भीम रावलका ७४ प्रश्न

नेकपा एमालेबाट कारबाही गरिएको एक सातापछि वरिष्ठ वामपन्थी नेता भीम रावलले बुधबार पत्रकार सम्मेलनमार्फत छुट्टै पार्टी स्थापना गर्ने अवधारणा सार्वजनिक गरेका छन् । तर कहिलेसम्ममा पार्टी स्थापना भइसक्छ ? भन्ने कुरा खुलाएका छैनन् । पत्रकार सम्मेलनका क्रममा सबैजसो समय प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता केपी शर्मा ओलीको आलोचनामै बिताए । उनले ओलीमाथि ७४ बुँदे प्रश्न तेस्र्याएका छन् । जसमध्ये ५–७ वटा प्रश्न हल्का–फुल्का भए पनि धेरैजसो प्रश्न निकै गम्भीर छन् । तर रावलले ओलीमाथि उठाएका यी प्रश्नहरू नयाँ भने होइनन् ।

३ वर्षअघि पार्टी विभाजनका क्रममा नेकपा एकीकृत समाजवादीका नेताहरूले नै उठाएका प्रश्न हुन् यी । जुन बेला एमालेको ठूलो पंक्तिले यी प्रश्न उठाउँदै नयाँ पार्टी खोल्ने तयारी गरेका थिए, त्यतिबेला रावलले ओलीलाई साथ दिएका थिए । पार्टी विभाजन गर्न खोजिनुलाई षड्यन्त्र भनेका थिए । तर छिटै नै रावल त्यही विन्दुमा आइपुगे, जुन विन्दुमा एमालको ठूलो पंक्ति ३ वर्षअघि नै आइपुगेको थियो । एमालेबाट निष्कासित भएपछि नेता रावल ढिलो नगरी एकीकृत समाजवादीमा समाहित हुने आँकलन धेरैले गरेका थिए, तर छुट्टै पार्टी खोल्ने अवधारणा उनले सार्वजनिक गरेका छन् ।

नेता रावलले क–कसको साथ सहयोगमा पार्टी गठन गर्लान् ? प्रतिक्षाको विषय बनेको छ । १०औँ महाधिवेशनमा अध्यक्ष पदका लागि ओलीसँग प्रतिस्पर्धा गर्दा रावलले करिव १० प्रतिशत मत प्राप्त गरेका थिए । ती १० प्रतिशत महाधिवेशन प्रतिनिधिमध्ये आधाजसोको साथ रावलले पाए भने नेकपा एमालेलाई उल्लेखनीय क्षति हुन सक्छ, तर रावलको पार्टी राष्ट्रिय राजनीतिमा स्थापित हुने अनुुमान भने गरिहाल्न सकिन्न । किनकी करिब आधाजसो नेता, कार्यकर्ता तथा सांसद लिएर एमालेबाट निस्केको नेकपा माले राजनीतिक रूपमा स्थापित हुन नसकेको नजीर धेरै पुरानो भएको छैन । ठूलै शक्तिका साथ ३ वर्षअघि एमालेबाट निस्केको एकीकृत समाजवादीले पनि गत आमनिर्वाचनमा थ्रेसहोल्ड कटाउन सकेन । ती पार्टीहरूको तुलनामा रावलले एमालेबाट तान्ने नेता र कार्यकर्ताको संख्या नगन्य छ ।

रावलले जीवनभर कम्युनिस्ट सिद्धान्त तथा विचारको राजनीति गरे । कम्युनिस्ट विचार नबोक्नेहरूले उनलाई खासै रुचाउँदैनन् । गैरकम्युनिस्ट तप्कामा उनको प्रभाव हुने कुरै भएन । नेपालमा कम्युनिस्ट पार्टीहरूको संख्या यसै पनि डेढ दर्जनभन्दा माथि छ । करिब आधा दर्जन कम्युनिस्ट पार्टीहरू त राष्ट्रिय राजनीतिमै स्थापित र सक्रिय छन् । रावलले नयाँ पार्टी स्थापना गर्दा घाटा हुने भनेका साना कम्युनिस्ट पार्टीलाई नै हो । त्यसमा पनि सबैभन्दा बढी धक्का पुग्ने भनेको एकीकृत समाजवादीलाई नै हो ।

एकीकृत समाजवादीलाई धक्का लाग्नु भनेको प्रकारान्तरले एमालेलाई लाभ पुग्नु हो । एकीकृत समाजवादीको उपस्थिति अन्य प्रदेशमा कमजोर देखिए पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सन्तोषजनक देखिनुको एउटा कारण रावलले गत आमनिर्वाचनका क्रममा एमालेभित्र प्रकट गरेको असन्तुष्टि हो । उमेरले पनि उनी ७० वर्ष नाघे । अब सक्रिय हुने उमेर धेरै बाँकी छैन । बढीमा १० वर्ष हो । रावल २०५१ देखि २०७३ सालसम्म धेरैजसो समय सत्तामै रहे ।

धेरै वटा मन्त्रालय संहाले । एमालेको पनि अध्यक्ष पछिको पद उपाध्यक्षसम्म भए । यो अवधिमा देश र जनताले संझनलायक काम उनले के गरे ? कम्तीमा पनि बुधबारको पत्रकार सम्मेलनमा १–२ वटा उदाहरण दिन सक्नुपथ्र्यो । उनले पछिल्ला दिनमा प्रकट गर्ने गरेको देशभक्ति र राष्ट्रवादको दुहाई महाकाली सन्धी प्रकरणमा छताछुल्ल भइसकेको विषय हो । अब जनताले पत्याउँदैनन् । पार्टीमा भूमिका नपाउनासाथ अर्को पार्टी खोलिहाल्ने रोग नेपालका कम्युनिस्ट नेताहरूमा नयाँ होइन ।

आजको यो बहुदलीय व्यवस्थाको युगमा केही कुरा कांग्रेसका नेताहरूबाट पनि सिक्नुपर्छ । गणेशमान सिंहले ७७ वर्षको उमेरमा नेपाली कांग्रेस परित्याग गरेका थिए । कृष्णप्रसाद भट्टराई नेपाली कांग्रेस परित्याग गर्दा ८१ वर्षका थिए । आफू पनि करिब करिब त्यही उमेर नजिक पुग्न लागेको यथार्थतालाई रावलले स्वीकार गर्नुपर्छ । यस्तो अवस्थामा ओलीमाथि गरेका ७४ प्रश्नको औचित्य सावित गर्ने दायित्व भने अब रावलमाथि आइलागेको छ ।

प्रतिक्रिया