भएका दलले देश रित्याउन थालेपछि नयाँ अभियान थालेँ : भीम रावल

पार्टी र तिनका नेताले देशको राष्ट्रिय हितमा आघात गरे, देशलाई रित्याउन थाले । १ करोड मान्छेले देश छाडिसके, मुलुकको एक तिहाइ जमिन बाँझो छ । नेपालीहरूलाई भाडाका सिपाही, महिलाहरूलाई रात्रि क्लबका नर्तकी बनाइएको छ ।

भीम रावल

झन्डै ५ दशक समय लगानी गरेको पार्टीबाट निकालिएपछि भीम रावल यतिखेर निकै व्यस्त छन् । उनलाई दैनिक दर्जनौँ मिडियाले पछ्याइरहेका छन् । उनको दैनिकी निवासमा बिहान सबेरैदेखि साँझ अबेरसम्मै विभिन्न दलबाट भेट्न पुग्नेहरूका कुरा सुन्दै आफ्ना कुरा सुनाउँदैमा बित्ने गरेको छ । २०३० सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका उनी त्यसयता कम्युनिस्ट नेताका रूपमा अनवरत क्रियाशील भए । नेकपा एमालेको उपाध्यक्ष र गृह तथा रक्षाजस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व लिनुका साथै उपप्रधानमन्त्रीको पदमा समेत पुगे उनी । प्रष्ट बोल्ने, निर्धक्क विचार राख्ने उनी पछिल्ला ३ वर्षयता भने पार्टीको मूलधारबाट छुट्टिँदै गए र पार्टीबाटै निकालिए । उनले मातृभूमि जागरण अभियानमार्फत् यतिबेला देश दौडाहा थालेका छन् । शनिबार उनले आफ्नो अभियान सुनसरी र मोरङमा भेटघाट गरी सुरु गरेका छन् । प्रस्तुत छ उनै रावलसँग आगामी अभियानका विविध पक्षमा सौर्यकर्मी चमिना भट्टराईले गरेको संवाद :

पार्टीले कारबाही गरेपछि झन् सक्रिय हुनुभयो, के गर्दै हुनुहुन्छ ?

लामो समय राजनीतिक काम गर्न पाइएको थिएन । अहिले काम बढेको छ । भेटघाट र छलफल जारी छ । आगामी दिनमा के गर्दा राम्रो होला भनेर सल्लाह सुझाव लिने काम भएको छ । तपाईंसँग कुरा गरिरहँदा विराटनगरबाट सुनसरीतिर बढ्दै छु ।

तपाईंले आफ्नो अभियान पूर्वबाट सुरु गर्न लाग्नुभएको हो ?

मेरो मातृभूमि जागरण अभियान यहाँबाट सुरु भन्ने छैन । जुन–जुन जिल्लाका साथीहरू तयार भएर बोलाउनुहुन्छ, त्यहाँ पुगेर साथीहरूसँग आफ्ना धारणा राख्छु । आज शनिबार संजोग नै मान्नुपर्छ कोसी प्रदेशको सुनसरी र मोरङमा भेटघाट तय भएका छन् । यहाँबाट आफ्नो अभियानको थालनी गर्न लागेको छु । यहाँका साथीहरूले बोलाएकाले यता आएको हुँ । यसलाई मैले निकै महत्वपूर्ण रूपमा लिएको छु । यहाँ पनि विभिन्न पार्टीका केन्द्रीय नेताहरूसँग भेट भएको छ ।

तपाईंले खोल्ने भनिएको पार्टीले कहिले औपचारिकता पाउला ?

म पार्टी खोल्न हतारिएको छैन । सबैभन्दा पहिला देशव्यापी रूपमा सबै साथीहरूसँग भेटघाट गरेर सल्लाह लिन्छु । सबैको भावना बुझेर देशको सर्वोत्तम हित के गरेर हुन्छ, त्यो गर्छु । पार्टी खोल्नुपर्दा त्यसपछि खोल्छु । अहिले नै पार्टी खोल्ने होइन, त्यसका सबै आधार बनाएर मात्रै खोल्ने हो । त्यसको वातावरण बनाउने कार्यमा लागेको छु । त्यसैले कस्तो पार्टी बनाउने र कहिले बनाउने अहिले नै भन्न सकिन्न ।

तपाईंले खोल्ने पार्टीले अहिले भएका पार्टीले नगरेको कुनचाहिँ काम गर्छ ?

