पत्रकार महसंघको घट्दो साख

गत २१ वैशाखमा सुरु भएको नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशन ८ महिनापछि अर्थात २८ मंसिरमा सम्पन्न भएको छ । महाधिवेशन सम्पन्न हुन ८ महिना लाग्नुका विशेष कारण छन् । पहिलो कुरा त विगत केही वर्षदेखि नीति अधिवेशन र नेतृत्व छनौटको काम अलगअलग मितिमा गर्ने वैधानिक प्रावधान राखिएको थियो । जसअनुसार गत २२ वैशाखमा सम्पन्न नीति अधिवेशनले २६ जेठमा नेतृत्व छनोट गर्ने मिति तय गरेको थियो । तर मतदाता नामावलीसम्बन्धी विवादका कारण निर्धारित मितिमा नेतृत्व छनौटको काम हुन सकेन । त्यसपछि मिति सार्दै लैजाने क्रममा थप विवाद उत्पन्न हुँदै गयो । कैयौँ दिनसम्म महासंघको केन्द्रीय कार्यालयमा असन्तुष्टहरूले ताला लगाइदिए । नक्कली पत्रकारको नाम मतदाताको सूचीबाट हटाउने नाममा सक्कली पत्रकारहरूको नामसमेत हटाइएको विषयमा विवाद उत्पन्न भएको हो । विवाद बढ्दै जाँदा अध्यक्ष र वरिष्ठ उपाध्यक्षले राजीनामा दिए । त्यसपछि समस्या झन् पेचिलो भयो । निर्वाचनको मिति अन्योलमा पर्दै गयो । महासंघको साख करिबकरिब समाप्त भएको थियो । तर केन्द्रीय कार्यसमितिमा बाँकी रहेका पदाधिकारीहरूले दलका नेताहरूको सहयोगमा निर्वाचनको काम सम्पन्न गरेका छन् । महासंघ जीवित रहन्छ वा रहन्न भन्ने प्रश्न तत्कालका लागि टरेको छ ।

निर्वाचनको परिणाम औपचारिक रूपमा घोषणा हुन बाँकी रहे पनि हारजित तय भइसकेको छ । बधाई लिने दिने प्रक्रिया जारी छ । उम्मेदवार छनोट तथा निर्वाचनको परिणाम विगतको भन्दा भिन्न छैन । विधानतः महासंघको निर्वाचन ३–३ वर्षको अन्तरालमा हुनुपर्छ । अहिलेसम्म विधानको यो प्रावधान बिथोलिएको थिएन, तर यसपटक विधानले तोकेको समयभित्र निर्वाचन गराउन साविकको नेतृत्व असक्षम भएकोले करिब १ वर्षको समयपछि धकेलिएको हो । नवनिर्वाचित कार्यसमितिका लागि मुख्य चुनौति भनेको पनि यही हो । ३ वर्ष भित्रमा निष्पक्ष निर्वाचन गरी नेतृत्व हस्तान्तरण गर्नु नै मुख्य चुनौती हो । किनकी महासंघको सदस्यता वितरण तथा नवीकरण प्रक्रिया नराम्रोसँग बिथोलिएको छ । यसैगरी यसैगरी ठूला पार्टीको हस्तक्षेप विनानिर्वाचन हुनै नसक्ने गरी महासंघ विभिन्न जन्जालमा फँसेको छ ।

पत्रकार महासंघ अकारमा निकै ठूलो भएको छ, देशभर ९ हजार बढी सदस्य छन् । देश संघीयतामा गएसँगै प्रदेश समितिहरू पनि थपिएका छन् । यसबाहेक प्रदेश समितिकै हैसियतका उपत्यका तथा प्रतिष्ठान समितिहरू पनि थपिएका छन् । समावेशी प्रतिनिधित्व गराउने नाममा सबै तहका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको संख्या धेरै ठूलो बनाइएको छ । तर महासंघको साख भने विगतको तुलनामा लगातार घटेको छ । दलीय आस्थाका आधारमा प्रतिस्पर्धा हुने, उम्मेदवार चयन गर्दा सम्बन्धित दलहरूले हस्तक्षेप गर्ने, राज्य सत्तामा भएको गठबन्धनका आधारमा महासंघको चुनावमा पनि गठबन्धन हुने परम्परा घट्दो होइन बढ्दो छ । जसका कारण कुनै दलमा अवद्ध नभई निष्पक्ष र स्वतन्त्र पत्रकारिता गर्नेहरू महासंघको नेतृत्वमा पुुग्ने संभावना झन्झन् टाढा हुँदै गएको छ ।

पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका अनुभवि तथा काबिल पत्रकारहरू भन्दा दलको झण्डा बोक्ने, नेताहरूको चाकडी गर्नेहरू महसंघमा हावी छन् । विगतमा दलका झण्डे उम्मेदवारलाई चुनाव हराउन सक्ने ताकत पत्रकारहरूले राखेका उदाहरण पनि छन् । तर पछिल्ला दिनमा त्यो संभावना ज्यादै नै क्षीण बनेको छ । यसको मुख्य कारण केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको संख्या निकै ठूलो बनाइनु हो । जसका कारण दलिय सिन्डिकेट तोड्न सहज छैन । पत्रकारिता क्षेत्रको विकास तथा साख वृद्धिभन्दा पनि आफू आवद्ध दलबाट विभिन्न अवशर प्राप्त गर्ने पृष्ठभूमी निर्माणका लागि महासंघको नेतृत्वमा पुग्ने होडबाजी बढ्दै गएको देखिन्छ । हुन पनि केही अपवादबाहेक महासंघको नेतृत्वमा पुग्नेहरूले सम्बन्धित दलबाट राजनीतिक नियुक्ति नपाएको उदाहरण छैन । त्यसैले महासंघ अब पत्रकारिता क्षेत्रको साखवृद्धिमा तल्लीन व्यावसायिक पत्रकारहरूको छाता संगठन रहेन । राजनीतिक नियुक्तिका लागि तल्लीन रहने झण्डे कार्यकर्ताहरूको अखडा बन्यो ।

प्रतिक्रिया