मैले लगाएको गुन केपीले ७ जुनीमा पनि तिर्न सक्दैनन्

दोस्रो पटक एमाले भित्रिन तयार भएका वामदेव गौतमलाई भित्र्याउन एमाले अनिर्णीत बनेको छ । अध्यक्ष केपी शर्मा ओलीसँग एमालेमा फर्किनेबारे गौतमले पटक–पटक कुराकानी गरेका थिए । निःसर्त एमाले बन्न तयार भएका उनलाई लिन एमालेले अनिच्छा देखाएको छ । नेकपा एकीकृत समाजवादी प्रवेशको तयारीमा रहेका उनलाई आफूतिर आउन भन्दै रोकेको एमालेले यतिबेला गौतमलाई ‘घरको न घाटको’ बनाएको छ । एकता गर्ने भनिएको अन्तिम चरणमा सचिवालय बैठकले ‘वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने’ भनेपछि एकता यता न उता भएको हो । एमाले बन्न तम्तयार रहेका गौतम यतिबेला एमालेकै कारण रनभुल्ल परेका छन् । एमालेसँग एकता प्रयास र सिर्जित वातावरणका विषयमा केन्द्रित रहेर गौतमसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवाद

वामदेव गौतम

एमालेसँगको एकता अभियानको प्रक्रिया कहाँ पुग्यो ?

एमालेले हामीलाई प्रवेश पनि नदिने भयो । समाहित पनि नगर्ने भयो । एकीकरण पनि नगर्ने भयो । एमालेले विभिन्न समयमा हामीलाई खुसी बनाउन सहकार्य भनेर २–४ शब्द राखेर छलफल गर्ने, त्यसपछि पठाइदिने । मित्रता र सहकार्य कायम राख्ने, तर एकता नगर्ने भन्ने कुरा बाहिर आएको छ । आधिकारिक रूपमा मलाई पनि त्यही जानकारी गराएका छन् । अहिलेका लागि एमालेसँगको एकता गर्ने भनिएको विषय यत्ति हो । अब यो कहाँ पुग्यो, के हुँदै छ, उहाँहरूलाई नै थाहा होला ।

यस्तो निर्णयले राजनीतिक इमान कायम रहन्छ ? झन् अन्योल भएन र ?

यसबाट केही पनि हुँदैन । सहकार्य पनि हुँदैन । एमालेले एकता राष्ट्रिय अभियानसँग कुनै पनि किसिमको सम्पर्क राखेजस्तो गर्ने, तर सम्पर्क केही पनि नराख्ने र अलमल्याइरहने भन्ने कोणबाट यस्तो गरेको बुझिएको छ । यो एउटा जिम्मेवार पार्टीका लागि के हो, के गर्नुपथ्र्यो भन्न सकिन्न । हाम्रो तर्फबाट सबै सकारात्मक थियो र छ पनि । अब अन्योल बनाउने नबनाउने उहाँहरूको कुरा हो । एमाले जस्तो पार्टीबाट यस प्रकारको व्यवहार होला भन्ने लागेको थिएन ।

तपाईंलाई मझधारमा ल्याएर छाडिदिने र राजनीतिक करियर धरापमा पार्ने नियत थियो भन्ने लाग्छ ? कि राजनीतिक बेइमानी मान्नुहुन्छ यसलाई ?

हाम्रो अभियानले निर्णय नै गरेर राजनीतिक बेइमानी नभन्दासम्म म व्यक्तिगत रूपमा भन्दिनँ । किनभने केही साथी यता, कोही उता गए । साथीहरूलाई असन्तुष्ट बनाएर एक्लै बस्न मिल्दैन । जहाँसम्म सहकार्यको कुरा छ, त्यो सहकार्य गर्न समूहका तर्फबाट अन्य साथीहरू जानुहुन्छ । मचाहिँ केपी ओलीले आफैँले नबोलाउँदासम्म जान्नँ । त्यसैले यो विषयमा धेरै टिप्पणी गर्नुपर्छ भन्ने लाग्दैन । जे–जे भइरहेको छ, सबैलाई थाहा छ ।

समाजवादीसँग एकता हुनै लाग्दा त्यो रोकेर एमाले बनाउन खोजियो, अहिले जे गरिँदै छ, कतै नजाऊन् भनेर रोक्न त होइन ?

