भैरहवाबाट पाल्पा स्याङ्जा हुँदै पोखरा जोड्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा भूमिगत सडक छिचोलिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकको माथिल्लो सिद्धबाबा मन्दिरदेखि बुटबल पावर हाउससम्म १ हजार १२६ मिटर भूमिगत सडक निर्माणको काम ७ अर्ब रुपैयाँ लागत स्टिमेटमा २०७९ फागुनदेखि आरम्भ गरिएको थियो । यो भूमिगत सडकले ४ किलोमिटर लामो घुम्ती तथा जोखिमयुक्त सडकको लम्बाइलाई १.१२६ किलोमिटरमा झार्नेछ । सुक्खायाममा समेत पहिरो गइरहने यस क्षेत्रमा धेरै दुर्घटना हुने भएकाले मृत्युमार्गसमेत भन्ने गरिन्छ । जसका कारण बुटबलबाट पोखरा जाने धेरैजसो सवारीसाधन नारायणगढ–मुग्लिन हुँदै निकै लामो दुरी तय गर्छन् ।
सुरुङ छिचोलिए पनि सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने गरी सम्पन्न हुन अझै ६ महिना लाग्ने जनाइएको छ । बुटबलबाट कालीगण्डकी करिडोर हुँदै मुक्तिनाथ तथा मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग पुग्न पनि यही भूमिगत सडक प्रयोग हुनेछ । लुम्बिनी र गण्डकी प्रदेशको आर्थिक तथा पर्यटकीय विकासमा यो भूमिगत सडक कोशेढुंगा हुने अपेक्षा गरिएको छ । खास गरी बुटबल र तानसेनलाई आपसमा जोड्न यो वरदान सावित हुनेछ ।
यो सुरुङको ब्रेक थ्रु कार्यक्रम गत पुसको अन्तिम साता गर्ने तयारी आयोजनाले गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण २ साता पछि सारेर शुक्रबार गरिएको हो । तर, प्रधानमन्त्री ओली कार्यक्रममा भौतिक रूपमा उपस्थित हुन भने सकेनन् । भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब नेपाल भूमिगत सडक युगमा प्रवेश गरिसकेको बताए । भूमिगत सडक निर्माणलाई अब सरकारले अभियानकै रूपमा सुरु गर्ने प्रधानमन्त्री ओलीले बताए । ‘नेपाल बन्दै छ’ भन्ने सन्देश निर्माणधीन भूमिगत सडकहरूले दिइरहेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले भने, ‘पहिरो जाने पहाडहरू चढ्दै गाडी घुमाएर मनमा दुर्घटनाको त्रास बोकेर यात्रा गरिरहनुपर्ने छैन । सुरुङ मार्गबाट ओल्लो बेँसीबाट पल्लो बेँसी पुग्न सक्छौँ ।’ प्रधानमन्त्री ओलीले भनेको कुरा सत्य हो । ढिलै भए पनि नेपाल भूमिगत सडकको युगमा प्रवेश गरिसकेको छ । आजभन्दा १०६ वर्षअघि अर्थात् १९७५ सालमा मकवानपुरको चुरियामाईमा ५०० मिटर लामो भूमिगत सडक नेपालको आफ्नै प्रविधिले निर्माण भएको थियो । त्यतिबेला एसियाका कुनै पनि देशमा भूमिगत सडक बनेका थिएनन् ।
हाम्रो देश पहाडी मुलुक हो । एउटा उपत्यका तथा बेँसी क्षेत्रलाई अर्को उपत्यका तथा बेँसी क्षेत्रसँग जोड्न भिराला पहाड खोतलेर सयौँ घुम्ती तथा मोड भएका सडक निर्माण भइरहेका छन् । जसका कारण वन विनाश, जग्गा जमिनको विनाश, भूक्षय, सडक दुर्घटना जस्ता समस्या निम्तिने गरेका छन् । समय र इन्धनको कहालीलाग्दो खर्च त छँदै छ । तर, भूमिगत सडकले यी सबै समस्याबाट मुक्ति दिन्छ । पहिलो कुरा त एउटा उपत्यका र अर्को उपत्यकालाई निकै छोटो दुरीमा यातायातले जोड्न सकिने भएकाले समय र इन्धनको धेरै ठुलो बचत हुन्छ । दोस्रो कुरा वन विनाश, जग्गा जमिनको विनाश र भूक्षयको सम्भावना हुँदैन ।
भूमिगत सडक सीधा हुने भएकोले दुर्घटनको सम्भावना पनि न्यून हुन्छ । सवारीसाधन भीरबाट पल्टिने समस्या रहँदैन । भूमिगत सडक निर्माण गर्दा जग्गा जमिन मासिँदैन । वातावणीय विनाश पनि खासै हुँदैन । तर यति ठुलो सम्भावना हुँदाहुँदै पनि भूमिगत सडक निर्माणमा हाम्रो मुलक भर्खर बामे सर्दै छ । यसको पहिलो कारण आर्थिक अवस्था हो । किनकि भूमिगत सडक निर्माणको लागत धेरै नै महँगो पर्छ । नेपालमा अहिले निर्माणाधीन भूमिगत सडकको लागत प्रतिकिलोमिटर ७ अर्ब रुपैयाँ हाराहारीमा छ ।
प्रतिक्रिया