धान चामल आयातमा कडाइ गर्नु जरुरी

सम्पादकीय

यस वर्ष धानको उत्पादन वृद्धि भएर ५९ लाख ५५ हजार ५०० मेट्रिक टन पुग्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । जबकी गत वर्ष ५७ लाख २४ हजार २०० मेट्रिक टन उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष करिब ४ प्रतिशत उत्पादन बढेको हो । धानको उत्पादन ४ प्रतिशत बढ्नु भनेको नेपालको कुल ग्राहस्थ उत्पादनमा उल्लेखनीय वृद्धि हुनु हो । किनकी मुलकको कुल ग्राहस्थ उत्पादनमा धानको योगदान करिब ४ प्रतिशत रहँदै आएको छ । तर धानको उत्पादन कागजमा मात्रै बढेको हो या खेतमा पनि बढेको हो ? भन्ने अन्योल यथावत छ । किनकी विदेशबाट धान चामलको आयात अझै रोकिएको छैन ।

गत आर्थिक वर्ष मात्रै करिब २० अर्ब रुपैयाँको धान चामल आयात भएको तथ्यांक छ । धान उत्पादनसम्बन्धी सरकारी तथ्यांकमा कहीँ न कहीँ कमजोरी छ भन्ने आशंका उत्पन्न हुनुका खास कारण छन् । १० वर्ष अघिकोे तुलनामा जनसंख्या खासै बढेको छैन । बरु विदेश जानेहरूको संख्या उल्लेख्य बढेका कारण स्वदेशमा बस्ने जनसंख्या घटेको छ । तर १० वर्षअघि अर्थात २०७२ सालमा ४३ लाख मेट्रिक टन धान उत्पादन भएको तथ्यांक सार्वजनिक गरिएको थियो । यस वर्ष ५९ लाख ५५ हजार टन धान उत्पादन हुने तथ्यांक सार्वजनिक गरियो । यस हिसाबले त नेपालले धान चामल निर्यात गर्नुपर्ने थियो, तर अझै पनि आयात रोकिएको छैन ।

१ जना व्यक्तिले वर्षभरी बढीमा १०० केजी चामल उपभोग गर्छ । नेपालको जनसंख्या ३ करोड मान्ने हो भने पनि ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुनु भनेको काफी हो । धानबाहेक मकै, गहुँ, कोदो लगायतका अन्न उपभोग गर्ने प्रचलन पनि प्रशस्त छ । मोटामोटी हिसाब गर्दा ५५ लाख मेट्रिक टन धानले नेपालको माग धान्न सक्ने देखिन्छ । तर सरकारले तथ्यांक निकालेको छ करिब ६० लाख मेट्रिक टन उत्पादन भएको । यदि यो तथ्यांक सही हो भने धान चामल आयातमा कडाइ गर्न ढिलाइ भइसकेको छ । स्वदेशी किसानले उचित मूल्य तथा बजार नपाउने संभावनातर्फ सरकारले ध्यान दिनु जरुरी छ । किनकी धानखेतीको क्षेत्रफल हरेक वर्ष घटिरहेको र धान खेतीमा संलग्न कृषकको संख्या पनि घटिरहेको तथ्यांक सरकारले नै सार्वजनिक गर्ने गरेको छ । लगानी अनुसारको मूल्य नपाएकै कारण यस्तो भएको हो । भारतबाट आयात हुने चामलसँग नेपाली किसानले प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन ।

यसैगरी नेपालबाट सस्तो मूल्यमा धान चामल भारत तस्करी हुने गरेको र भारतबाट महँगो मूल्यमा धान चामल नेपाल आयात हुने गरेको कृषि मन्त्रालयले जनाउँदै आएको छ । मन्त्रालयका अनुसार नेपालमा मोटो धानको उत्पादन बढी हुन्छ, तर सहरी क्षेत्रमा भने मसिनो धानको चामलको माग बढी छ । यसैगरी किसानसँग भण्डारण गरेर राख्ने क्षमता छैन । बाली भित्र्याउनासाथ बिक्री गर्नुपर्ने वाध्यता छ । यो वाध्यताको फाइदा भारतीय व्यपारीहरूले लिइरहेका छन् । किनकी धान उत्पादन हुने मुख्य क्षेत्र तराई हो, धान चामलको माग हुने मुख्य क्षेत्र पहाड तथा हिमाल हो । तर हिमाली तथा पहाडी क्षेत्रमा भारतको चामल पुग्ने गर्छ ।

सरकारले जसरी चिनी आयतमा कोटा निर्धारण गरेको छ, त्यसरी नै धान–चामल आयातमा कोटा निर्धारण किन गरिँदैन ? भन्ने प्रश्न नउठ्ने गरेको होइन, तर सरकारमा रहनेहरू यो प्रश्नप्रति कत्ति पनि गम्भीर छैनन् । एकातिर चामलबाहेक अरू अन्न प्रयोग नगर्ने विकृति नेपालमा बढेको छ । अर्कातिर मोटो चामलको सट्टा महँगै भए पनि मसिनो चामल प्रयोग गर्ने विकृति पनि नेपालीहरूमा बढेको छ । नेपाली उपभोक्ताको जिब्रोमा भारतबाट आयात हुने मसिनो चामलको भातको स्वाद बसिसकेको छ । समस्या यहिँनिर छ । भारतबाट मसिनो धान तथा चामलको आयात प्रतिबन्ध लगाउने वा अधिकतम कर लगाउने हो भने मात्रै नेपाली किसानलाई राहत पुग्ने अवस्था छ ।

प्रतिक्रिया