३ पुस्ताले धानेको मधेसको प्रख्यात दही पसल

जनकपुरधाम । जनकपुरधाम जानकी मन्दिरले चिनिन्छ । जानकी मन्दिरबाहेक जनकपुरधामलाई पान, लस्सी, जिलेबी, घिउबर जस्ता उत्कृष्ट खानेकुराबाट पनि चिन्दै आइएको छ ।

जनकपुरधाममा एउटा यस्तो ठाउँ पनि छ, जसले ३ पुस्तादेखि आफ्नो स्वादले मधेसभरका स्वादका पारखीलाई सो ठाउँमा पुग्न बाध्य बनाउँदै आएको छ । यहाँको इतिहास र परम्परामा गहिरो नाता राख्ने एउटा प्रतिष्ठित नाम हो, बिन्धिको ‘दही पसल’ । यो दही पसल केवल एक व्यापार मात्र होइन, ३ पुस्ताको संघर्ष, समर्पण र परिश्रमको परिणाम हो । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धिमा रहेको उक्त दही पसल ३ पुस्ताको संघर्ष र परिश्रमको प्रतीक हो र त्यसैका आधारमा चल्दै आएको छ ।

यो दही पसलको सुरुवात एउटा पुरानो पान पसलबाट भएको थियो । जहाँबाट मोहन मण्डल धानुकले आफ्नो व्यावसायिक यात्रा आरम्भ गरेका थिए । उनले आफ्नो परिवारको पेट पाल्नका साथै यहाँबाट भविष्यका लागि केही सकारात्मक बनाउने सोच पनि राखेका थिए । पान पसलमा बिताएका ती दिनहरू उनी र उनका परिवारका लागि निकै संघर्षपूर्ण थियो । आज तीन पुस्ताको दही पसलले जनकपुरधामको एक प्रमुख व्यवसायको रूपमा ख्याति पाएको छ यो उनको परिवारको लागि सुखद पक्ष हो ।
पाँच दशकभन्दा बढीको परिश्रमले यो दही पसल जनकपुरधामको एक प्रमुख व्यवसायको रूपमा स्थापित भएको छ । यहाँ पुग्ने प्रत्येक ग्राहकको ओठमा यस पसलको नाम मिठासको रूपमा गुञ्जन्छ ।

मोहन मण्डल धानुक एक सरल र मेहनती व्यक्ति थिए । आफ्नो जीवनका आरम्भिक वर्षहरूमा उनले पान पसलबाट व्यवसाय सुरुवात गरेका थिए । त्यो बेला व्यापार गर्ने तरिका र बजारको अवस्था अहिले जस्तो थिएन । व्यापारले उनलाई कहिलेकाहीं निराश पारे पनि उनले कहिल्यै हार मानेनन् । आफ्ना छोरा विश्वनाथलाई उनले व्यवसायमा सघाउनका लागि प्रेरित गरिरहे ।
‘मेरो पिता मोहनले पान पसलबाट व्यवसायको सुरुवात गरेका थिए,’ ९३ वर्षीय विश्वनाथ मण्डल भन्छन्, ‘म उहाँलाई पसलमै सघाइरन्थे ।’ मोहनको मेहनत र विश्वनाथको लगनशीलताले व्यापारको क्षेत्रमा स्थिरता ल्याउन सफल भयो । विस्तारै मोहन मण्डलको पान पसलबाट उदाएको थियो, एक सफल दही पसल । जुन अब जनकपुरधामका घर–घरमा प्रख्यात छ । सबैले पसलको नाम स्वाद स्मरण गर्छन ।

२०२६ सालमा विश्वनाथ मण्डलले आफ्नो पिता मोहन मण्डलको पान पसलबाट दही पसल सञ्चालन गर्न थाले । त्यो समय एकदमै कठिन थियो । तर, विश्वनाथ र उनका छोरा वृजलालले जसरी व्यवसायिक चुनौतीहरूको सामना गरे त्यो एक प्रेरणाको रूपमा आज पनि छ ।

‘त्यतिबेला दही पसल सञ्चालन गर्नु ठूलो चुनौती थियो,’ विश्वनाथ कठिनका दिन सम्झन्छन्, ‘तर कडा मेहनत र विश्वासको परिणाम स्वरुप पसल बढ्दै गयो । त्यो समयका ठूला र प्रतिष्ठित व्यक्तिहरू हाम्रो पसलमा आएर दही खान्थे, त्यसपछि हाम्रो दहीको प्रतिष्ठा देशभर फैलियो ।’ उनको पसलको त्यो क्रेज आज पनि उत्तिकै छ ।

बिन्धिको दही सस्तो र स्वादिलो मात्र नभई प्रख्यात पनि भयो । नेपालभरका विभिन्न शहर र गाउँका ग्राहकहरूले बिन्धिको दही खोज्न थाले । विश्वनाथ र उनका छोरा वृजलालले एकसाथ मिलेर दही पसललाई सम्हाले । वृजलाल पनि पितासँगै पसलमा सघाउँथे र यसैले परिवारलाई आर्थिक समृद्धि दिएको थियो ।

