अरुण चौधरीविरुद्धको रिट खारेज, जोगियो सांसद पद

काठमाडौँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका सांसद एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीविरुद्ध परेको रिट खारेज गरिदिएको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासले कैलाली–२ बाट निर्वाचित चौधरीविरुद्ध परेको रिट खारेज गरेको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजसालले उक्त रिट खारेज गरिदिएको हो । गत निर्वाचनमा चौधरी आफ्नो अपराध लुकाएर उम्मेदवार भएको भन्दै अधिवक्ता वसन्त जोशीले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा उनको सांसद पद खारेजीको माग गरिएको थियो ।

सर्वोच्चले सांसद चौधरीसँग निर्वाचन अधिकृत वा सम्बन्धित अदालतमा जाने वैकल्पिक कानुनी उपचारको मार्ग हुँदाहुँदै सर्वोच्च अदालतमा आएको भन्दै रिट खारेज गरिदिएको हो । रिट खारेजी हुने आदेशमा भनिएको छ, ‘अदालतमा दिन सक्ने वैकल्पिक कानुनी उपचारको मार्ग अवलम्बन नभएको परिप्रेक्ष्यमा अरुणकुमार चौधरीलाई प्रतिनिधिसभा सदस्य पदमा कायम रहने योग्यता नरहेको भन्न मिल्ने नदेखिएको हुँदा रिट निवेदन खारेज हुने ठहर्छ ।’ सर्वोच्चले रिट खारेज गरेसँगै चौधरीको सांसद पद जोगिएको छ ।

प्रतिक्रिया