अमेरिकामा किन चुनिन्नन् महिला

कमलाले आफ्ना र्यालीमा ट्रम्पले महिला, अल्पसंख्यक र राजनीति विरोधीसँग गर्ने विचित्रका व्यवहार र आपत्तिजनक अभिव्यक्तिका ‘क्लिप’ देखाइन् । उनले गर्भपतन अधिकार प्रतिबन्धबाट नोक्सानी बेहोरेका महिलालाई तानेर कार्यक्रमका मञ्चमा ल्याइन् । उनी र उनका सल्लाहकार यो कुरामा आशावादी थिए कि ट्रम्पले उनका र्यालीमा गर्ने महिलासँगका व्यवहारको स्मरण हुनेछ । तर, उनले सोचेको जस्तो परिणाम आएन । उनका ती कुराले अमेरिकी मतदातामा प्रभाव पारेन ।

चमिना भट्टराई


विश्वको सबैभन्दा बढी प्रजातन्त्र भएको भनिने मुलुक अमेरिकामा विगत २४८ वर्षदेखि पुरुषहरूले मात्रै एकछत्र राज्यको नेतृत्व गदै आएका छन् । ४७औँ पटकसम्म त्यहाँको राष्ट्रपतिमा पुरुषको मात्रै छत्रछाया छ । २०१६ मा भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टन राष्ट्रपति उम्मेदवार बनिन् । अमेरिकी राष्ट्रपतीय चुनावको इतिहासमा पहिलोपटक महिला उम्मेदवार बनेर हिलारीले इतिहास रचेकी थिइन् । उनको इतिहास उम्मेदवारमा मात्रै सीमित भयो । सन् १७८९ बाट अमेरिकामा सुरु भएको राष्ट्रपतीय निर्वाचनमा आवश्यक प्रतिनिधि संख्या पूरा गर्ने हिलारी पहिलो महिला बनेकी थिइन् । तर, उनले राष्ट्रपतिको हक पूरा गर्न पाइनन् ।


डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवार बन्न चाहिने २ हजार ३८३ प्रतिनिधिको समर्थन पाएर हिलारी राष्ट्रपतिको उम्मेदवार बनेकी थिइन् । हिलारी राष्ट्रपतिको उम्मेदवार बनेपछि डेमोक्रेटिकको तर्फबाट राष्ट्रपतिको दौडमा रहेका बर्नी सान्ड्रेस बाहिरिएका थिए । हिलारीले अमेरिकाको राष्ट्रपतिको उम्मेदवार बन्ने पहिलो महिला भनेर अमेरिकी राष्ट्रपतीय निर्वाचनको २२७ वर्षे इतिहासमा आफ्नो नाम लेखाइन् । उनले राष्ट्रपति बराक ओबामाको पहिलो कार्याकालमा विदेश मन्त्रीको जिम्मेवारी बहन गरेकी थिइन् । सो पद पनि कम महत्वको थिएन ।


राष्ट्रपतिको उम्मेदवार पक्का भएपछि उनले भनेकी थिइन्, ‘अब म राष्ट्रपति निर्वाचनमा सहभागी हुने पक्का भयो । अमेरिकाले पहिलोपटक राष्ट्रपतिका लागि महिला उम्मेदवार पाएको छ ।’ अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हिलारीले १ हजार ८१२ प्लेज्ड डेडिगेट र ५७२ सुपर डेलिगेटको सहयोग पाएकी थिइन् । यसरी हेर्दा उनको साथमा २ हजार ३८४ डेडिगेट्सले साथ दिएका थिए । यो संख्या हिलारीलाई राष्ट्रपति उम्मेदवार बनाउन आवश्यक संख्याभन्दा १ मात्र बढी थियो । उनी त्यही कम संख्याका कारण इतिहास रच्नबाट वञ्चित भइन् ।