सबैभन्दा पहिला अहिलेसम्म भएका पार्टी र तिनका नेताले देशको राष्ट्रिय हितमा आघात गरेका छन् । देशलाई रित्याउने काम भएको छ । १ करोड मान्छेले देश छाडिसके, मुलुकको एक तिहाइ जमिन बाँझो छ । ७५ लाख घरमध्ये करिब ५ लाख घर रित्ता भइसकेका छन् । नेपालीहरू कहीँ भाडाका सिपाही, महिलाहरू रात्रि क्लबका नर्तकी बनाइएको छ । यहाँ कसैको सुरक्षा र सम्मान छैन ।

अर्को कुरा देशको परराष्ट्र नीति राम्रो छैन, कृषि नीति खत्तम छ । समग्रमा देशको हितविपरीतका गतिविधि तीव्र भएका छन् । देशमा ठुलठुला काण्ड भइरहेका छन् । भ्रष्टाचारले देश चुर्लुम्म छ । यस कारणले हामीले यो जागरण अभियानले कहिल्यै कसैको अगाडि नझुकेको सार्वभौम देश, विभिन्न सम्पदाले सम्पन्न देशको स्वभिमान बचाउने, देशलाई पुनर्जागरणतर्फ नेतृत्व गर्ने र सम्पूर्ण देशभक्तलाई एकजुट गरेर लैजाने सोच बनाएका छौँ ।

नेपाल भनेको धेरै लामो संस्कृति बोकेको देश हो । त्यसैले नेपालको स्वाधीनता र स्वाभिमानको रक्षा गर्दै समृद्धिको बाटोमा लैजाने र सबै प्रकारका भ्रष्टाचारीलाई जनताले कारबाही गर्ने वातावरण बनाउनेतर्फ यो अभियान अघि बढ्नेछ । हामी जनताले अनुभूत गर्ने गरी केही न केही नयाँ काम गर्नेछौँ ।

अहिले नै पार्टी खोल्दिनँ भन्नुभयो, यो अभियानचाहिँ एनजिओजस्तो हो ?

एनजिओ जस्तो होइन । मातृभूमि जागरण अभियान भनेको भोलिका दिनमा देशको राज्य सञ्चालनको गतिविधि अघि बढाउन सशक्त विकल्प दिने शक्तिका रूपमा विकास हुनेछ । त्यो बाटोमा हाम्रो जागरण अभियान अघि बढ्ने छ । यो राजनीतिक रूपमा अघि बढ्ने एउटा शक्ति हुनेछ ।

गैरकम्युनिस्ट पार्टी खोल्ने चर्चा पनि चलेको छ । के साँच्चै गैरकम्युनिस्ट पार्टी खोल्न लाग्नुभएको हो ?

म यसबारेमा सबैभन्दा पहिला देशभक्त शुभचिन्तक, शुभेच्छुक र आमजनतासँग छलफल गर्छु । कस्तो पार्टी बनाउने भन्नेबारेमा सबैको राय लिन्छु । सबैको सल्लाह र सुझाव लिएर देशका लागि जे आवश्यक पर्छ, त्यो दिशामा अघि बढ्नुपर्छ । अब जहाँसम्म कम्युनिस्ट वा गैैरकम्युनिस्ट भन्ने कुरा छ । त्यसमा मेरो धारणा फरक छ । नेपाललाई आज को कम्युनिस्ट, को कांग्रेस, को राजावादी भन्ने होइन, को देशभक्त ? को राष्ट्रलाई जोगाउन अघि बढ्छ ? को नेपाली भएर भोलिका पुस्ताका लागि बाँच्न दिन्छ ? कसले नेपालको भविष्यलाई सुरक्षित राख्न सक्छ ? भन्ने जस्ता कुरा महत्वपूर्ण भएकाले सम्पूर्ण इमानदार देशभक्तका लागि यो अभियानको ढोका खुला भएकाले त्यसैका अधारमा अघि बढ्छ । नाम र विचारले मात्रै देशको हित हुँदैन । हामी केही न केही गरेर जनता र राष्ट्र हितमा काम गर्छौं ।

बाबुराम भट्टराईले पनि वैकल्पिक शक्ति भनेर गैरकम्युनिस्ट पार्टी खोलेर असफल हुनुभयो, तपाईंचाहिँ सफल हुने के आधार छ ?

