नो नियमित काम त भइरहेकै छ । मलाई पार्टीले जिम्मेवारीबाट निलम्बन गरेको भनेको छ । मेरो पार्टीमा जिम्मेवारी भनेको विभागीय प्रमुख भएकाले ३ महिनामा एउटा बैठक बस्थ्यो र विभागको कामहरू हुन्थे । त्योभन्दा बढी त खासै केही हुँदैन थियो । म आफू अरूको विभागमा चासो राख्दिनथेँ, आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्ने हो । त्यो भन्दाबाहेक म पार्टीकर्मी मात्रै होइन, राजनीतिककर्मी पनि हो । त्यो हिसाबले श्रमिक, महिलासँग सम्बन्धित कुराहरूमा वौद्धिक प्रकारका छलफलमा पहिला पनि सहभागी हुन्थँे अहिले पनि उत्तिकै सहभागी छु । फुर्सदचाहिँ छैन, पहिला र अहिले उस्तै हो ।
तपाईंको राजनीतिक जीवनमा यो पहिलो कारबाही हो ?
– हो । मेरो लामो राजनीतिक जिन्दगीको यो पहिलो कारबाही हो ।
कारबाहीपछि कस्तो अनुभव गर्नुभएको छ ? पार्टीका अन्य साथीहरूको व्यवहार कस्तो पाउनुभएको छ ?
– व्यक्तिगत रूपमा यसले मलाई केही फरक पारेको छैन । पार्टीका साथीहरूसँग भेटघाट निरन्तर छ । आफूले गर्ने काम गरेकै छु । ३ वर्षदेखि लेख्न थालेको एउटा किताबको लेखन कार्य अन्तिम चरणमा पुगेको छ । त्यसैको काम गरिरहेको छु । साथीहरूले भेटघाटमा गुनासो गर्नुहुन्छ । यो नहुनुपर्ने कुरा भयो भन्ने छ धेरैको । तपाईंले उठाएको कुरा ठीक हो, पार्टी त्यसैअनुसार चल्नुपर्छ भन्नुहुन्छ । भेटघाट छलफल हुन्छ । सबैले मैले उठाएको कुरा सही हो, ठीक उठाउनुभयो । त्यसै हुनपर्छ भन्नुहुन्छ । सबैको सकारात्मक व्यवहार र साथ पाएको छु ।
तपाईंहरूले उठाएको कुरा ठिक हो भन्ने तर बैठकमा बोल्ने आँट नगर्ने किन होला ?
– बैठकमा त त्यो विषय छलफलमा नै थिएन । सचिवालयको निर्णय अनुमोदन भनेर एकैपटक राखियो । तर, निर्णय के के छ भनिएन । केन्द्रीय कमिटीले पास गर्यो । बैठकले पास गरेपछि त्यही कुरामा किन बोल्ने भन्ने भयो होला । प्रतिवेदनमा छलफल गर्नुपर्ने हो, प्रतिवेदनमा त्यो विषय उल्लेख थिएन । अब किन बोल्नु भएन थाहा छैन ।
यो बीचमा तपाईंसँग अरू कम्युनिस्ट पार्टीका नेताहरूले फोन सम्पर्क गरे होलान् नि ?
– उहाँहरू सबैसँग मेरो पहिला पनि सम्पर्क हुन्थ्यो अहिले पनि निरन्तर सम्पर्क छ । मलाई बुझ्ने सबैले भन्नुहुन्छ, ‘तपाईंप्रति अन्याय भयो । तपाईंले उठाएका कुरा ठिक हुन् भन्नुहुन्छ । फेरि पनि तपाईंको पार्टीमा सक्रियता हुनपर्छ भन्नुहुन्छ । राजनीतिमा धैर्य चाहिन्छ भन्ने मैले बुझेको छु । त्यसैले अरू साथीहरूले दुःख मान्ने कुरा एउटा हो र मैले भने धेरै चिन्ता लिएको छैन । सामान्य रूपमा लिएको छु । सबैसँग कार्यक्रमहरूमा कुराकानी भेटघाट भइरहन्छ, त्यहाँ पनि हुने भनेको राजनीतिक कुरा नै हो ।
स्थायी समितिको जिम्मेवार नेताले उठाएको कुरालाई पार्टीले गम्भीर रूपमा लिनुपर्नेमा झन् निलम्बनमा पर्नुभयो । यसलाई कसरी लिनुभएको छ ?
