गत वर्ष सुधारोन्मुख देखिएको नेपालको वैदेशिक व्यापार यस वर्ष निराशाजनक देखिएको छ । गणितीय आधारमा हेर्दा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा आयात र निर्यात दुवै बढेको छ । आयात र निर्यात बढ्नुलाई सकारात्मक मान्नुपर्ने हुन्छ । तर, कुन कुन वस्तुको आयात बढ्यो ? र कुन–कुन वस्तुको निर्यात बढ्यो ? भन्ने विश्लेषण गर्ने हो भने वैदेशिक व्यापार नकारात्मक दिशातर्फ गएको देखिन्छ । किनकि विदेशबाट सनफ्लावर, पाम दाना, भटमास स्वदेश ल्याउने र सरकारले सहुलियत दरमा उपलब्ध गराएको बिजुली प्रयोग गरी पेलेर तेल निकाली भारत निर्यात गर्ने धन्दा फस्टाएको छ । जसका कारण गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको यो ६ महिनामा वैदेशिक व्यापार बढेको देखिएको छ ।
किनकि चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विदेशबाट करिब २८ अर्ब रुपैयाँ बराबरको भटमास, सनफ्लावर र पाम दाना आयात भएको छ भने यिनै वस्तुबाट निकालिएको तेल करिब २५ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । यही धन्दाका कारण आयात र निर्यात बढेको हिसाब निस्केको हो । जबकि गत वर्ष भारतले आँखा नचिम्लेकाले नेपालमा यस्तो धन्दा फस्टाउन पाएको थिएन । जसका कारण आयात र निर्यातको अंक केही घटेको देखिएको थियो । छिमेकी देश भारतले मूल्य अभिवृद्धिको तुलनामा प्रदूषण बढी हुने भटमास, सनफ्लावर र पाम दाना आयातमा बढी भन्सार लगाएको छ । तर, नेपालले भने यस्ता वस्तुमा कम भन्सार लगाएको छ । त्यसैले नेपालका व्यापारीहरूले तेस्रो मुलुकबाट भटमास, सनफ्लावर र पाम दाना आयात गर्ने र त्यसबाट तेल निकाली भारत बिक्री गर्ने गरेका छन् । जसका कारण नेपालको आयात निर्यातको अंक बढ्ने गरेको छ ।
तर, यसले देशलाई आर्थिक लाभ भने भएको छैन । बरु त्यस्ता उद्योगका कारण उत्पन्न हुने प्रदूषणको मूल्य नेपालले चुकाउनुपरेको छ । गत वर्ष निर्यातको अंक घटे पनि देशलाई आर्थिक रूपमा लाभ पुगेको थियो । किनकि स्वदेशी स्रोतबाटै उत्पादित सिमेन्ट, प्लाइउड, अलैँची, अदुवालगायतको निर्यात बढेको थियो । तर, यस पटक स्वदेशी स्रोतबाट उत्पादित वस्तु निर्यातमा भारतीय अवरोध बढी भयो, विदेशी आयातित स्रोतबाट उत्पादित वस्तु निर्यातमा भारतले आँखा चिम्लियो । आर्थिक क्षेत्र चलायमान हुन थालेको आँकडा कागजमा देखाउन सरकारलाई सजिलो भयो, तर व्यापार घाटा भने वृद्धि भयो ।
अघिल्लो आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ खर्ब ९३ अर्ब रुपैयाँ व्यापार घाटा भएकामा चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब २३ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । यसको मुख्य कारण भटमास, सनफ्लावर र पाम दानाको धन्दा हो । यस्तो धन्दा रोक्नेतर्फ सरकार समयमै सचेत हुनु जरुरी छ । यस्तो धन्दाले देश परनिर्भर बन्न सक्छ । स्वदेशभित्र तोरी खेती हुनै छाड्यो । विगतमा धानबाली पाक्नासाथ अधिकांश खेतमा तोरी छर्ने प्रचलन थियो । मकैबाली भित्र्याउनासाथ अधिकांश बारीमा भटमास छर्ने प्रचलन थियो । जब विदेशबाट कच्चा तेल ल्याएर प्रशोधन गरी भारतमा समेत निर्यात गर्ने धन्दा फस्टाउन थाल्यो, तब किसानले तोरी छर्नै छाडे, धान भित्र्याएपछि धान रोप्ने अर्को सिजन नआउँदासम्म खेत बाँझै रहन थाल्यो ।
समस्या यति मात्रै छैन । केही वर्ष अघिसम्म नेपालको लसुन भारत निर्यात हुन्थ्यो । अहिले नेपालमा वार्षिक २० अर्ब रुपैयाँभन्दा बढीको लसुन चीनबाट आयात हुन थालेको छ । जसमध्ये ९० प्रतिशत नेपाली उत्पादनको छाप लगाएर भारत जाने गरेको छ । यही हालत हो भने नेपालमा तोरी तथा भटमास खेती जस्तै लसुन खेती पनि मासिन सक्छ । सरकारमा रहनेहरूले वैदेशिक व्यापार बढेको हिसाब निकालेर तुष्टि लिनका लागि यो धन्दा ठिकै होला, तर देशको अर्थतन्त्रका लागि यस्तो धन्दा ज्यादै गलत हो ।
प्रतिक्रिया