दैलेख । स्वास्थ्य सेवा कार्यालय दैलेखले जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका १६ हजारभन्दा बढी किशोरीहरूलाई पाठेघरको क्यान्सरबाट जोगाउन ‘सिकोलिन’ खोप लगाउने भएको छ । अभिमुखीकरण गरी एचपिभी खोप अभियान–२०८१ को बारेमा जानकारी दिइएको छ ।
अभिमुखीकरण कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले पाठेघरको क्यान्सरबाट जोगाउन किशोरीहरूलाई खोप लगाउने, बयस्क महिलाहरूको पाठेघर जाँच गर्ने र निःशुल्क उपचार अभियानको प्रचारप्रसारमा सघाउन सबैलाई आग्रह गरे । उनले खोप अभियानलाई हरेक समुदायमा पु¥याउन सञ्चारकर्मीको भूमिका रहेको बताउँदै सबै ठाउँमा पुग्ने गरी प्रचारप्रसार गर्नुपर्ने बताए । यो अभियानमा कोही किशोरीहरू नछुटुन् भन्ने योजना छ, उनले भने ।
पहिलो चरणमा २२ देखि २५ माघसम्म भगवतमाई, भैरबी, डंगेरश्वर, गुराँस, महाबु, नौमूले गाउँपालिकासँगै नारायण नगरपालिकामा र दोस्रो चरणमा २७ देखि ३० माघसम्म दुल्लू, आठबीस, चामुण्डाबिन्द्रासैनी नगरपालिका र ठाँटीकाँध गाउँपालिमा खोप दिइने स्वास्थ्य सेवा कार्यालयका इञ्चार्ज डा. रत्नबीर सुनारले जानकारी दिए ।
२ चरणमा दैलेखका १५७ आधारभूत तथा माध्यमिक विद्यालमा कक्षा ६ देखि १० कक्षा पढ्दै गरेका १५ हजार ४४३ किशोरीहरूलाई विद्यालयमै र पढाइ छोडेका ८५४ जना किशोरीहरूलाई विभिन्न ८३ वटा स्थानमा ‘सिकोलिन’ खोप दिने तयारी रहेको खोप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिए ।
१० देखि १४ वर्ष उमेर समूहरूका सबै किशोरीहरूलाई खोप लगाउने बाहेक ३० देखि ४९ वर्ष प्रजनन् उमेर समूहका सबै महिलाहरूलाई स्वास्थ्य संस्थामा पाठेघर जाँच गर्ने र आवश्यकता अनुसार निःशुल्क उपचार सेवा पुर्याउने अभियानको कार्यक्रमसमेत रहेको खोप अधिकृत रेग्मीले बताए ।
पाठेघरको क्यान्सर लागेका मध्ये ६६ प्रतिशत महिलाको अकाल मृत्यु हुने गरेको तथ्यांक पत्ता लागेपछि नेपाल सरकारले किशोरीहरूलाई पाठेघर क्यान्सरबाट जोगाउन खोप लगाउने, ३० देखि ४९ वर्ष प्रजनन् उमेर समूहका सबै महिलाहरूको पाठेघर जाँच गर्ने र निःशुल्क उपचार व्यवस्था गरिएको हो ।
दैलेख
प्रतिक्रिया