काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौँ जिल्ला अदालतको आदेशबमोजिम धरौटी बुझाएर रिहा भएका छन् । काठमाडौँस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहका गर्न आदेश दिएको थियो ।
रिहा भएपछि लामिछानेले देशमा न्याय नमरेको भन्दै अदालतलाई धन्यवाद दिएका छन् । ‘सबै जनालाई धेरै धेरै धन्यवाद । म न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायालयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन ।’
अदालतले विभिन्न ३ वटा विषयलाई आधार लिँदै उनलाई धरौटी माग गरेको हो । इजलासको आदेशमा उल्लेख भएअनुसार रवि आफैँले सेयर खरिद गर्न चाहेको भन्दै गोर्खा मिडिया नेटवर्कमा निवेदन दिएको, सेयर होल्डर र प्रबन्ध निर्देशक हुनुअघि नै गोर्खा मिडियाको खातामा हस्ताक्षर चल्ने व्यवस्था देखिएको र स्वर्णलक्ष्मी सहकारीको ऋण तिर्न उनकै हस्ताक्षरमा चेक काटिएको देखिएका कारण तत्काल कसुरदार होइनन् भन्ने अवस्था नदेखिएकाले धरौटी माग गरिएको हो ।
आदेशमा भनिएको छ, ‘अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएकाले प्रस्तुत मुद्दाको प्रकृतिसमेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट ६० लाख रुपैयाँ नगद धरौट वा सोबराबरको जेथा जमानत दिए लिई तारेखमा राख्नू ।’
लामिछानेले अनुसन्धान अधिकारी र अदालतमा इन्कारी बयान गरे पनि उनीमाथि किटानी जाहेरी रहेको देखिएको आदेशमा उल्लेख छ । लामिछानेले अदालतमा आफू गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेको, गोर्खा मिडियाबाट सेयर खरिद गरेको नभई स्वेट सेयरबापत पाएको बयान दिएका थिए । गोर्खा मिडियाबाट राजीनामा दिँदा समेत सेयरबापतको पैसा नलिई सेयर हस्तान्तरण गरेको उनको दाबी थियो ।
तर, अदालतले उनी आफैँले निवेदन दिएर सेयर खरिद गरेको ठहर गरेको छ । ‘रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिमा बिक्रीमा रहेको १,८०,००० थान सेयर खरिद गर्न अनुमति पाऊँ भनी निवेदन दिई सेयर लिएको देखिँदा,’ आदेशमा भनिएको छ, ‘निजले उक्त प्रालिको सेयर खरिद गरिलिएको देखिई निज प्रतिवादी गोर्खा नेटवर्क मिडिया प्रालिको सेयर होल्डर एवं प्रबन्धक निर्देशकसमेत रहेको देखियो ।’
यस्तै, लामिछानेले गोर्खा मिडियाको सञ्चालक हुनुअघि नै ग्लोबल आइएमई बैंकको खातामा हस्ताक्षर चल्ने व्यवस्था रहेको आदलतले भनेको छ । ‘गोरखा नेटवर्क मिडिया प्रालिमा सेयर होल्डर एवं प्रबन्ध निर्देशक हुनुभन्दा अघि नै रवि लामिछानेसमेतको हस्ताक्षरबाट खाता सञ्चालन गरी गोरखा नेटवर्क मिडिया प्रालिको ग्लोबल आइएमई बैंकमा खाता खोली सञ्चालनमा ल्याएको, निज प्रबन्ध निर्देशक भएको बेलामा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य नरहेको गोरखा नेटवर्क मिडिया प्रालिको सोही खातामा उक्त सहकारी संस्थाबाट रकम आएको देखियो,’ आदेशमा भनिएको छ, ‘रवि लामिछाने र गितेन्द्रबाबु राईको नाममा ऋण खाता खोली रु. ४६,९८,०००/– फोर ह्विलर लोन र रु. ४६,४८,०००/– इको सेभेन सिटर भ्यान लोन लिएको, प्रतिवादी रवि लामिछानेको हस्ताक्षरबाट काटिएको चेकबाट रु.९०,१६,६६०/– स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ऋण भुक्तान गरेको, गोर्खा मिडिया नेटवर्क प्रा.लि.को खाताबाट प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखियो ।’
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पनि उनी ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । पोखराबाट रिहा भएका लामिछाने काठमाडौँ जिल्ला अदालतमा आफैँ उपस्थित हुने बताएपछि प्रहरीले पक्राउ गरेको थिएन । गत आइतबार अदालतमा उपस्थित भएका उनलाई थुनछेक बहस नसकिएपछि अदालतले न्यायिक हिरासतमा पठाएको थियो ।
धरौटी माग्न अदालतले लिएको आधार
प्रतिवादी रवि लामिछानेले निवेदन दिएर गोर्खा मिडियाको सेयर खरिद गरेको, सेयर होल्डर एवं प्रबन्ध निर्देशक हुनुअघि नै बैंक खातामा हस्ताक्षर प्रयोग भएको, निजकै एकल हस्ताक्षरमा काटिएको चेकबाट ९० लाख १६ हजार ६६० रुपैयाँ स्वर्णलक्ष्मी सहकारीमा ऋण भुक्तान गरेको देखिँदा अहिले नै प्रस्तुत वारदातमा कसुरदार होइनन् भन्न सक्ने अवस्था देखिएन
प्रतिक्रिया