ग्रान्ड महफिल तताए राधा, बिटु र रामले

काठमाडौँ ।

आज दिल यो चोर्ने जमर्को बढी छ

दोष तिम्रो, मेरो नजरको बढी छ

अहिलेको समयकी लोकप्रिय गजलकार राधा कणेलले गजलका यी पंक्ति वाचन गरिरहँदा सर्वनाम थिएटरको हल तालीमय बनेको थियो ।
पुनः उनले अर्को गजल सुनाइन् ः

भन्नेहरू त भन्छन् तरबार भन्न लायक

उनको नजर छ यौटा संसार भन्न लायक

यस्ता दमदार भावसहितका करिब ३२ वटा पंक्ति अर्थात् ८ वटा गजल सुनाइन् राधाले ।

राधासँगै अन्य २ गजल स्रष्टा बिटु केसी र राम अविरल बिष्ट पनि दमदार ढंगले गुन्जिए । हरेक २ महिनामा हुँदै आएको ग्र्यान्ड महफिलको सिजन–२ १३औँ शृंखला शनिबार सम्पन्न भएको छ । काठमाडौँको सर्वनाम थिएटरमा सम्पन्न महफिलमा यसपटक गजलकारहरू राधा कणेल, बिटु केसी र राम अविरल बिष्ट प्रस्तुत भए ।

गजलकार तथा अभियन्ता बाबु त्रिपाठीले सहजीकरण गरेको महफिलमा हरेक गजलकारले ८–८ वटा गजल प्रस्तुत गरेका थिए ।

बाटो काट्यौँ बाटोले आँगन काट्यो

अनि देश काट्ने औँलाले रिबन काट्यो

गजलकार बिष्टले यस्ता करिब ३ दर्जन गजल सुनाए । उनका गजलमा समसामयिक विषय बढी देखिन्थ्यो । व्यंग्यमा तीव्रता र असन्तुष्टि रहेका गजल निकै सुन्दर थिए ।

अर्की गजलकार केसी यसरी बोलिन् आफ्ना गजलहरूमा ः

आधा बाटो तय अब आधा हेर्नु छ

जिन्दगी ! तेरो पनि इरादा हेर्नु छ

समसामयिक, राजनीतिक–सामाजिक विसंगतिमाथि प्रहारसँगै शृंगारका दुवै रस संयोग तथा विप्रलम्भमा लेखिएका गजलहरू सुनेर श्रोताका कान र रौँ ठाडा बनेका थिए ।

लामो समयदेखि गजल साधना गरिरहेका तीनै जना स्रष्टाले गजल प्रस्तुत गरिरहँदा हलमा देखिएको उत्साहले अब नेपाली गजलले नयाँ मार्ग खोजिरहेको आभास दिन्थ्यो ।

गजललाई लोकप्रिय बनाउन र आममान्छेबीच पु¥याउन महफिलले खेलेको भूमिका अतुलनीय रहेको सहभागीहरूले बताए । कार्यक्रममा कवि दीप दर्पणको नवीनतम कविता कृति ‘एक्लो पृथ्वी, एक्लो मान्छे’माथि परिचर्चा गरिएको थियो । कवि दर्पणले उक्त कृति आफ्नो समयको प्रतिबिम्ब भएको र आफ्नो कृति कसैको प्रतिस्पर्धी नभएको बताए ।

प्रतिक्रिया