उहाँहरूले गरेकै त्यही हो, यसमा दुईमत नै छैन । यी सबै कार्य हेर्दा र मैले बुझ्दा के देखिन्छ भने, केपी ओलीले वामदेव र वामदेवको समूह एमालेमा ल्याऊँ भनेका रहेछन् । तर, त्यहाँ रहेका मेरा समकालीन र मपछिका नेतालाई शंका लागेछ । वामदेवको भूमिका र सक्रियताले डराएर उनीहरूले ‘वामदेवसँग के ताकत छ । के शक्ति छ ? अब त वामदेवसँग केही पनि छैन । तिनलाई दया गर्नुपर्ने के आवश्यकता छ ? त्यसो भएर अहिलेलाई अलमल्याउने हो’ भनेछन् ।

अनि केपीले ‘धेरै पटक कुरा गर्नुभयो, पुरानै नेता हो, पार्टीमा आउँछु भन्नुभएको छ । अब यो विषयलाई कसरी टुंग्याउने हो, तपाईंहरूलाई जिम्मा दिएँ, के गर्नुहुन्छ’ भनेछन् । त्यसपछि ‘सहकार्य भनौँ, त्योभन्दा ठुलो के हुन्छ’ भनेछन् अरू नेताहरूले । सहकार्य भनेको हामीलाई पनि ठिकै छ । सहकार्य भनेको त बराबरी शक्तिका बीचमा हुन्छ वा बराबरी हैसियतका आधारमा हुन्छ । सहकार्य भनेको बराबरीको साथी मिलेर काम गर्ने भनेको हो ।


अब हाम्रा केही साथीले एमालेसँग सहकार्य गर्दै हुनुहुन्छ । अब हामी एमालेसँग मात्रै होइन, आफ्नै ढंगले जो कोहीसँग सहकार्य गर्न पाउँछौँ । नेकपा एकीकृत समाजवादी, माओवादी वा अरू कसैसँग पनि सहकार्य गर्न हामी स्वतन्त्र छौँ । एमालेले भनेको सहकार्यलाई मैले केही मान्यता दिएको छैन । त्यसको पछि म लाग्दिनँ ।

तपाईंमा एमाले हुने जुन उत्साह थियो, एमालेको पछिल्लो निर्णयपछि निराश बन्नुभयो कि ?

यसले निराशा पैदा भएको त छैन । तर, केही अवरोध भने सिर्जना भएको छ । समाजवादीसँग एकताका लागि अत्यन्त हार्दिकतापूर्वक प्रक्रिया अघि बढेको थियो । धेरै हिसाबले सबै वातावरण बनेको थियो । एमालेसँग एकता गर्ने भनेपछि त्यहाँ पर्खाल लाग्यो । केही साथीहरूको आग्रहमा माओवादीसँग पनि एकता हुन सक्छ भनेका थियौँ, त्यहाँ पनि पर्खाल लाग्यो ।

सबैसँग कुरा भइरहँदा मैले एमाले रोजेँ । तर, एमाले तयार नहुँदा अन्त जाने भन्ने कुरा आउँछ ? त्यो त भएन नि ! वातावरण मिल्दा एमाले रोज्ने, वातावरण नमिल्दा हामीतिर भन्छन् नै । अहिले त्यो स्थिति सिर्जना भएको छ । केही अवरोध भने भएकै हो । यसलाई कसरी लिने भन्ने मात्रै हो ।

एमालेप्रतिको तपाईंको समर्पणमा राजनीतिक बेइमानी भयो भन्ने ठान्नुहुन्न ?