–मैले यसबारेमा केही पनि भनेको छैन । अहिलेसम्म मलाई आधिकारिक रूपमा कारबाही गरिएको भनेर जानकारी पनि आएको छैन । त्यसबारेमा मलाई पार्टीले कुनै पनि पत्राचार गरेको छैन । आधिकारिक रूपमा यसबारेमा मलाई थाहा छैन भन्न मैले मिल्छ । किन भन्दा मैले सामाजिक सञ्जालमा लेखेको भनेर कारबाही गरेको भनेर मैले पनि सामाजिक सञ्जाल र मिडियामार्फत थाहा पाएको हो । औपचारिक रूपमा पार्टीले के कारबाही गर्यो कति दिनका लागि गर्यो ? भन्ने कुनै पनि जानकारी मलाई छैन ।
एउटा जिम्मेवार नेतालाई बोलेकै आधारमा निलम्बन नै गर्नुले पार्टी अधिनायकवादतिर अघि बढेको भन्ने लाग्दैन ?
– जसले निर्णय गर्नुभयो उहाँहरूले नै बुझ्नुहोला यो कुरा । मेरो कुरा भनेको पार्टीको सचिवालयले गरेको निर्णयलाई पद्दती अनुरूप केन्द्रीय कमिटीमा छलफलको विषय बनाइनुपर्ने थियो भन्ने हो । अर्को कुरा भनेको हामीले बाह्य मान्छेसँग सहयोग लिनै हुँदैन थियो भन्ने होइन । तर कस्तो मान्छेसँग कति बेला कुन प्रक्रियाबाट लिने भन्ने कुराचाहिँ छलफलको विषय हुनपर्छ भनेर मैले उठाएको हो । त्यसमा पनि कसैसँग लिएको सहयोग के कामका लागि लिइएको हो भन्ने महत्वपूर्ण कुरा हुन्छ । जे कामका लागि भनेर लिने निर्णय भएको छ त्यो काम भनेको गम्भीर छ । त्यो एउटा भवन मात्रै होइन । पार्टीको केन्द्रीय कार्यालय भनेको सबैको आस्थाको केन्द्र बन्नुपर्छ । त्यो आस्थाको केन्द्रमा पार्टीका सदस्यले अरू नसके एउटा इँटा भने पनि लगानी गर्नुपर्छ भन्ने मेरो कुरा हो । त्यही हिसाबले राम्रो हुन्थ्यो भन्ने हो । तत्कालीन हिसाबले हेर्दा घर त बन्ला तर, राजनीति भनेको दीर्घकालीन हिसाबले सोच्नुपर्छ । दीर्घकालीन हिसाबले हेर्ने हो भने यसले पार्टीलाई राम्रो गर्दैन । त्यसलै यसमा पुनर्विचार गरौँ भन्ने हिसाबले मैले लेखेको हो । यो मामलामा मैले गलत गरेको छैन भन्नेमा म अहिले पनि ‘कन्भिन्स’ छु ।
तपाईंमाथिको कारबाही निर्णय पार्टीको हो कि अध्यक्षको चाहना ?
– पार्टीको भन्दा पनि पार्टी सचिवालयको भन्नुपर्यो । यसमा अध्यक्ष महासचिव सबैकोे चाहना भएर भयो होला !
तपाईंको हक्की स्वभाव र प्रस्तुतिका शैलीले पनि केही काम गर्यो भन्ने लाग्दैन ? अहिलेको राजनीति तपाईंले सुरुमा दिनमा गरेजस्तो त छैन होला !
