धेरै दिन टिकेन भैरहवाबासीको खुसी

सम्पादकीय

बाक्लो हुस्सु लाग्न थालेपछि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित हुन थालेको छ । विज्ञहरूका अनुसार साना विमान अवतरणका लागि कम्तिमा पनि १ हजार २०० मिटर भिजिबिलिटी आवश्यक हुन्छ भने ठूला विमान अवतरणका लागि कम्तिमा १ हजार ८०० मिटर भिजिबिलिटी आवश्यक हुन्छ । तर हालैका दिनमा बिहानको समयमा भैरहवा विमानस्थलको भिजिबिलिटी १ हजार मिटरभन्दा कम हुने गरेको छ । कहिलेकाहीँ दिनभरी नै यस्तो समस्या देखिएको छ । तर, भैरहवा विमानस्थलमा एक्कासि यो समस्या आएको होइन । हरेक वर्षको हिउँद याम, खासगरी मंसिरदेखि फागुनसम्म यस क्षेत्रमा बाक्लो हुस्सु तथा तुँवालो लाग्ने गर्छ । कहिलेकाहीँ १ सातासम्म निरन्तर शीतलहर चल्ने गर्छ ।

भिजिबिलिटीको समस्या समाधानका लागि विमानस्थलमा विशेष किसिमको उपकरण जडान गर्नुपर्ने हुन्छ । यस्तो उपकरणलाई आरएनपिएआर एप्रोच भनिन्छ । आरएनपिएआर एप्रोच जडान गरियो भने ८०० मिटर भिजिबिलिटीसम्ममा ठूला विमानसमेत अवतरण हुन सक्छन् । करिब १ अर्ब रुपैयाँको लागतमा भैरहवा विमानस्थलमा आरएनपिएआर एप्रोच जडान गर्ने प्रक्रिया सुरु भएको पनि लामो समय बितेको छ । तर, काम सम्पन्न नहुँदा समस्या थपिएको छ । आगामी माघभित्र आरएनपिएआर एप्रोच जडान भइसक्ने विमानस्थल व्यवस्थापनले जनाएको छ ।

विगतमा पनि यही समस्याका कारण अन्तर्राष्ट्रिय कम्पनीहरूले भैरहवा विमानस्थलको उडान स्थगित गरेका थिए । यसपटक पनि उडान स्थगितका लागि ३ वटा वायुसेवा कम्पनीले पत्र पठाएका छन् । जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले मौसमको कारण देखाएर केही समय उडान स्थगित गर्नुपर्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लिखित जानकारी गराएका हुन् । तर, विगतमा स्थगित हुनु र अहिले स्थगित हुनुको परिणाम एउटै हुने छैन । यसपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत तथा बिस्तार कार्य भइरहेका कारण उडान ३० प्रतिशत कटौती गरिएको छ । यो कटौतीको क्षतिपूर्तिका लागि विशेष सहुलियत दिएर भैरहवा विमानस्थलमा उडानका लागि अन्तर्राष्ट्रिय कम्पनीहरूलाई प्रोत्साहन गरिएको थियो ।

गत १८ कात्तिकदेखि भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू हुन थालेका थिए । १ सातामा २४ वटासम्म अन्तर्राष्ट्रिय उडान हुन थालेको थियो भने यात्रुको संख्या पनि क्रमशः बढ्न थालेको थियो । भैरहवा–बुटवल क्षेत्रका स्थानीय जनता तथा व्यवसायीहरूमा खुसियाली छाएको थियो । तर, यो खुसीयाली धेरै दिन टिक्ने संभावना देखिएन । किनकी आगामी माघभित्र आरएनपिएआर एप्रोच जडान सम्पन्न गर्ने भनिए पनि भर पर्न सकिने अवस्था छैन । चैत भित्रमा त त्रिभुवन अन्तर्राष्ट्रिय विमानथ्ल मर्मत तथा बिस्तारका काम सक्ने भनिएकै छ ।

हाम्रो देशका नीतिनिर्माताहरू कतिसम्म अदूरदर्शी रहेछन्, भन्ने ज्वलन्त उदाहरण हो, भैरहवा विमानस्थल । पहिलो कुरा त अहिलेको स्थानबाट २ किलोमिटर उत्तरतर्फ मात्रै विमानस्थल निर्माण गरिएको भए पनि आरएनपिएआर एप्रोच जडान गर्न आवश्यक पर्ने थिएन । विमानकै उपकरण प्रयोग गर्न सकिन्थ्यो । दोस्रो कुरा भैरहवा विमानस्थलमा आरएनपिएआर एप्रोच जडान गरेपछि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिस्तार तथा मर्मतको काम थालनी गर्नुपथ्र्यो । यही अदूरदर्शिताका कारण एकातिर यात्रुहरूलाई सास्ती भएको छ भने अर्कोतिर पर्यटन व्यवसाय थिलोथिलो हुने संकेत देखिएको छ । त्यसो त बुटवल–नारायणगढ सडक बिस्तारको योजना बनाउने क्रममा समेत भैरहवा विमानस्थलको भविष्य हेरिएन ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु नपाउनुको मुख्य कारण भनेकै बुटबल–नारायणगढ सडकको कन्तविजोग हो । ११० किलोमिटरको यो सडकदुरी पार गर्न २–३ घण्टा लाग्ने गरेकोमा अहिले मर्मतका नाममा भत्काइएकोले ७–८ घण्टा लाग्ने गरेको छ । नेपालको ७५ प्रतिशत जनसंख्या भैरहवाभन्दा पूर्व छ । यसैगरी भैरहवा विमानस्थलबाट देशका अन्य विमानस्थलमा उडान गराउनेतर्फ पनि सरकारले ध्यान दिन सकेन । जसरी काठमाडौँमा उत्रेको यात्रु तत्कालै विराटनगर, जनकपुर, धनगढी, नेपालगन्ज जान सक्छ, त्यसरी नै भैरहवा उत्रेको यात्रु देशका अन्य ठाउँमा जान सक्ने पूर्वाधार निर्माण गरिएको छैन ।

प्रतिक्रिया