अमेरिकामा अघिल्लो महिना भएको ४७औँ राष्ट्रपति निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसले ट्रमसँग हार बेहोरिन् । उनी डोनाल्ड ट्रम्पसँग पराजित दोस्री महिला हुन् । अर्कोतर्फ ट्रम हरेकपटक महिलासँगको प्रतिस्पर्धामा विजयी भएका छन् । कमलाको हारलाई राष्ट्रपति पदका लागि लैंगिक अवरोध तोड्न असफल महिला भनेर पनि टिप्पणी गरियो । कमलाको हारलाई प्रजातन्त्रको दुहाइदिने अमेरिकामा महिलाप्रतिको दृष्टिकोण कस्तो छ भन्ने भन्ने पनि देखाएको छ । पितृसत्तात्मक सोच अविकसित र अल्पविकसित राष्ट्रमा मात्रै होइन, आर्थिक रूपले समृद्ध, भौतिक रूपले वैभवशाली अनि नामले चरम प्रजातान्त्रिक मुलुक भन्ने देशमा पनि मज्जैले देख्न पाइदो रहेछ भन्ने पनि परेको छ, निर्वाचन परिणामले ।


निर्वाचनका बेला त्यहाँको महिला अधिकारकर्मी निकोल सेलरले भनेकी थिइन्, ‘इमानदारीका साथ भन्नुपर्दा म ट्रम्पसँग साँच्चै डराएकी छु । मलाई यस कुराले भयभित गर्दछ कि म त्यस्तो देशमा बसेको छु, जहाँ ५१ प्रतिशतले एक पूर्वाग्रही र स्त्रीद्वेषी मानिसलाई मतदान गर्दछन् र त्यसलाई ठीक ठान्दछन् ।’ उनको भनाइलाई महिला अधिकारका नाममा महिलावादी भनिए पनि परिणाम उनले भनेजस्तै आयो । के साँच्चै अमेरिकीहरू महिला नेतृत्व रुचाउँदैनन् त ! त्यहाँ पितृसत्तात्मक सोचले गाडेको जरो उखेलिएको छैन !


विश्वको ध्यान तान्ने अमेरिकाको निर्वाचनमा ह्यारिसको पराजयले त्यहाँका धेरै महिलामा पीडा र निराशाको लहर छायो । तर, यसपटकको खेलमा अर्को भावना पनि थियो । सन् २०१६ मा जब ट्रम्पसँग हिलारी क्लिन्टन पराजित भएकी थिइन्, मानिसमा क्रोध र आघात थियो । त्यसले एकप्रकारको गुलाबी विरोध आन्दोलन जन्माएको थियो । तर, यसपटक ट्रम्प पहिलेभन्दा पनि फराकिलो र व्यापक जनादेशका साथ ह्वाइट हाउस फर्किएका छन् । देश पहिलो महिला राष्ट्रपति ल्याउनेभन्दा दोस्रोपटक स्त्रीद्वेषी ट्रम्पको स्वागत गर्नमा खुसी देखिएको भन्दै धेरैले टिप्पणी गरे । जे भए पनि निर्वाचनको परिणामलाई स्वीकार गर्नुको विकल्प छैन ।


निर्वाचनको परिणामपछि डेट्रोयटकी वातावरण अभियन्ता एबी क्लार्कले भनिन्, ‘मेरो दिमागमा शून्यता छ । म अगाडि देख्न सकिरहेकी छैन । अब कसरी योजना बनाउने म भन्न सक्दिनँ, हामी हुनुपर्ने संसार कस्तो हो र वास्तविक संसार कस्तो भइरहेको छ ? यो बुझ्न कठोर र गाह्रो हुँदै छ ।’ उनीहरूका लागि अमेरिकाको इतिहासमा महिलाले ह्वाइट हाउसको बागडोर सम्हाल्छिन् कि भन्ने झिनो आशा समाप्त भयो । हुन त सन् २०१६ मा ट्रम्पसँग हिलारी पराजित हुँदा पनि धेरै महिलामा निराशा छाएको थियो । तर, हिलारीको तुलनामा कमलालाई कमजोर उम्मेदवार पनि भनियो । जति साथ समर्थन हिलारीले पाएकी थिइन्, विल विल क्लिन्टनको निकट भएर काम गरेको अनुभव थियो त्यो कमलामा छैन पनि भनियो । कमलाले पनि उपराष्ट्रपति भएर काम गरेको अनुभवलाई नकार्न सकिन्न ।