– यो राजनीति भनेको वरीयतामा रहेर पदोन्नति खाने ठाउँ होइन भन्ने लाग्छ मलाई । त्यसले को कहिले पार्टीमा लाग्यो ? को कहाँ के गर्दै छ ? सबै देखेका छौँ । यो पार्टी बनाउन लागेका पुराना, इमानदार र निष्ठावान मान्छे धेरै पछाडि छाडिनुभएको छ । त्यसले यस्तो भइरहन्छ नै । मैले बुझेको २ प्रकारको नेतृत्व हुन्छ । एउटा पदको नेतृत्व, अर्को मुद्दाको नेतृत्व । मचाहिँ मुद्दा हेरेर आन्दोलनमा लागेको हुँ । त्यसले गर्दा मलाई मुद्दा छोडेर माथिमाथि पदमा पुग्दा दीर्घकालीन रूपमा राम्रो गर्छ भन्ने लाग्दैन । त्यसले गर्दा म सुरुमा जुन मुद्दा बुझेर आन्दोलनमा लागेँ त्यो मुद्दाचाहिँ मैले छोडेको छु कि छैन भन्नेचाहिँ महत्वपूर्ण हो । मैले त्यो मुद्दा आज पनि छोडेको छैन ।
त्यसो भए सन्तुष्ट हुनुहुन्छ ?
– सन्तुष्टी भनेको त्यस्तै हो । किनभने आजसम्म जति कुरा गरियो, जति कुरा प्राप्ति हुनपथ्र्यो भएको छैन । संविधानमा जे कुरा लेखियो त्यो कुरा आज पनि कार्यान्वयन भएको छैन । त्यसले गर्दा सन्तुष्टी लिएर बस्ने बेला अझै भएको छैन । हिजो जे मुद्दा बोकेर आयौँ अझै पनि बोकेर हिँड्नुपर्छ ।
केन्द्रीय कमिटीमा तपाईंहरूको कारबाहीको विपक्षमा कोही पनि चुइँक्क नबोलेपछि ठुलै गल्ती गरिए झैँ लाग्दैन ?
– यो विषयमा धेरै लामो कुरा नगरौँ । मैले उठाएको कुरा ठिक थियो कि थिएन । दान लिने भन्ने निर्णय ठिक हो कि होइन, भन्ने विषयमा पार्टी बैठकमा छलफल नै भएन । छलफलमा साथीहरूले कारबाहीचाहिँ उचित भएन कारबाही फुकुवा हुनुपर्यो भनेर केही साथीले बोल्नुभयो । १–२ जनाले कारबाही गर्नुपर्छ पनि भन्नुभएछ । आमरूपमा भन्ने हो भने, जग्गा लिने र कारबाहीका विषयमा सुनिने गरी बोल्नु भएन । पदाधिकारीका अगाडि बोल्न पाउँदा निर्णय ठिक लागेको भए ठिक भो भन्नुहुन्थ्यो होला नि । त्यसले धेरैलाई यो गलत हो भन्ने लागेको छ । तर त्यो कुरा सुनिने गरी कतिले बोल्नुभयो भन्ने हो । व्यक्तिगत रूपमा धेरैले मलाई तपाईंले उठाएको कुरा ठिक हो । कारबाही फुकुवा हुनुपर्छ भन्नुभएको छ । अस्ति १ जना साथीले भन्नुभयो, ‘संगठित सदस्यहरूको गोप्य मतदान गरेर निर्णय गर्ने हो भने, नतिजा त त्यसले दिइहाल्छ नी !’ त्यो भनेको अहिले पनि देखिने गरी बोल्न हिचकिचाउनुभएको छ । तर, आमरूपमा सबैलाई त्यो निर्णय ठिक लागेका छैन ।
तपाईंहरूलाई कारबाही गर्ने सचिवालयको निर्णय केन्द्रीय कमिटीले जसरी लुसुक्क अनुमोदन गर्यो, त्यो तरिका पार्टीको कुन पद्धति हो जस्तो लाग्छ ?
– अहिले हामी के पद्धतीमा चलेका छौँ र कारबाहीको पद्धतीको कुरा गर्ने ? यसमा कुरै नगरौँ छोडदिनुस् । यसमा को कसरी चलेको छ देखिएकै छ ।
जिम्मेवार नेताको मुख थुनेर पार्टी कता जाँदै छ भन्ने लाग्छ ?
