म्याग्दी । बेनी नगरपालिका–२ खबराको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् । हिउँदयाम सुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरुंगीको आहरा बन्न थालेपछि किसान चिन्तित बनेका हुन् । १५० भन्दा बढी घरपरिवारको बसोबास रहेको खबरा गाउँभरि केराखेती गरिएको किसान वुद्धवीर परियारले बताए । उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका उनले सुनाए । उनले भने, ‘पहिले हप्ताको २० घरीसम्म केरा बिक्री हुन्थ्यो, हिजोआज हप्तामा मुस्किलले ५ घरी पनि बिक्री हुँदैन ।’
खबराका सबैले व्यावसायिक केराखेती गरेका छन् । खबराबाट वार्षिक २ करोड रुपैयाँ बराबर मूल्यभन्दा बढीको केरा बिक्री हुने स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले जनाएको छ । केरा बिक्री र आम्दानी घटेको खबराका किसान हिरा कुँवरले बताए । धान, कोदो, मकै बालीको विकल्पमा केराखेती गरेका किसान उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएका उनले बताए ।
प्रति १२ कोसा (दर्जन) १८० रुपैयाँ सम्ममा बिक्री गरेको केराको मूल्य घटेर अहिले १०० रुपैयाँमा झरेको छ । बेनीका फलफूल व्यवसायी श्रीकृष्ण सुवेदीले चिसो बढेसँगै केराको खपत र बिक्री घटेको बताए । गर्मीयाममा दैनिक २० दर्जनसम्म खपत हुने केरा हिजोआज २–३ दर्जन मात्रै बिक्री भएको उनले बताए । स्थानीय किसानको उत्पादनले पुगेपछि बेनीमा पछिल्ला ५ वर्षयता भारत र तराईबाट केरा आयात न्यून मात्रामा हुने गरेको छ ।
खेती बिस्तारसँगै उत्पादन बढेको, सीमित बजार र प्रतिकूल मौसमका कारण केरा बिक्रीमा समस्या भएको खबराको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्मा (सापकोटा)ले बताए । केराका अन्य परिकार बनाउने र सहकारीमार्फत संकलन गरेर पोखरा, बागलुङ, कुश्मामा बजार खोज्न थालिएको उनले बताए ।
बेनी नगरपालिकाको केरा पकेट कार्यक्रममार्फत खबरामा ५०० रोपनीभन्दा बढी क्षेत्रफलमा केराखेती भएको छ । १६ हजारभन्दा बढी केराका गाँज छन् । बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले खबराका किसानलाई केरा थामको रेशाबाट धागो बनाउने तालिम र प्रविधि सहयोग गरेको बताइन् । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत केराको रेशाबाट धागो बनाउने, थाम कुहाएर प्रांगारिक मल बनाउने र बजारीकरण गर्न मिलन संस्थाको आइदिया परियोजनासँग समन्वय गरेको उपप्रमुख लामिछानेले बताए ।
प्रतिक्रिया