सत्ताको नेतृत्व गरिरहेको पार्टी नेकपा एमालेले आफ्ना ३ जना नेतामाथि कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाटसमेत निष्काशन गरेको छ । स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको छ । २०७८ सालको मंसिरमा चितवनमा सम्पन्न १०औँ महाधिवेशनमा रावल र केपी शर्मा ओलीले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । ओलीले चुनाव जिते, रावल पराजित भए । त्यस यता रावललाई पार्टीभित्र कुनै जिम्मेवारी तथा भूमिका दिइएको थिएन ।
उनले पनि अध्यक्ष ओलीको कार्यशैलीप्रति खुलेरै आलोचना गरेका थिए । यसैगरी स्थायी समिति पाण्डे र केन्द्रीय सदस्य लिमिल्सिनाले भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग पार्टी भवन बनाउन झन्डै १ अर्बको जग्गा दानमा लिने निर्णयप्रति सार्वजनिक रूपमै असहमति जनाएका थिए । पार्टीको निर्णयप्रतिको असहमति सार्वजनिक गर्न नपाइने विधानको व्यवस्था उल्लंघन गरेका कारण कारबाही गरिएको एमालेले जनाएको छ ।
नेकपा एमालेको यो निर्णयलाई लिएर विभिन्न कोणबाट विश्लेषकहरूले टीकाटिप्पणी गरेका छन् । अध्यक्ष ओली असहिष्णु बन्दै गएको, एमाले भित्रको आन्तरिक लोकतन्त्र संकटमा परेको टिप्पणी धेरैको छ । पार्टी अनुशासन कायम राख्नका लागि अध्यक्ष ओलीले चालेको कदम ठिक हो भन्नेहरू पनि छन् । यो प्रकरण नेकपा एमालेको आन्तिरिक मामिला भएका कारण टीकाटिप्पणी आवश्यक नहरेको बताउने विश्लेषकहरू पनि छन् । झट्ट हेर्दा यो एमालेको आन्तिरिक मामिला हो । तर बहुदलीय शासन व्यवस्था भएको देशमा दलका गतिविधिलाई आन्तरिक मामिलाका रूपमा मात्रै लिइँदैन । दल भनेको कसैको प्राइभेट कम्पनी होइन । संविधानको मर्म र भावनासँग बाझिने गरी दलभित्र शासन गर्न मिल्दैन । दलभित्र निरंकुश शासन गर्नेले राज्यको शासन व्यवस्थालाई पनि निरंकुश बनाउन खोज्छ भन्ने मान्यता बहुदलीय लोकतन्त्रले राखेको हुन्छ ।
ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा निरंकुशता लाद्ने चेष्टा गरेको घामजस्तै छर्लंग छ । उनको यही चेष्टाका कारण नेकपा एमाले विभाजित भएको हो । आफ्नो निरंकुश कार्यशैलीमाथि टिप्पणी गर्नेहरूलाई ओलीले पार्टीबाटै लखेटेका उदाहरणहरू विगतमा पनि उल्लेख्य छन् । ओलीको आक्रमणबाट बच्दै आफ्नो राजनीतिक भविष्य सुरक्षित बनाउन माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरूले संगठित प्रयास नगरेका होइनन् । तर त्यो प्रयासलाई कतिपय नेताहरूले अन्तिम अवस्थामा धोका दिए । धोका दिनेमध्येका रावल पनि एक हुन् । खनाल र नेपालले पार्टी छाडेपछि अब एमालेभित्र आफ्ना लागि ठाउँ खाली हुन्छ भन्ने रावलको त्यतिबेलाको दृष्टिकोण पूरापुर गलत सावित भएको छ ।
ओलीबाट निष्काशित भएपछि रावलललाई नेकपा एकीकृत समाजवादीले ससम्मान आश्रय दिने संकेत देखाएको छ । बिना ‘बार्गेनिङ’ एकीकृत समाजवादीमै सामेल हुनुमा नै रावलको व्याक्तिगत हित छ । नेतृद्वय पाण्डे र तिमिल्सेनाले पनि अब ढिलाई नगरुन् । यसैगरी नेकपा एमालेका अन्य नेता तथा कार्यकर्ताहरूले पनि भीम रावल अन्तिम निशाना होइनन् भन्ने यथार्थ बुझ्नु वाञ्छनीय हुन्छ । निरंकुशताको भूत दिमागमा चढिसकेको व्यक्तिले विचार र विवेकलाई थाति राख्न जान्ने चाकडीबाज बाहेक अरूलाई सहन सक्दैन भन्ने यथार्थता एमालेको पार्टी पंक्तिले बुझ्नु जरुरी छ । आफैँ खाडलमा परेपछि चेत्ने भनेको पशुहरूले मात्रै हो, मान्छेले त अरूको देखेर पनि शिक्षा लिन्छ । नेपाली कांग्रेसमै हेरे पनि हुन्छ । आफूसँगै सभापति पदमा चुनाव लडेर हारेका रामचन्द्र पौडेललाई कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति पदमा पुर्याए । देउवासँगै सभापति पदमा पराजित डा.शेखर कोइरालाको पनि कांग्रेस भित्रको भूमिका तथा हैसियतमा तात्विक अन्तर परेको छैन । सभापति पदमा प्रतिस्पर्धा गरेपछि उनले विगतको भन्दा बढी भूमिका पाएको स्पष्ट देखिन्छ । तर, एमाले नेता रावल पार्टीबाट निस्कासित हुनुको मुख्य कारण ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नु हो ।
प्रतिक्रिया