डिलालाको ह्याट्रिकमा म्यानचेस्टरको सफलता

लन्डन । अमाद डिलालाको सनसनीपूर्ण ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियरसिपको बिहीबार राति भएको खेलमा पुछारको टोली साउथ हम्टनलाई ३–१ ले हराएको छ । खेलको ४३ औँ मिनेटमा अगार्टाले आत्मघाती गोल गरेपछि हाम्टनले सुरुवाती अग्रता लिएको थियो । खेलको अन्तिम समयमा सम्हालिन नसक्दा नमिठो हारको सामना गरेको हो ।

गत साता मात्र ५ वर्ष ६ महिनाको नयाँ सम्झौता गरेका डिलालाले खेल सकिन ९ मिनेट बाँकी छँदा बराबरी गोल गरे । इन्जुरी समयको पहिलो मिनेटमा उनले क्रिस्चियन इरिक्सनले दिएको पासमा अर्को गोल थपे। त्यसको लगत्तै साउथ हम्टनका खेलाडी बिचको असमझदारीको फाइदा उठाउँदै खाली पोस्टमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् । त्यसैगरी, बिहीबार राति नै भएको अर्को खेलमा ब्रिङटनले इप्सबिचलाई २–० ले हराएको छ । ब्रिङटनका लागि कारु मिटुमा र जर्जिन्हो रुटरले गोल गरे ।

रियल म्याड्रिडको फराकिलो जित

रियल म्याड्रिड कोपा डेल रे कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रियलले बिहीबार राति भएको खेलमा सेल्टा भिगोलाई ५–२ ले हराएको हो । निर्धारित ९० मिनेटको समय गोल रहित बराबरीमा सकिए पछि अतिरिक्त समयमा ब्राजिलका एन्ड्रिकले दुई गोल गरे ।

कुनै समय २–० ले पछि परेको सेल्टा भिगोले संघर्षपूर्ण कमब्याक गरेको थियो । सो टोलीका लागि इन्जुरी समयमा चेल्सीका पूर्व रक्षक माार्कोस अलान्सोले गोल गरे । केलिएन एम्बाप्पेले ३७औँ मिनेटमा गोल गर्दै रियललाई पहिलो अग्रता दिलाएका थिए । ४८औँ मिनेटमा भिन्सियस जुनियरले अर्को गोल गरे ।

८३औँ मिनेटमा जोनाथन बोम्पाले सेल्टा भिगोका लागि गोल गरे । तिनै बोम्पामाथि इन्जुरी समयमा फल प्रहार भ पछि सेल्टाले पाएको पेनाल्टी अवसरलाई गोलमा परिणत गरेको हो । अतिरिक्त समयको १८औँ मिनेटमा बेन्चबाट आएका एन्ड्रिकले रियललाई अग्रता दिलाएका थिए । त्यसको लगत्तै फ्रेड्रिको भेल्भार्डेले अर्को गोल थपे । १८ वर्षीय एन्ड्रिकले नै अन्तिम गोल गरे ।

अर्को खेलमा स्पेनिस कप विजेता एथ्लेटिको बिलबाओ ओसासुनासँग ३–२ ले हारेको छ । एइमार ओराजको गोलमा अग्रात लिएको ओसासुनाका लागि एन्टे बुडिमिरले दुई गोल गरे । परावित टोलीका लागि निको विलियम्स र ओस्कार डे मोरकोसले गोल गरे । रायो भलकानो माथि ३–१ को जित सहित रियल सोसिडाड पनि अन्तिम ८ मा प्रवेश गरेको छ ।

हालान्डको १० वर्षको सम्झौता

म्यान्चेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले क्लबसँग सम्झौता नवीकरण गरेका छन् । नयाँ सम्झौता अनुसार उनी सन् २०३४ सम्म सिटीमा रहनेछन् । उनले झन्डै १० वर्षको सम्झौता गरेका हुन् । २४ वर्षीय हालान्ड २०२२ मा बोरुसिया डर्टमन्डबाट सिटीमा आएका थिए । उनले सिटीमा ८७ खेलमा ७९ गोल गरेका छन् । उनले सिटीबाट ट्रेबलसमेत जित्न सफल भएका छन् ।

प्रतिक्रिया