त्यस प्रकारको शब्द म प्रयोग गर्दिनँ । एमालेले भनेझैँ उसँग सहकार्यमा जान्नँ । अरू कसैसँगको सहकार्यमा जान्छु । अब एमालेबाहेक अरूसँग मेरो सहकार्य हुन सक्छ । एमालेसँग भने सहकार्य हुँदैन । यसमा कसले इमान देखायो वा अरू के ग¥यो समयले बताउँछ । राजनीति गर्ने पार्टी र नेताले राजनीतिक इमान पालना गर्नुपर्छ । म त जे बोल्यो त्यही गर्ने, अरूलाई धेरै विश्वास गर्ने र नसक्ने र नहुने कुराको पछि नलाग्ने स्वभावको मान्छे हुँ । अरू कसलाई के ठान्नु !

अब एमालेसँग एकताको च्याप्टर क्लोज भएको हो त्यसो भए ?

एमालेले हाम्रो अभियानसँग एकता गर्न चाहेन । उसको पछिल्लो निर्णय र व्यवहारले एकता चाहँदैन भन्ने हाम्रो बुझाइ हो । उहाँहरूकै कारण एमालेसँगकोे एकताको च्याप्टर क्लोज भयो । उहाँहरूले पार्टीमा निर्णय नै गरेर सहकार्य भन्नुभएको छ । सहकार्य भनेको मिलेर गर्ने हो । त्यही मिलेर गर्ने कार्यका कारण सहकारीको नाममा देश भ्रष्टचारले चुर्लुम्म छ । अब त्यस्तोको पछि लागिँदैन । उहाँहरूले सहकार्य हो कि सहकारी के गर्नुहुन्छ ।

त्यसो भए समाजवादी वा अन्य वाम दलसँगको एकताको ढोका खुल्यो होला नि त ?

हामीले पहिला जो–जोसँग एकताका लागि वार्ता गरेका थियौँ, ती ढोका हाम्रा तर्फबाट बन्द भएका छैनन् । तर, एमालेसँग वार्ता सुरु भएपछि भने कसैसँग कुरा भएको छैन । हामी एमाले हुने भनेर लाग्यौँ, अध्यक्षले नै अब एक हुने हो भन्नुभयो, होला त भनेर लाग्यौँ । अब फेरि एमाले हुने भनेर ढुक्क थियौँ ।

एकातिर एमालेसँग एकता गर्ने भन्ने, अनि त्यस्तो बेला एकै पटक सबैतिर कुरा गर्न हुँदैन भनेर हामी बस्यौँ । त्यो राजनीतिक रूपमा पनि गर्न हुँदैनथ्यो । त्यसैले मैले बोलेँ पनि, अब एमाले हुने हो भनेर । तर, मैले बुझे र बोलेजस्तो परिणाम भएन । म त सबैलाई झट्ट बिश्वास गर्छु र त्यसैका आधारमा बोल्छु । उहाँहरू त त्यसरी लाग्नुभएन । त्यसैले हाम्रो अरू वामसँग एकताका लागि छलफल कुराकानी हुने नै छ ।

पहिले एकता नै भनिएको भए पछि कसरी सहकार्यको निर्णय भयो त ?

कुनै पनि राजनीतिक पार्टीले गर्ने नहुने काम हो यो । सहकार्य गर्ने भन्नुभयो । त्यो भनेको त सँगै बस्ने भनेको हो । तर, सँगै बस्न उहाँहरूले बोलाउनु हुन्न, त्यो मैले बुझेको छ । ‘फलानाको त मुखै हेर्न मन लागेन, फलानाको मुखै हेर्न नपरोस्’ भन्छन् नि, त्यस्तै हो यो भनेको । यो त राजनीतिक पार्टीको अराजनीतिक विचार गरेर अल्मल्याउन खोजेको होे । एमाले हामीले राखेको नाम हो । त्यो नाम राख्न अहिले एमालेमा भएका नभएका दिवंगत भएका धेरै नेताको योगदान छ । त्यो पार्टी बनाउन धेरैले समय लगाएका छन् । अरूको त्यो पार्टीमा जति हक अधिकार छ, थोरै भए पनि मेरो बढी छ ।

माक्र्सवादीसँग एकता गरेर एमाले बनाउनेमा म, गोविन्द ज्ञवाली र साहना प्रधानको ठुलो भूमिका छ । त्यो इतिहास हेरे हुन्छ, आज मदन भण्डारी छैनन्, गोविन्द दाइ छन् । सोधे हुन्छ– कस्तो अवस्थामा माक्र्सवादीसँग एकता गरेर एमाले बनाएका हौँ । मेरो योगदान र भूमिकालाई एमालेले बिर्सन मिल्दैन ।

नवौँ महाधिवेशनमा ओलीलाई अध्यक्ष, पछि संसदीय दलको नेता र प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेल्नुभयो । आज किन यस्तो अवस्था आयो होला त ?

