पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा माओवादीले पार्टीको सक्रीय भूमिकामा सहभागी गराएको छ । पार्टीका स्थायी समिति तथा केन्द्रीय समतिका बैठकहरूमा उनलाई केन्द्रीय उपाध्यक्ष सरहको मर्यादाक्रम दिइएको छ । उनलाई उपाध्यक्ष बनाउने तयारी गरिएको माओवादीले जनाएको छ । पूर्वउपराष्ट्रपति पुन स्वयंले पनि आफू सक्रिय राजनीतिमा आइसकेको र त्यसबारे द्विविधा नराख्न भनिसकेका छन् ।
पूर्वउपराष्ट्रपति पुनको दलगत सक्रियतासँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि नेकपा एमालेको सक्रिय भूमिकामा उत्रने चर्चा चलेको मात्रै छैन, केही संकेतसमेत देखिइसकेका छन् । एमाले अध्यक्ष केपी ओलीले गत ९ वैशाखमा ललितपुरको गोदावरीमा आयोजित पार्टी स्थापना दिवस र अर्को एक सार्वजनिक कार्यक्रममा निर्वतमान राष्ट्रपति भण्डारीले पार्टीभित्र सक्रिय भएर योगदान दिन सक्ने बताएका थिए ।
त्यसको केही दिनपछि जेठ १७ गते नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादीमा भएको एमालेको महिला भेलामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बनिन्, अध्यक्ष ओली विशेष वक्ताको भूमिकामा थिए । केही दिनअघि एमालेका महासचिव शंकर पोखरेलले पनि पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेको नेतृत्व लिनसक्ने संकेत गरेका थिए । माओवादीले जसरी उपराष्ट्रपति पुनलाई सहभागी गराएको छ, त्यसरी एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीका निर्णायक बैठकहरूमा सहभागी गराएको छैन । तर, पूर्वराष्ट्रपति भण्डारीको निवासको चहलपहल कुनै पनि पार्टीको सक्रीय नेताको निवासभन्दा कम छैन । नेकपा एमालेमै पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको निवासपछि सबैभन्दा बढी भिडभाड पूर्वराष्ट्रपति भण्डारीकै निवासमा हुने गरेको छ ।
नेपालको संविधानले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा उत्रन प्रत्यक्ष प्रतिबन्ध लगाएको छैन । सक्रिय राजनीतिमा उत्रन संवैधानिक तथा कानुनी अड्चन नभए पनि नैतिकताको प्रश्न भने जीवितै छ । किनकी राष्ट्रपतिलाई संविधानले दलभन्दा माथि राखेको छ । सक्रिय राजनीतिभन्दा पनि माथि राखेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति पदको सफथ ग्रहण गर्नुअघि नै दल त्याग गर्नुपर्ने व्यवस्था छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले परिस्थितिबस देशको भन्दा आफ्नो पार्टीको हितलाई ध्यान दिनुपर्ने अवस्था आउन सक्छ । प्रधानमन्त्रीको ध्यान चुनावी स्वार्थमा बढी केन्द्रित हुन्छ । त्यसैले पार्टीको स्वार्थ र चुनावी स्वार्थमा ध्यान दिनु नपर्ने गरी संविधानले राष्ट्रप्रमुखको परिकल्पना गरेको हो । प्रथम राष्ट्रपति डा.रामवरण यादव संविधानको त्यो मर्मलाई आत्मसात गरेर बसेका छन् । उनी दलभन्दा माथि उठेका छन् । तर २ कार्यकाल पूरा गरेकी दोस्रो राष्ट्रपति भण्डारीले खराब नजीर बसाल्ने संभावना बढेको छ । सामान्यतः २ कार्यकाल पूरा गरेको संवैधानिक राष्ट्रपति सक्रिय राजनीतिमा फर्किने प्रचलन संसारभरि नै छैन ।
अध्यक्ष ओलीको इच्छा हो या, आफू स्वयंको चाहनाका कारण पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा उत्रने अभ्यास गरेकी हुन् ? यसै भन्न सकिने अवस्था छैन । तर, यो चाहना एमाले पार्टी पंक्तिको होइन भन्ने कुरा लगभग स्पष्ट छ । किनकी उनले जत्तिको योगदान पु¥याएका नेता तथा कार्यकर्ताको खडेरी नेकपा एमालेमा छैन । उनी कुशल संगठक पनि होइनन्, विचारवान नेतृ पनि होइनन् । मदन भण्डारीको रहस्यमय निधनपछि मतदाताको सहानुभूति बटुल्न एमालेका चुतुर नेता ओलीले सक्रीय राजनीतिमा ल्याएकी पात्र मात्रै हुन् ।
उनलाई पार्टीभित्र पद दिनका लागि अन्य थुप्रै योगदानकर्ता नेताहरूको राजनीतिक भविष्य समाप्त गरिएको आरोप एमालेभित्र लाग्दै आएको छ । विशेष गरी अध्यक्ष ओलीमाथि यस्तो आरोप लाग्दै आएको छ । उनी पहिलोपटक मात्रै होइन दोस्रोपटक पनि ओलीकै जोडबलमा राष्ट्रपति बनेकी हुन् । शरीरले साथ दिइन्जेल आफैँले पार्टीको नेतृत्व संहालीरहने, त्यसपछि पूर्वराष्ट्रपति भण्डारीलाई पद हस्तान्तरण गर्ने रणनीतिमा अध्यक्ष ओली रहेको सुइँको एमलो पंक्तिले पाइसकेको देखिन्छ । उनको निवासमा भिड बढ्नुको कारण यही हो । यो मामिलामा अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीको विषयमा टिप्पणी गर्नु भनेको गैंडाका छालामा चिमोट्नु जस्तै हो । कमजोरी त एमालेका युवा नेताहरूको हो । एमालेका युवा नेताहरू नालायक बन्दै गइरहेका छन् भन्ने संकेत हो यो ।
प्रतिक्रिया