लगानी तथा प्रतिफलको हिसाबले निकै आकर्षक मानिएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा निकै ठूलो चलखेल भएको छ । आयोजनाको १२ किलोमिटर लामो सुरुङ २०७६ वैशाख ३ गते ‘ब्रेक थ्रु’ भएको थियो । सबैभन्दा जटिल मानिने सुरुङ संरचना ब्रेक थ्रु भएको ५ वर्ष बितिसक्दा पनि अन्य कतिपय संरचना निर्माणको काम भर्खर सुरु गरिँदै छ । २०७९ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम २०७४ कात्तिकदेखि सुरु गरिएको थियो । सुरुङ निर्माणको काम लक्ष्यभन्दा १ वर्षअघि नै सकिएकोले बाँके र बर्दिया क्षेत्रका किसान निकै खुसी भएका थिए । तर बाँध, विद्युत् गृह तथा नहर निर्माणको काम निकै सुस्त गतिमा अघि बढेको छ ।
विद्युत् गृह निर्माणका लागि भर्खरै जग खनेर सकिएको छ । बाँध निर्माणको काम आधा पनि भएको छैन । मूल तथा सहायक नहर निर्माणको काम सुरु नै गरिएको छैन । आयोजनाको समग्र प्रगति अहिलेसम्म ६५ प्रतिशत मात्रै भएको सम्बन्धित निकायले जनाएको छ । यही गतिमा काम हुने हो भने अझै ५ वर्ष लाग्ने देखिन्छ । बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टर जग्गामा बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध हुने, बाह्रै महिना ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन हुने यो आयोजनाको अनुमानित लागत ३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ हो ।
यो आयोजना सम्पन्न भएमा वार्षिक ४ अर्ब रुपैयाँको त बिजुली मात्रै उत्पादन हुन्छ । ५१ हजार हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ उपलव्ध हुँदा वार्षिक करिब २ लाख मेट्रिक टन कृषि धान उत्पादन बढ्छ । वर्तमान बजार मूल्यअनुसार २ लाख मेट्रिकटन धानको करिब ६ अर्ब रुपैयाँ छ । यस हिसाबले यो आयोजना निर्माणमा भएको ढिलाइले हरेक वर्ष देशलाई कम्तिमा १० अर्ब रुपैयाँ प्रत्यक्ष नोक्सान पुगिरहेको छ । लगानीको अनुपातमा यति ठूलो प्रतिफल प्राप्त हुने विकास आयोजना अहिलेसम्म देशमा अघि बढ्न सकेको थिएन । सुरुङ निर्माणजस्तो जटिल काम लक्ष्यभन्दा ४० प्रतिशत कम समयमा सकिएका कारण पनि उत्साह थपिएको थियो । यस्तै नदी डाइभर्सन आयोजना अरू पनि अघि बढ्ने र देशले समृद्धिको यात्रा तय गर्ने अपेक्षा गरिएको थियो । तर त्यो अपेक्षमा तुषारापात भएको छ ।
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा ज्यादै ढिलाइ भए पनि देशका नीति निर्माता तथा प्राविधिकहरूलाई एउटा पाठ तथा अनुभव भने सिकाएको छ । तर पाठ सिक्ने छाँट भने देखिएको छैन । सुरुङ निर्माणका लागि नेपालमै पहिलोपटक टिबिएम मेसिन प्रयोग गरिएको थियो । पहिलो प्रयोग भएका कारण सफल हुन्छ वा हुन्न भन्ने द्विविधाका कारण सुरुङ ब्रेक थ्रु नभएसम्म अन्य संरचना निर्माणको थालनी नगरिएको हो । सुरुङ मार्ग ब्रेक थ्रु भएलगत्तै अन्य संरचना निर्माणका लागि ठेक्का सम्झौता हुँदै गर्दा कोरोना महामारी सुरु भयो ।
कोरोना महामारीले २ वर्ष खाइदियो । तर, कोरोना महामारी समाप्त भएको साढे २ वर्षको यो अवधिमा पनि निर्माणको गति अपेक्षा अनुरूप बढ्न सकेको छैन । पछिल्लोपटक थपिएको म्यादअनुसार २०८२ असोज १ भित्र काम पूरा गर्ने उल्लेख छ । यही आयोजनालाई उदाहरण मानेर थालिएको सुनकोसी–मरिन डाइभर्सन आयोजनाले पनि खासै गति लिन सकेको छैन । यी आयोजनाले गति लिन नसक्दा कालीगण्डकी–तिनाउ, पश्चिम राप्ती–धानखोला लगायतका डाइभर्सन आयोजनाहरू अघि बढ्न सकेका छैनन् । लगानीको तुलनामा बढी प्रतिफल आउने आयोजना अघि बढाउन विभिन्न बहानामा भाँजो हाल्ने र प्रतिफल नआउने आयोजनामा देशको ढुकुटी सिध्याउने प्रवृत्ति पछिल्लो समयमा बढेर गएको छ । यस्तो प्रवृत्तिप्रति खबरदारी गर्नु जरुरी छ ।
प्रतिक्रिया