राजाले बुद्धि नपुर्याउँदा माओवादी आयो, राजतन्त्र गयो

बोर्णबहादुर कार्की

२०४६ सालको क्रान्ति नेपाली कांग्रेसको नेतृत्वमा भएको थियो भने त्यसमा कम्युनिस्ट पार्टीहरूको पनि महत्वपूर्ण भूमिका थियो । आन्दोलनका उपलब्धि संरक्षण तथा संस्थागत गर्ने जिम्मा आन्दोलकै अगुवाइ गर्ने पार्टीहरूको थियो । २०४६ सालको आन्दोलनको नेतृत्व गणेमानसिंह र कृष्णप्रसाद भट्टराईले गरेका थिए, तर २०४७ सालको निर्वाचनपछि हाबी भए– गिरिजाप्रसाद कोइराला । जो कम्युनिस्टसँग मिलेर आन्दोलन गर्नु हुँदैन भन्ने पक्षमा थिए, आन्दोलन सफल भएपछि पनि पञ्चायतको पनि जित हो भनेर खुलामञ्चमै भाषण गरे, उनै गिरिजा २०४६ सालपछि हाबी भए । उनी आन्दोलनका उपलब्धि संस्थागत गर्ने प्रक्रियामा जिम्मेवार देखिएनन् । सबैलाई मिलाएर लानुको सट्टा एकलौटी गर्न खोजेपछि आन्दोलनकै सहयात्री कांग्रेस र अरू पार्टीहरूको द्वन्द्व बढ्दै गयो ।

दोस्रो कुरा २०४६ सालको जनआन्दोलनले राजामा केन्द्रीकृत अधिकार जनताको हातमा दिएको थियो । राजाले पनि २०४६ सालका उपलब्धि तुहाएमा आफ्ना हातमा सबै शक्ति आउने ठानेर लागिपरेका थिए । राजाले पनि आन्दोलन गर्ने पार्टीहरूबीच फाटो ल्याउने काम सकेसम्म गरिरहे । कांग्रेस–कम्युनिस्टलाई उचालेर द्वन्द्व सिर्जना गरिरहेका थिए । राजाले पनि २०१७ सालको पाठ सिकेर संस्थागत गर्नतर्फ लागेको भए राम्रो हुन्थ्यो नि ! तर ठिक उल्टो भयो । यदि राजाले २०४६ सालका उपलब्धि संस्थागत गर्न सहयोग गरेको भए देश न माओवादी द्वन्द्वमा फस्थ्यो न राजतन्त्रको नै अन्त्य हुन्थ्यो ।

यस्तै, नेपालको राजनीतिलाई सधँै आफ्नो मुठीमा राखिराख्न चाहने भारतले पनि २०४६ सालको उपलब्धि संस्थागत हुनबाट रोकिरहेको थियो । आफूलाई फाइदा नहुने देखेपछि भारतले नेपालका पार्टीहरूमा द्वन्द्व सिर्जना गरिराख्ने, अस्थिरता गराइराख्ने काम गर्यो । यस्तै, अमेरिकासहितका पश्चिमा शक्तिहरू पनि नेपाललाई सामाजिक द्वन्द्वको अखडा बनाइराख्न चाहन्थे । यिनै विविध कारणले २०५२ सालमा माओवादी युद्ध जन्मायो ।

प्रतिक्रिया