को–को सफल असफल भए, त्यो उहाँहरूको पृष्ठभूमि र गतिविधिमा भर पर्यो होला । मलाई भने पूरा विश्वास छ, मैले ५१ वर्षको राजनीतिक अनुभवका आधारमा र देश विदेशबाट गरेको अनुभव र विश्वासले यो अभियानमा सफल भइन्छ । यसका लागि देशभक्त स्वभिमानी नेपालीले साथ दिन्छन् भन्नेमा पनि म पूर्ण विश्वस्त छु । आज जो जुनसुकै पार्टीमा आबद्ध भए पनि उहाँहरूको मलाई पूर्ण समर्थन हुन्छ र सशक्त वैकल्पिक शक्ति निर्माण हुन्छ भन्नेमा म शतप्रतिशत ढुक्क छु । यसमा देशभित्र मात्रै होइन, देशबाहिर रहेका नेपालीसँग पनि मेरो सम्पर्क/समन्वय भइरहेको छ । त्यसैले सफल असफल भनेको आफ्नो योजना र सक्रियता अनि कामले हुने हो । त्यसमा म पूर्ण रूपमा विश्वस्त छु ।

फेरि एमालेमै फर्किने सम्भावना कत्तिको छ ?

योचाहिँ मलाई पार्टीबाट निष्कासित गरेपछि ‘तपाईं त्यसैमा हुनुहुन्छ है !’ भनेजस्तै हो । यो सम्भावना छैन । म फेरि एमाले नै भएर राजनीति गर्ने सम्भावनाका सबै ढोका बन्द भएका छन् ।

एमालेकै केन्द्रीय नेताहरूको पनि साथ समर्थन पाउनुभएको छ यो अभियानमा ?

एमाले पार्टीकै सचिवालय बैठकमा पनि मलाई अन्यायपूर्वक कारबाही गर्न हुँदैन भनेर केही साथीहरूले मेरो पक्षमा बोल्नुभयो, ती सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु । त्यो मप्रतिको साथ र समर्थन हो भन्ने ठानेको छु । आज एमाले भन्ने पार्टीको रङ उडाएर केपी ओलीले ‘बा’माले’ बनाउनुभएको छ । विचार, विधि, विधान केही लागू नहुने, नाम मात्रैको पार्टी बनाउनुभएको छ । मैले अब एमालेमा आबद्ध भएर देश र जनताको पक्षमा काम गरौँला भन्ने जुन अपेक्षा थियो, त्यो अब रहेन ।

त्यसैले एमालेमा रहेका देशभरका सम्पूर्ण इमानदार देशभक्त नेता कार्यकर्तालाई त्यहाँबाट विद्रोह गरेर हाम्रो मातृभूमि जागरणमार्फत् वैकल्पिक शक्ति निर्माणको बाटोमा अघि बढ्न आह्वान गर्छु । मेरो यो आह्वान सबैका लागि सदैव जारी रहनेछ । यसबीचमा धेरै साथीहरूले सम्पर्क गरेर समर्थन जनाउनुभएको छ । मलाई विश्वास छ– ठुलो पंक्तिले मलाई साथ दिनेछ ।

एमाले वा अन्य पार्टीका नेता कार्यकर्तासँग सम्पर्क/समन्वय कस्तो छ ?

एमाले र अन्य पार्टीमा पनि धेरै नेता कार्यकर्तासँग सम्पर्क र समन्वय भइरहेको छ । यो क्रम जारी रहनेछ । सत्यका पक्षमा म एक्लै पनि उभिन तयार भएको मान्छे हुँ । अहिले त तपाईं अघि बढ्नुस्, हाम्रो साथ छ भन्ने एमालेभित्र ठुलो पंक्ति छ । उहाँहरूले पनि थप हौसला दिनुभएको छ । हिजो जति मसँग सम्पर्क हुन्थ्यो, त्योभन्दा बढि सम्पर्क एमालेबाट कारबाही भएपछि भएको छ । निकै ठुलो उत्साहका साथ उहाँहरू मेरो अभियानमा जोडिनुभएको छ । देशभर अभियान गर्नुपर्यो, आउनुस् भन्नेको संख्या ठुलो छ ।

तपाईंको अभियानमा जोडिनेमा सबैभन्दा बढी त एमालेबाटै आउने होलान् नि ?

