काभ्रेको साँगाबाट आधा किलोभन्दा बढी सुनसहित दुई जना पक्राउ

काभ्रे । काभ्रेको बनेपा नगरपालिका–१३ स्थित साँगा चोकबाट ५५८ ग्राम सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोशी गाउँपालिका–९ का ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ का २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन् ।

आइतबार साँझ काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कार जाँच गर्दा सिटमुनि लुकाएर राखिएको प्लास्टिकको झोलामा सुन फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले सुनसहित कारका चालक बसन्त र सवार अमृतलाई नियन्त्रणमा लिएको छ । अवैध रूपमा सुन ओसारपसार भइरहेको सूचना पाएपछि गरिएको जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

उक्त घटनामा प्रहरीले सुन ओसारपसारमा संलग्न अन्य व्यक्तिहरू र सम्भावित नेटवर्क पत्ता लगाउन अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ ।

प्रतिक्रिया