– त्यो भविष्यमा देखिने कुरा हो । मलाई दुःख लागेको चाहिँ एउटा कुरा छ । अहिले धेरै पार्टीका केन्द्रीय समितिको बैठक भइरहेका छन् । बैठकपछि माओवादी, राप्रपाजस्ता पार्टीका नेताले प्रतिक्रिया दिन्छन्, ‘हामी एमालेजस्तो हो र हामी त लोकतन्त्रमा विश्वास गर्छौं’, । आज माओवादी राप्रपाजस्ता पार्टीले एमालेजस्तो हो र बोल्दा कारबाही हुनेभन्दाचाहिँ नमिठो लाग्छ । लोकतन्त्रमा विश्वास गर्ने एमालेलाई माओवादी राप्रपाले हामी लोकतान्त्रिक हौँ, एमालेमा बोल्न पाइँदैन भन्ने अवस्था आउँदा दुःख लाग्छ ।
पार्टी मार्गदर्शक सिद्धान्तचाहिँ जबज, नेतालेचाहिँ बोल्नै नपाउने पनि जबज हुन्छ ?
– यो सबै एकदिन समीक्षाको विषय हुन्छ भन्ने लाग्छ मलाई । त्यसैले कुरा मेरो मात्रै होइन, कसले जबजको विधिअनुसार बोलेको छ ? जबजको नीतिअनुसार कार्य गरिरहेको छ ? जबजले भने जसरी अनुशासनका कुरामा चलेको छ ? जबजमा भने अनुसारका नैतिक चरित्रअनुसार काम गरिरहेको छ । यी सबै कुरामा निकट भविष्यमा समीक्षाको विषय बन्छ भन्नेमा म विश्वस्त छु ।
तपाईंले कम्युनिस्ट पार्टीमा लामो समय बिताउनुभयो । यस्तो कारबाही खेप्नुपर्ला भन्ने ठान्नुभएको थियो ?
– त्यो सोचेको पनि थिइनँ । तर मेरो दैनिकीमा केही फरक पारेको छैन यसले ।
पुनः जिम्मेवारीमा फर्कनेमा कत्तिको आशावादी हुनुहुन्छ ?
– यो त मलाई कारबाही भएकै हो भने, मैले लेखेको दिनबाट सुरु भएको हो कि ? स्पष्टीकरण दिएको दिनबाट सुरु भएको हो कि ? सचिवालयको निर्णय गरेको दिनबाट सुरु भएको हो कि ? वा केन्द्रीय कमिटीले अनुमोदन गरेका दिनबाट सुरु भएको हो ? त्यसको बारेमा कहीँ कतै केही उल्लेख छैन । त्यसैले कहिलेबाट कहिलेसम्म कारबाही हो केही थाहा छैन । त्यसैले कहिले सुरु हुने र कहिले अन्त्य हुने थाहा छैन । तर मैले सुने अनुसार मलाई पदबाट कारबाही गरिएको होइन्, जिम्मेवारीबाट मात्रै गरिएको हो । त्यसैले म अहिले पनि एमालेको स्थायी कमिटी सदस्य हुँ । अहिले मसँग पद छ, जिम्मेवारी छैन ।
पार्टीले कारबाही फिर्ता लिएन भने के गर्नुहुन्छ ?
– जिन्दगी यसै चल्छ । पार्टीमा नलागेका मान्छेको पनि जिन्दगी चलेकै छ । मैले बुझेको राजनीति र राजनीतिक दल भनेको फरक कुरा हो । त्यसले गर्दा हामीले यदि लोकतन्त्रलाई ट्रयाकमा लैजाने हो भने, सबै मान्छे राजनीतिक हुनपर्छ । तर, दलमा लाग्ने कि नलाग्ने भन्ने कुरा मान्छेको च्वाइसको कुरा हो । दलमा नभएका मान्छेले राजनीति गर्दैन भन्ने हुँदैन । मैले सामाजिक न्यायका लागि गर्दै आएको राजनीति निरन्तर हुन्छ । पार्टीको राजनीति भनेको कहिले रोकिने, कहिले अगाडि बढ्ने भइरहन्छ ।
पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा फर्कने कुरा चलेको छ, उहाँ राजनीतिमा फर्किए के होला ?
– त्यो उहाँको कुरा हो, उहाँले नभन्दासम्म अरूले भन्ने कुरा भएन । उहाँ पार्टीमा फर्किनुभयो भने पार्टीको नेता हुनुहोला ।
प्रतिक्रिया