काठमाडौँ । राष्ट्रिय सहकारी महासंघद्वारा गठित विज्ञ समूहले सहकारी ऐन, नियम र नीतिहरूको समयसापेक्ष संशोधन र कार्यन्वयन गर्नुपर्ने सुझाव दिएको छ । महासंघकी अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा बिहीबार सम्पन्न विज्ञ समूहको पहिलो बैठकले यस्तो सुझाव दिएको हो । महासंघको सचिवालयको बैठकले महासंघको इतिहासमा पहिलोपटक सहकारी क्षेत्रका चुनौतीहरू पहिचान गर्दै समाधानका उपायहरूबारे सल्लाह सुझाव लिने उद्देश्यले विज्ञ समूह गठन गरेको थियो ।
विज्ञ समूहले सहकारी अभियानप्रति विश्वास जगाउने उपायहरूको खोजी गर्ने, देशका ठूला सामाजिक, आर्थिक समस्याहरू समाधान गर्न सहकारीले खेल्न सक्ने भूमिकालाई स्पष्ट र प्रभावकारी बनाउनुपर्ने लगायतका सुझाव दिइएको छ ।
विज्ञ समूहको बिहीबारको बैठकमा महासंघकी अध्यक्ष मल्लले वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका चुनौती र त्यसलाई समाधान गर्न आवश्यक पहलबारे जानकारी गराएकी थिइन् । साथै, महासंघले अहिलेसम्म गरेका बहस, पैरवी र अन्य क्रियाकलापका विषयमा चर्चा गर्दै, यी प्रयासहरूलाई थप प्रभावकारी बनाउन विज्ञ समूहको भूमिका महत्वपूर्ण हुने बताएकी थिइन् ।
विज्ञ समूहको बैठकमा सहकारी व्यवस्थापन समितिका पूर्वअध्यक्ष काशीराज दाहाल, अधिवक्ता हिमा बस्नेत भट्टराई, राष्ट्रिय किसान आयोगका पूर्व सदस्य रविन्द्र केसी, नेपाल सरकारका पूर्व सचिवद्वय गोपीनाथ मैनाली र शंकर पाण्डे, अर्थविद् डा.चन्द्रमणि अधिकारी र सहकारी विभागका पूर्वरजिस्ट्रार केशव रेग्मीले सहभागिता जनाएका थिए ।
सहकारी अभियानको उद्देश्य, प्राथमिकता, र भावी योजनाबारे स्पष्ट पोजिसन पेपर तयार गरी सार्वजनिक गर्नुपर्ने सुझाव विज्ञ समूहबाट प्राप्त भएको महासंघले जनाएको छ । सहकारी क्षेत्रको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समयसापेक्ष ऐन, नियम र नीतिहरूको संशोधन र कार्यन्वयनका लागि बहस र पैरवी गर्नुपर्ने, सहकारी अभियानप्रति विश्वास जगाउने उपायहरूको खोजी गर्ने, देशका ठूला सामाजिक, आर्थिक समस्याहरू समाधान गर्न सहकारीले खेल्न सक्ने भूमिकालाई स्पष्ट र प्रभावकारी बनाउनुपर्ने लगायतका सुझाव विज्ञ समूहले दिइएको छ ।
महासंघका उपाध्यक्ष खेम पाठकले विज्ञ समूहबाट प्राप्त सुझावहरूलाई महासंघको भावी कार्ययोजनामा समावेश गरी प्रभावकारी कदम चालिने प्रतिवद्धता जनाए । विज्ञ समूहको यो बैठकले सहकारी क्षेत्रका विविध चुनौतीहरूको पहिचान र समाधानका उपायबारे ठोस मार्गचित्र तयार गर्न महत्वपूर्ण भूमिका खेलेको महासंघले जनाएको छ ।
प्रतिक्रिया