त्यति मात्रै होइन । नवौँ महाधिवेशनको संघारमा केपी ओलीलाई बिरामी भएर बैंकक लगिएको थियो । त्यहाँबाट उपचार सम्भव छैन, बाँच्न गाह्रो छ । त्यसो भएकाले हाम्रो समूहको तर्फबाट अब वामदेवलाई पार्टी अध्यक्ष उठाउनुप¥यो भनेर त्यहाँबाट खबर आएछ । उताबाट खबर आएपछि विद्या भण्डारीले मलाई भन्नुभयो, ‘यस्तो खबर आयो के गर्ने ?’ मैले भनेँ, ‘जेसुकै होस्, उहाँ उपचार गर्न जानुभएको छ । आउँदा कि सास आउँछ कि लास आउँछ । लास आएछ भने आएपछि विचार गरुँला । सास आएछ भने मैले बोकेर वा ह्विलचेयरमा राखेर भए पनि पार्टी अध्यक्ष बनाउँछु, यो मेरो जिम्मा भो ।’

उहाँ सन्चो भए पनि ह्विलचेयरमा बसेर आउनुभयो । ह्विलचयेरमै बसेर सम्बोधन गर्नुभयो र पार्टी अध्यक्ष बनायौँ । मैले केपीलाई जस्तो गुन लगाएको छु, त्यो गुन उहाँले ७ जुनीसम्म पनि तिर्न सक्नुहुन्न । अब सँगै हिँड्ने नहिँड्ने उहाँको कुरा हो । मैले हरेक क्षणमा इमानपूर्वक काम गर्दै आएको छु ।

अब के गर्नुहुन्छ ?

म यही पार्टीलाई सबै हिसाबले अगाडि बढाउँछु । आफ्नै अभियान छ, त्यसको नाम परिर्वतन गरेर व्यवस्थित रूपमा पार्टी चलाउँछौँ । हाम्रो पार्टी अगाडि बढ्यो भने बढिहाल्यो । त्यसो भएन भने कुनै पार्टीमा हामी जान्छौँ । त्यतिबेला पनि अरू धेरै च्वाइसको पार्टीमध्ये एमाले पनि रहन्छ । एमालेले हामीतिर मुख फर्काउनुभयो भने मेरो मनमा एमाले छ । तर, हिजो एमालेमा रहँदा र आज पनि सबै मेरो ईष्र्या गरिरहने व्यक्तिले मेरो विरोध गर्नुभएछ । कसरी वामदेवलाई बिगार्न सकिन्छ भनेर लाग्नेले नै सबैभन्दा बढी मेरो विरोध गर्नुभएछ । एमालेको सचिवालय बैठकमा सहकार्य भन्ने शब्द सिर्जना गरेको चाहिँ महासचिव शंकर पोखरेलले हो रे ! उहाँले उठेर केही न केही त भनौँ न उनीहरूलाई अलमल्याउने शब्द प्रयोग गरौँ भनेर सहकार्य भन्नुभएछ । त्यसपछि यही लेखौँ अलमल्याउन भनेर लेखेको रे ! मैले पाएको सूचना हो ।

अब समाजवादीसँग कुरा हुन्छ कि हुँदैन ?

किन नहुने ? हुन्छ । कुरा गर्ने हो । त्यस्तो कुरा बन्द गर्ने पनि हुन्छ ? म साथीहरूलाई सबै पार्टीमा एकताका लागि कुरा गर्न पठाउँछु ।

प्रतिक्रिया