१५ हप्ता लामो चुनावी अभियानका क्रममा कमलाले एक गैरश्वेत महिलाका रूपमा आफ्नो उम्मेदवारीको ऐतिहासिक महत्वबारे कतै प्रष्ट्याइनन्, यो विषयमा मौन बसिन् । उनले राष्ट्रपतिका रूपमा ‘सबै अमेरिकीको सेवा गर्ने’ इच्छा रहेको भनाइ मतदाताका बीचमा राखिरहिन् । उनको यो रणनीतिले उनलाई ट्रम्पका नीति र चरित्रलाई चुनौती दिन स्वतन्त्र बनायो । कमलाले आफ्ना र्यालीमा ट्रम्पले महिला, अल्पसंख्यक र राजनीति विरोधीसँग गर्ने विचित्रका व्यवहार र आपत्तिजनक अभिव्यक्तिका ‘क्लिप’ देखाइन् । उनले गर्भपतन अधिकार प्रतिबन्धबाट नोक्सानी बेहोरेका महिलालाई तानेर कार्यक्रमका मञ्चमा ल्याइन् ।

उनी र उनका सल्लाहकार यो कुरामा आशावादी थिए कि ट्रम्पले उनका ¥यालीमा गर्ने महिलासँगका व्यवहारको स्मरण हुनेछ । तर, उनले सोचेको जस्तो परिणाम आएन । उनका ती कुराले अमेरिकी मतदातामा प्रभाव पारेन । पुरुष मतदातालाई आफ्नो पक्षमा पार्न ट्रम्पले आक्रामक खेल खेले । उनले कमला ह्यारिसको वर्णन गर्न स्त्रीद्वेषी र दुव्र्यवहारपूर्ण भाषा प्रयोग गरे । ह्यारिससँग देशको नेतृत्व गर्ने क्षमता नभएको भन्दै बौद्धिक प्रतिभाको अपमान गरे । यो कमलाप्रति मात्रै गरिएको अपमान थिएन अमेरिकाका सिंगो महिलाप्रति गरिएको अपमान थियो । यसले त्यहाँको महिलावादीहरूलाई झनै रुष्ट बनाएको छ ।
निर्वाचनमा राजनीतिक प्रतिस्प्रर्धा हुनु स्वभाविक हो ।

उम्मेद्वारले आफ्ना एजेन्डा जनताका बीचमा राख्ने र विरोधीलाई आलोचना गर्नुलाई पनि अस्वभाविक मानिँदैन । तर, अमेरिकाको निर्वाचनमा त्यो भन्दा फरक दृश्य पनि देखियो । निर्वाचन अभियानको अन्तिम दिन नर्थ क्यारोलिनाको एक ¥यालीमा ट्रमका समर्थक एक सहभागीले ‘ह्यारिस एक बेश्या थिइन्’, भन्ने संकेत गरे । सहभागीको सो प्रतिक्रियालाई ट्रम्पले मुस्कुराउँदै सुनिरहे र अन्ततः ‘यो ठाउँ बडो गज्जब छ’ भने । उनको मुस्कुराहट र ती सहभागीको संकेतले विश्वको उदार र प्रजातान्त्रिक भनिने मुलुकमा महिलाप्रति गर्ने व्यवहार र सम्मानको सहजै अनुमान लगाउन सकिन्छ । मुलुकको प्रमुख कार्यकारी पदका लागि प्रतिष्पर्धा गरिरहेको र वहालवाला उपराष्ट्रपतिप्रति त्यस्तो संकेत गरिन्छ भने सामान्य अवस्थामा रहेका महिलालाई त्यो समाजमा कुन दृष्टिले हेरिएला ! त्यो अभिव्यक्ति ह्यारिसका लागि मात्रै गरिएको अपमान होइन, सबै महिलाप्रति गरिएको अपमान हो भन्न अप्ठ्यारोे मान्नु पर्दैन ।


माथिका संकेत र ट्रमको मुस्कुराहट प्रतिक्रिया लगायतका आरोपमा ह्यारिसले कुनै पनि प्रतिक्रिया दिइनन् । ट्रम्पलाई समर्थन गर्ने केही महिलाको तर्कअनुसार ह्यारिसको हार लैंगिक प्रश्नसँग थोरै मात्र सम्बन्धित छ । एक ट्रम्प समर्थक महिला फान्चोन ब्लिथले भनेकी छन्, ‘मलाई लाग्छ कि अमेरिका सही महिला राष्ट्रपतिका लागि तयार छ तर, कमला ह्यारिस सही थिइनन् ।’ उनको भनाइलाई मान्ने हो भने, हिलारी क्लिन्टनलाई हराउने पनि त त्यही अमेरिकी मतदाता हुन नि ! के अमेरिकामा राष्ट्रपतिका लागि उनी पनि महिला उम्मेद्वारमा सही थिइनन् त !


