काठमाडौँ । आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल बढ्दा कोसी प्रदेशमा घटेको छ । बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोसी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार कर्णालीमा १ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ, भने कोसीमा १ दशमलव ५५ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष २०७९–८० को तुलनामा कोसी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १ दशमलव ५५ प्रतिशतले घटेको उल्लेख छ । आर्थिक वर्ष २०८०–८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोसी प्रदेशको हिस्सा १५ दशमलव ८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक कार्यालयको अनुमान छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५ दशमलव ८८ प्रतिशत थियो । सो प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३२ दशमलव ८० प्रतिशत, उद्योग क्षेत्रको १६ दशमलव ३२ प्रतिशत र सेवा क्षेत्रको ५० दशमलव ८८ प्रतिशत योगदान रहने अनुमान छ ।
कृषि भूमि घटन जाँदा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसारलगायत बालीले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल कम भएको हो । कोसी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफल मध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८७ दशमलव ९२ प्रतिशत, तरकारी बालीको ५ दशमलव ११ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल ६ दशमलव ९७ प्रतिशत छ । कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ, र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१ दशमलव ६४ प्रतिशत छ । आव २०८०–८१ मा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन १ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ ।
धान र कोदोको उत्पादन बढ्यो
विशेष गरी खाद्य बाली अन्तर्गत धान ७ दशमलव ४५ प्रतिशत तथा कोदो ० दशमलव ८६ प्रतिशतले वृद्धि भएकाले समग्र कृषि बालीको उत्पादन वृद्धि भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा तरकारीको उत्पादन १ दशमलव ९८ प्रतिशत, चियाको उत्पादन ० दशमलव ०१ प्रतिशत, कफीको उत्पादन १ दशमलव २३ प्रतिशत तथा महको उत्पादन ० दशमलव २८ प्रतिशतले बढेको छ भने फलफूलको उत्पादन ० दशमलव ९४ प्रतिशत र मसलाको उत्पादन ८ दशमलव ०३ प्रतिशतले घटेको छ ।
३७ दशमलव ३ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा
आव २०८०–८१ मा यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ३७ दशमलव ३ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३६ दशमलव ७४ प्रतिशत रहेको थियो । कोसी प्रदेशमा कुल सिञ्चित क्षेत्रफल १ दशमलव ५२ प्रतिशतले विस्तार भएको छ । त्यसैगरी दुध उत्पादन १९ दशमलव ९३ प्रतिशत, मासु उत्पादन २ दशमलव ३० प्रतिशत तथा माछा उत्पादन १ दशमलव २१ प्रतिशतले वृद्धि भएको छ । अण्डा उत्पादन एक दशमलव ७३ प्रतिशत तथा ऊनको उत्पादन ६ दशमलव ४३ प्रतिशतले घटेको छ । यसैगरी, काठको उत्पादन १५ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ ।
कृषि क्षेत्रमा प्रवाहित कर्जा घ्टयो
२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोसी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा २ दशमलव १० प्रतिशतले घटेर ५९ अर्ब ९० करोड ७४ लाख ४१ हजार रुपैयाँपुगेको छ । गत असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश १० दशमलव १२ प्रतिशत रहेको छ । यस प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ५२ दशमलव सात प्रतिशत रहेको छ । आव २०७९–८० मा उक्त उद्योगको औसत क्षमता उपयोग ५१ दशमलव एक प्रतिशत रहेको थियो ।
उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा टायर तथा ट्यूव उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९१ दशमलव ३ प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४ दशमलव ४ प्रतिशत रहेको छ । अध्ययनमा समेटिएका उद्योगको उत्पादनमध्ये गार्मेन्ट उत्पादन सबैभन्दा बढी छ भने घरेलु धातुका सामानको उत्पादन ४५ दशमलव ७ प्रतिशतले घटेको छ ।
४३ उद्योगमा कार्यरत श्रमिकको संख्या पनि घट्यो
सो प्रदेशका ४३ वटा उद्योगमा आव २०७९–८० मा १८ हजार ४ सय ६१ जना श्रमिक कार्यरत रहेकामा समीक्षा आर्थिक वर्षमा ती उद्योगमा जम्मा १६ हजार ९ सय ५८ जना श्रमिक कार्यरत छन् जुन गत वर्षको सोही अवधिको तुलनामा ८ दशमलव १ प्रतिशतले कम हो । सुनसरी, मोरङ, इलाम, झापा र उदयपुरमा रहेका उद्योगमा श्रमिकले रोजगारी गुमाएका छन । कुल औद्योगिक रोजगारीमध्ये ८३ दशमलव २ प्रतिशत स्वदेशी र १६ दशमलव ८ प्रतिशत विदेशी कामदारहरूले रोजगारी प्राप्त गरेका थिए । समीक्षा वर्षमा कुल औद्योगिक रोजगारीमा स्वदेशी र विदेशी कामदारको सहभागिता क्रमशः ९१ प्रतिशत र ९ प्रतिशत छ ।
औद्योगिक कर्जा बढ्यो
केन्द्रीय बैंकका अनुसार, २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कुल औद्योगिक कर्जा ८ दशमलव ११ प्रतिशतले वृद्धि भइ १ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा ६ दशमलव ६४ प्रतिशतले वृद्धि भएको थियो ।
कोसी प्रदेशमा वाणिज्य बैंकका ७ सय ५४, विकास बैंकका १ सय ९५, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका ८ सय ५२ गरी जम्मा १ हजार ८ सय ३७ शाखा पुगेका छन् । त्यसैगरी २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा सो प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १३ दशमलव ३८ प्रतिशतले वृद्धि भई ४ खर्ब ७७ अर्ब रुपैयाँ र प्रवाह गरेको कर्जा ३ दशमलव ८१ प्रतिशतले वृद्धि भई ५ खर्ब ७८ अर्ब पुगेको छ ।
प्रतिक्रिया