काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दिगो पूर्वाधार विकासका लागि वातावरणीय पक्षलाई ख्याल गर्न आवश्यक रहेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।
मन्त्री दाहालले निर्माण व्यवसाय रोकिँदा अर्थतन्त्र चलायमान नहुने उल्लेख गर्दै भने, ‘जनताको आकांक्षा अनुसारका कामहरू अझै हुन सकिरहेका छैनन् । विकासका आयोजना छनोट गर्न समस्या छ ।’
यसैगरी कर प्रणालीलाई सहयोग गर्ने तथा जनताले उत्पादनलाई बजारसम्म ल्याउने किसिमका आयोजनालाई प्राथामिकता दिनुपर्ने उनको भनाइ थियो । जनताको जीवनस्तर उकास्ने आयोजना छनोट र सम्पन्न गर्नुपर्ने उनले बताए । निर्माण व्यवसायीले नियमअनुसार काम गरेको भुक्तानी चाँडै पाउने उनले बताए । सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले पल्छिल्लो समय पूर्वाधार विकासमा जनताको पहुँच विस्तार हुँदै गएको उल्लेख गर्दै अब पूर्वाधार विकासलाई थप गुणस्तरीय बनाउन जरुरी रहेको बताए ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सीमित आर्थिक स्रोतले मुलुकको पूर्वाधार क्षेत्रको विकासमा चुनौती रहेको बताए । ‘पूर्वाधार विकासमा प्राथमिकीरण गर्नुपर्छ’, उनले भने, ‘विद्युत् प्राधिकरण घाटा हुँदा खुसी हुने जमात देखेको छु । यो नकारात्मक पक्षलाई चिर्दै अगाडि बढ्नुपर्छ ।’ जलविद्युत् उत्पादनदेखि पूर्वाधार क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रबन्धनिर्देशक घिसिङले निजी क्षेत्रलाई लगानी मैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मुलुकको आन्तरिक अर्थतन्त्र समस्या रहेकाले चलायमान बनाउन महासंघले छलफल गरिरहेको बताए । उनले भने, ‘हामीले काम गरेको भुक्तानी पाउन सकेका छैनौँ । कतिपय उद्योग धरासायी अवस्थामा पुगेका छन् । अहिले निर्माण उद्योग चलायमान भएका छैनन् ।’ उनले निर्माण उद्योग चलायमान बनाउन सरकार गम्भीर हुन आग्रह गरे । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले मुलुकको समृद्धिका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको र यसका लागि सरकारले लगानीमैत्री वातावरण तय गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया