काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले लागुऔषध ब्राउनसुगर जस्तै देखिने पदार्थसहित ३ जनालाई पक्राउ गरेको छ ।
धुलिखेल नगरपालिका– ९ स्थित बिपी राजमार्गमा प्रहरीले विशेष सुराकीका आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले शंका लागेका ३ जनालाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा गाडीभित्र लुकाइरहेको ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ । उनीहरू भकुण्डे बेसीबाट धुलिखेल हुँदै काठमाडौं जाँदै थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार ०८१ मंसिर १६ गते बेलुका १०:०० बजे प्रहरीले काठमाण्डौ शंखरापुर– ९ बस्ने अभिषेक राजबाहक सोही स्थान बस्ने ३१ वर्षीय किशोर थापा र ३२ वर्षीय विराट थापालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत खुलेआम लागुऔषध कारोवारमा संलग्न देखिएकोले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई प्रहरीले टोयोटा हाइलक्स गाडी चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो । गाडीभित्र रहेको प्लास्टिकको झोलाभित्र लुकाइएको अवस्थामा ५.५ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका थापासँगै उनका साथमा रहेको सामसङ मोबाइल फोन थान–१, गाडीको चाबी, र अन्य सामग्रीहरू पनि बरामद गरिएको छ ।
अनुसन्धानका क्रममा फेला परेका सामग्रीहरूलाई थप परीक्षणका लागि प्रमाणस्वरूप संकलन गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरी पक्राउ परेका व्यक्तिहरूमाथि काभ्रेको जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले लागुऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउन सर्वसाधारणलाई लागुऔषध सेवन र कारोबारमा संलग्न कसैको बारेमा सूचना उपलब्ध गराउन अनुरोध गरेको छ ।
प्रतिक्रिया