२०७० सालदेखि विश्वनाथ मण्डलको नाती रञ्जित मण्डलले पसलको जिम्मेवारी सम्हाल्नु सुरु गरे । ४० वर्षीय रञ्जितले परम्परागत व्यापारलाई निरन्तरता दिँदै दही पसललाई अझ बढाउने योजना बनाए । तर, वर्तमान समयको चुनौतीहरू भने फरक देख्छन् रञ्जितले । अहिले व्यवसायको अवस्था कमजोर हुँदै गएको र दहीको माग पनि घटेको उनको भनाइ छ ।

रञ्जितले भने, ‘पहिले हामीलाई ७० किलो दही दैनिक बिक्री हुने गरेको थियो । अहिले जाडो महिनामा ३० किलो मात्र बिक्री भइरहेको छ ।’ उनले दुधको आपूर्ति गर्न समस्या भइरहेको सुनाए । बजारमा प्रतिस्पर्धा बढ्दै गएको र ग्राहकहरूको संख्या घट्दै गइरहेको उनको भनाइ छ । तैपनि रञ्जितले व्यवसायलाई निरन्तरता दिने प्रयास जारी राखेका छन् । उनले व्यवसायलाई अगाडि बढाउन ग्राहकहरूको चासो अनुसार पेडा र खुवा बनाउन पनि सुरु गरेका छन् । उनी समय र मागसँगै वयवसायलाई नयाँ स्वरुप दिन चाहनछन् ।

‘हाम्रो दहीको नाम आज पनि प्रसिद्ध छ,’ रञ्जित भन्छन्, ‘तर त्यस्तो ठूलो ग्राहक संख्या अहिले छैन । बाजेको पालामा जस्तै ग्राहकहरू अब आउँदैनन् । अहिले २५ प्रतिशत मात्र ग्राहक आउँछन् ।’ रञ्जितले आफ्ना सन्तानहरूलाई यो व्यवसायमा प्रवेश नगरी आफ्नो पढाइमा ध्यान दिन र जागीरतर्फ लाग्न सल्लाह दिएका छन् । अहिलेको प्रतिस्पर्धी बजारमा परम्परागत व्यापारले छिटो मुनाफा दिन नसक्ने भएकोले सन्तानहरूलाई अर्को क्षेत्रमा करियर बनाउन प्रेरित गर्नु नै सही रहेको रञ्जितको बुझाइ छ ।
रञ्जित २०६२ सालमा विदेश पनि गएका थिए । उनका लागि विदेश जानु र नयाँ अवसरहरूको खोजी गर्नु भनेको आफ्नै परिवारको भविष्यलाई सुरक्षित बनाउनका लागि एक प्रयास थियो । तर, एजेन्टको गल्तीका कारण उनले विदेशमा दुई वर्ष मात्रै बिताए र, पछि नेपाल फर्किए ।

‘जब म फर्किए, मेरो हजुरबुवा शारीरिक रूपमा कमजोर भएको देखेपछि मैले पसलको जिम्मेवारी लिन थाले,’ रञ्जित सम्झन्छन् । रञ्जितको यो कदमले परिवारको व्यवसायलाई थप मजबुती दिएको छ । आज जे छ त्यसमा उनको मिहनत र विश्वास पनि एक हो ।
रञ्जितले आफ्नो हजुरबुवाको पसललाई निरन्तरता दिँदै आएका छन् । तर, उनी अहिले व्यवसायसँग पूर्ण सन्तुष्ट भने छैनन् । उनले भने, ‘अहिले व्यापार कमजोर बन्दै गएको छ । पहिलाको जस्तो छैन । भविष्यमा पनि यस्तै देखिन्छ सायद । मेरो सन्तानलाई मैले अब दही पसलको कारोबारमा आउन सल्लाह दिने छैन,’ उनले भने, ‘म उनीहरूलाई आफ्नो पढाइमा ध्यान दिन र जागीरतर्फ लाग्न सुझाउँछु ।’ उनी आफ्ना सन्ततीको भविष्य दहि देख्दैनन् र अन्य भविष्य खोज्न सुझाउछन् ।

तीन पुस्ताको यो यात्रा सरल होइन । मोहन मण्डलको पान पसलदेखि विश्वनाथ र वृजलालको दही पसलको सफलताको यात्रा र रञ्जितको संघर्षले यसलाई जिवन्त राखेको छ । व्यापारको बदलिँदो प्रवृत्तिलाई हेरेर रञ्जितले आफ्नो परिवारलाई भविष्यका लागि नयाँ दिशा दिने प्रयास गरेका छन् ।

दही पसलको यो यात्रा तीन पुस्ताको तपस्या, संघर्ष र परिवारको साथका कारण मात्र सम्भव भएको हो । यद्यपि व्यवसाय कमजोर भएको महसुस भइरहेको छ । तर, यो दही पसलको नाम र प्रतिष्ठा सधैं जनकपुरधाममा जीवित रहने छ । यस पसलमा तीन पुस्ताको परिश्रम र समर्पण गुञ्जिरहेको छ ।

प्रतिक्रिया