केपी ओलीको जुन निरंकुशता, स्वेच्छाचारी र तानाशाही चरित्र थियो, त्यसको भोगाइ धेरैसँग छ । हिजो जसलाई पार्टीले शत्रु पार्टी ठान्थ्यो, त्योसँग सत्ताका लागि गठजोड गर्ने, ‘पार्टी ठिक ढंगले चल्नुपर्छ । सिद्धान्त विचारनिष्ठ हुनपर्छ । शत्रु र मित्रको बीचमा गर्ने व्यवहार फरक हुनुपर्छ’ भन्ने कसैलाई पनि देखिनसहने ! मलाई मात्रै होइन, विन्दा पाण्डे र उषाकिरण तिमल्सेनालाई पनि कारबाही गरियो । उहाँहरूले पार्टी अनुशासित र पारदर्शी हुनपर्यो, कोसँग के सर्तमा चन्दा सहयोग लिएको भनेर प्रश्न उठाएको नाममा कारबाही गरेको छ । जिल्ला–जिल्लामा योग्यता क्षमता भएकालाई पार्टी काममा रोक्ने र फरक राजनीतिक चरित्र भएकालाई टिका लगाउँदै भित्र्याउने काम गरिएको छ । उहाँहरू अहिले मिसन ८४ भन्दै हुनुहुन्छ नि, त्यो मिसन ८४ होइन केमा परिणत हुँदै छ हेर्दै जानुहोला । अब अभियानमा को–को जोडिँदै जानुहुन्छ, समयले देखाउँछ ।

यो अभियानमा एमालेको ठुलो पंक्ति जोडिन्छ त्यसो भए ?

एमालेको मात्रै होइन, देशभक्तहरू, नेपाली कांग्रेस, राप्रपा, एकीकृत समाजवादी, माओवादी केन्द्र, मधेसवादी दलको विभिन्न घटकमा रहेका, विभिन्न कम्युनिस्ट पार्टीमा रहेका हजारौँले मलाई भेटेर वा विभिन्न माध्यमबाट यो अभियानमा जोडिएर अघि बढ्ने प्रतिबद्धता गर्नुभएको छ । त्यसकारण देशभक्त नेपालीका लागि यो सशक्त अभियान हुनेछ ।

त्यसो भयो भने तपाईंको अभियानले त एमाले र एकीकृत समाजवादी दुवैलाई कमजोर बनाउने सम्भावना देखियो त !

हेर्दै जानुस्, मेरो अभियानमा एमाले र एकीकृत समाजवादीको ठुलो पंक्तिले साथ दिनेछन् । किनकि ती दुवै पार्टीमा मसँग लामो समय सहकार्य गरेका, सँगै हिँडेका कमरेडहरू हुनुहुन्छ । उहाँहरूले मेरो भावना र स्पिरिटलाई बुझ्नुभएको छ । कैयौँ अवस्थामा उहाँहरू मेरो शुभेच्छुक पनि हो । त्यसैले म कसैलाई कमजोर बनाउने अभियानमा होइन, मुलुकलाई बलियो र समृद्ध बनाउने अभियानमा छु ।

जहाँसम्म कमजोर बनाउने कुरा छ, मैले कसैलाई कमजोर बनाउनै पर्दैन, आफ्नै कारणले कमजोर बन्ने हो । अब एमालेमा इमानदार र आफ्नै विवेक प्रयोग गर्नेहरू बस्दैनन्, त्यहाँभित्र ठुलो उकुसमुकुस छ । त्यसै कमजोर हुन्छ । अरूको कुरा मैले गर्न पर्दैन, आफ्नो काम गर्ने हो । समयले को बलियो, को कमजोर देखाउँछ । मलाई विश्वास छ, देशभक्त इमानदार जोकोही मेरो यो अभियानमा जोडिनुहुनेछ र यो बलियो शक्ति बन्नेछ ।

एमालेको आगामी केन्द्रीय कमीटी बैठकमा तपाईंको कारबाही फिर्ता भयो भने ?

यो विषयमा मलाई केही थाहा छैन । उहाँहरूलाई नै थाहा होला । फिर्ता हुन्छ कि हुँदैन ? भयो भने के हुन्छ ? त्यो मेरो कुरा होइन । अब आफ्नो अभियानमा सक्रिय भएर लागेको छु । उहाँहरूले आफ्नो पार्टीमा के गर्नुहुन्छ, मैले भन्न सक्ने कुरा भएन ।

यसबीचमा पूर्वराष्ट्रपति विद्या भण्डारीसँग तपाईंको भेट भएको हो ?

मलाई कारबाही गरेपछि उहाँ (पूर्वराष्ट्रपति) सँग भेट भएको छैन । कारबाही नहुँदासम्म त्यो एउटा अध्याय थियो । अब पार्टीबाट नै निकालिसकेपछि त्यसबारेमा कुरा गरिरहनुपर्ने वा समय खर्चिनुपर्ने छैन । त्यसमा कुनै सरोकार पनि छैन । अब म मातृभूमि जागरण अभियानमार्फत् अघि बढिसकेकाले त्यसमा समय खर्च गर्दिनँ । मैले मेरै अभियानलाई सफल र बृहत् बनाउने हो, त्यसमै लागेको छु ।

प्रतिक्रिया