बर्दिया । बर्दियामा ५ हजार ७६८ जना विद्यार्थीले विद्यालय छाडेको पाइएको छ । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार बर्दियामा ५ हजार ७६८ जना विद्यार्थीले विद्यालय छाडेको पाइएको हो ।
शैक्षिक वर्ष २०८० मा कक्षा १ देखि ९ कक्षामा पढ्ने विद्यार्थीको संख्या ८३ हजार ६७२ थिए । तर, शैक्षिक वर्ष २०८१ मा कक्षा २ देखि १० पुग्नुपर्ने विद्यार्थीमध्ये ५ हजार ७६८ जनाले विद्यालय छाडेको देखिएको हो । शैक्षिक सत्र २०८१ मा ७७ हजार ९०४ विद्यार्थी मात्र विद्यालय जाने गरेको शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत शेरबहादुर रोकाले बताए ।
संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक ग्यारेन्टी गरेको छ । तर, आर्थिक अभाव, कम उमेरमै विवाह हुने, लागुऔषधको बढ्दो प्रयोगले विद्यालय छाड्ने विद्यार्थीको संख्या बढ्दै गएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सूर्यबहादुर खत्रीले विद्यालय छाड्नुको प्रमुख कारणमा परिवारको आर्थिक अवस्था कमजोर भएका बालबालिकाले बालमजदुरका रूपमा काम गर्नु, रोजगारीको अवसर नहुँदा न्यून आय भएका परिवारका अभिभावक कमाउन जाँदा बालबालिकासँगै लैजाने, कम उमेरमै विवाह गर्ने, त्यसपछि विद्यालय जान लाज मान्ने तथा लागुऔषधको प्रयोग गर्ने बानी परेका विद्यार्थीहरू विद्यालय छाड्ने गरेको बताए ।
पढेर पनि रोजगारीको अवसर नहुनु, गरिबीका कारण किताबकापी किन्न नसक्नु, कोभिडपछि विद्यार्थीमा बसेको मोबाइलको लत र मोबाइलको चरम दुरुपयोगलगायत कारणले विद्यालय छाड्ने विद्यार्थीको संख्या बढेको बगलामुखी राधाकृष्ण थारू माध्यमिक विद्यालयका प्रधानाध्यापक मतिराम शर्माले बताए । उनले भने, ‘बुबाआमा तथा अभिभावक अशिक्षित भएका परिवारका विद्यार्थीले विद्यालय छाड्ने गरेका छन् । विशेष गरी कक्षा ८–१० मा पढ्ने विद्यार्थीले बढी विद्यालय छाडेका छन् ।’
जनता माध्यमिक विद्यालय रम्मापुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तीर्थराज पौडेलले विद्यार्थी टिकाइराख्न व्यावहारिक र जीवनोपयोगी शिक्षा पद्धति, विद्यालयमा शैक्षिक वातावरणको निर्माण, विद्यार्थीमैत्री अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताए । उनले विद्यार्थीका साथै अभिभावकलाई शिक्षाको महत्व बारेमा सचेतना जगाउन जरुरी रहेको बताए । उनले भने, ‘विद्यालय गएका आफ्ना छोराछोरीको पढाइबारे बुझ्न विद्यालय जाने गर्नुपर्छ । अभिभावक सचेत भएर बालबालिकाको अवस्था मात्र बुझ्ने हो भने पनि विद्यालयमा विद्यार्थी टिकाउन सकिन्छ । विद्यालय छाड्ने विद्यार्थीको संख्यामा कमी ल्याउन सकिन्छ ।’
प्रतिक्रिया