अमेरिकामा यो पटकको निर्वाचनमा केही फरक र रोचक दृश्य पनि देखियो । एरिजोना विश्वविद्यालयकी कार्यकारी सहायक कृष्टियान रेमिरेज लामो समयदेखि डेमोक्याट्रिक पार्टीमा आवद्ध थिइन् । सन् २०२० देखि उनले रिपब्लिकन पार्टीलाई भोट दिन थालिन् । यसपटक पनि उनले ट्रम्पलाई नै भोट दिइन् । उनको भनाइ पनि यही छ कि डेमोक्याट्रिक पार्टीले आफ्ना थुप्रै एजेन्डा गुमाएको छ । हारको कारण ह्यारिसको लिंग नभएर पार्टीको नीति र व्यवहार हो । उनको ठम्याइमा कति सत्यता छ त्यो उनको राजनीतिक दल र नगरिकले बुझ्ने कुरा हो । उनको बुझाइ छ, ‘ट्रम्प महिला विरोधी हुन् । कमला महिला पक्षधर हुन् । तर, मलाई यस्तो लाग्दैन । यहाँ गर्भपतनको मात्र सवाल छैन, अन्य थुप्रै नीतिगत कुरा छन् ।’


अमेरिका त्यही देश हो जहाँ १०५ वर्षसम्म अन्ततः १९औँ संविधान संशोधन नभएसम्म राज्यहरूले महिलालाई मताधिकार प्रयोग गर्न दिन अस्वीकार गरेका थिए । सबै महिला र अश्वेतले समेत मताधिकार प्रयोग गर्न सक्ने ऐन पारित भएको ५९ वर्षपछि पनि अमेरिकीले महिलालाई ह्वाइट हाउसमा पठाउन अनिच्छा देखाएका छन् । ह्यारिसले जानाजान अमेरिका माझ आफूलाई यो भूमिकामा देखाउन खोजेकी थिइन् । उनी युक्रेनी राष्ट्रपति ब्लोदोमिर जेलेन्स्कीसँगै उभिइन् । तुफान प्रभावित राज्यमा निरीक्षण गर्न गइन् । ह्वाइट हाउस अगाडिबाट चुनावी अभियानको समापन भाषण गरिन् । यी सबै कुराले के अर्थ राख्यो राखेन ! ह्यारिसको पराजयमा लिंगको प्रभाव कति भयो त्यो पनि आउने दिनमा समीक्षा होला !


आज पनि अमेरिकाको नेतृत्व पुरुषले नै गरिरहेका छन् । कता कता पुरुष हाबी छ र संसार पुरुषले नै चलाइरहेका छन् भन्ने मानसिकता पनि देखाउँछ । संयुक्त राष्ट्रसंघका सदस्यमध्ये करिब एकतिहाइ देशमा मात्रै महिला सरकार प्रमुख भएका छन् । ठिक यतिखेर १९३ मध्ये १३ देशमा मात्र सरकार प्रमुख महिला छन् । यसले पनि संख्यात्मक रूपमा महिलाले पुरुषको नेतृत्व स्वीकार गर्न परेको छ । यो समस्या अल्पविकसित र विकसित भनिएका सबै प्रकारका देशमा देखिएको छ । समानता र समावेशीका कुरा भन्न र सुन्नमा जति रोचक हुन्छ भोगाइ र अनुभूतिमा हुँदैन भन्ने देखिन्छ ।


८ वर्षअघि हिलारी क्लिन्टन लोकप्रिय मतमा जितेर पनि निर्वाचक मण्डल संख्यामा ट्रम्पसँग पराजित भएकी थिइन् । निर्वाचनमा पराजय भएपछि उनले आफ्नो बधाई भाषणमा भनेकी थिइन्, ‘म यो आशा गर्दछु कि हामीले सोचेभन्दा पनि छिटो एक महिला आउनेछिन् र ‘ग्लास सिलिङ’ भत्काउनेछिन् ।’ उनले भनेको जस्तै ‘ग्लास सिलिङ’ भत्काउने धेरैको अपेक्षा यसपालिको अमेरिकी चुनावको परिणामले पनि पूरा गर्न सकेन ।

प्रतिक्रिया