काठमाडौँ । सरकारले ‘तारे स्तरको होटल तथा पर्यापर्यटन रिसोर्ट’लाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग’मा सूचीकृत गरेको भन्दै होटल संघ नेपालले खुसी व्यक्त गरेको छ । काठमाडौँमा सम्पन्न होटल संघ नेपालको ४९औँ वार्षिक साधारणसभाले सरकारले गरेको निर्णयको स्वागत गरेको हो । सरकारले जारी गरेको ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ ले ‘तारे स्तरको होटल तथा पर्यापर्यटन रिसोर्ट’लाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग’मा सूचीकृत गरिएको संघले जनाएको छ ।
दशकौँ अघिदेखि होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता प्राप्त गर्नका लागि संघले गरेको अथक प्रयास र पहल सम्बोधन भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अध्यादेशले संशोधन गरेको ऐन बमोजिम तयार हुने निमावली र कार्यविधिमा तारे होटल वाहेकका अन्य होटलहरुले पनि सोही अनुरुपको सेवा सुविधाको व्यवस्था गर्न होटल संघ नेपालले माग गरेको छ ।
४० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि गर्ने उद्योगलाई उत्पादनमूलक उद्योगको परिभाषा भए अनुरुप होटलले प्रयोग गर्ने कच्चा पदार्थको घटीमा ४० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि गर्ने भएकोले सोही अनुरुपको व्यवहार हुन पनि संघले माग गरेको ।
यसैगरी संघको ४९औँ वार्षिक साधारणसभाले होटल संघ नेपालको विधानलाई संशोधन गरी सातै प्रदेश र सतहत्तरै जिल्लामा संघको सक्रिय उपस्थिति सहित सेवा प्रवाहको प्रभावकारिताको लागि संघीय संरचनामा लैजाने प्रस्ताव पनि पारित गरेको छ । सोही अवसरमा होटल संघ नेपालले सत्कार दिवस २०२५ को पनि आयोजना गरेको थियो ।
प्रतिक्रिया