धर्मले मानव जातिलाई अनुशासित बनाएको छ : रक्षामन्त्री राई

इलाम । रक्षामन्त्री मानवीर राईले सबै धर्मले मानव जातिलाई अनुशासित बनाएको बताएका छन् ।
इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सव समारोह उद्घाटन गर्दै मन्त्री राईले मानव जगतलाई अनुशासित बनाइराख्न धर्मले भूमिका निर्वाह गरिरहेको बताएका हुन् ।

‘यदि धर्म छैन भने, लगामबिनाको घोडाजस्तै हुन्छ, २१औँ शताब्दीमा मानवको रूपमा उभ्याउन मुस्किल हुन्छ’, मन्त्री राईले भने, ‘सबै धर्मले मानव जातिलाई अनुशासित भएर बाँच्न सहयोग गरिरहेको छ ।’

मन्त्री राईले समाज सुधारक राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन र वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको उपदेशले किरात समुदायलाई एकताको सूत्रमा बाँधेको उल्लेख गरे । ‘फाल्गुनन्द लिङ्देन र आत्मानन्द लिङ्देनको उपदेशले किरात समुदायलाई एकताको सूत्रमा बाँधेको छ, यो समग्र मानव जातिका लागि राम्रो पक्ष हो’, उनले भने, ‘म पनि आत्मानन्द गुरु लिङ्देनको उपदेश लिन यहाँ उपस्थित भएको छु ।’

मन्त्री राईले धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सव धर्मगुरुको मात्र नभई समग्र किरात धर्मको उत्सव रहेको उल्लेख गरे । ‘यो जन्मोत्सव धर्मगुरुको मात्र जन्मोत्सव होइन, समग्र किरात धर्मको उत्सव हो’, उनले भने, ‘यसलाई धार्मिक उत्सवको रूपमा मनाउन आग्रह गर्दछु ।’ धर्मगुरुको जन्मोत्सव हरेक मंसिर १८ गते किरात धर्मावलम्बीहरूले उत्सवको रूपमा मनाउने गरेका छन् ।

पहिलोपटक शाकाहारी गाउँ माङ्सेबुङ गाउँपालिका–५ लारुम्बा आएका मन्त्री राईले धार्मिक सहिष्णुता कायम गर्दै समाजलाई अगाडि बढाउन आग्रहसमेत गरे । धर्मगुरु आत्मानन्द लिङ्देनलाई किरात धर्माबलम्बीहरूले ‘विश्व शान्ति र मानव एकता’को प्रतिकको रूपमा मान्दै आएका छन् ।

प्रतिक्रिया