डेढ वर्ष अघिदेखि लगातार बढ्दै गएको सुनको मूल्य सोमबार ह्वात्तै घटेको छ । आइतबार प्रतितोला करिव १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको सुन एक्कासि सस्तिएर सोमबार १ लाख ५१ हजारमा झरेको छ । सरकारले सुन आयातमा लाग्दै आएको भन्सार २० बाट १० प्रतिशतमा झारेका कारण सुनको मूल्य १ तोलामै करिब १६ हजार रुपैयाँ घटेको हो ।
८ वर्ष अघिसम्म नेपाली बजारमा ५० हजार रुपैयाँ प्रतितोलाको हाराहारीमा सुनको खरिद बिक्री हुने गरेको थियो । त्यतिबेला सरकारले सुन आयातमा ५ प्रतिशतको हाराहारीमा भन्सार महसुल लिँदै आएको थियो । तर भारतमा भन्दा नेपालमा सस्तो भएकोले ठूलो परिमाणमा सुन आयात हुन थाल्यो । भारत तस्करी गर्ने उद्देश्यले सुन आयात बढ्दा देशको राजस्व पनि बढेकै थियो, तर कोरोनासँगै उत्पन्न आर्थिक मन्दीका कारण डलरको सञ्चिती घट्न थाल्यो ।
अत्यावश्यकीय बस्तु आयातका लागि डलर नपुुग्ने अनुुमानका साथ सरकारले सुन आयातमा कडाई मात्रै गरेन भन्सार दर पनि पाँच प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्यायो । भन्सार दर महँगो भएका कारण एकातिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको तस्करी बढ्न थाल्यो, अर्कातिर नेपालमा भन्दा भारतमा सुन सस्तो भएकोले गरगहना किन्न भारततर्फ जाने क्रम बढ्न थाल्यो । यही अवस्थालाई मध्यनजर राख्दै सरकारले सुन आयातमा लाग्दै आएको भन्सार दर घटाएको हो । सरकारको यो निर्णयलाई सुनचाँदी व्यवसायी संघले स्वागत गरेको छ ।
सरकारको यो निर्णयले सुनको अवैध आयातमा कमी आए पनि वैध आयात भने बढ्ने निश्चित छ । वैध आयात बढ्दा सरकारले पाउने राजस्व पनि बढ्छ । तर सुन आयात बढ्दा हाम्रोजस्तो गरिब देशको अर्थतन्त्रमा सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी पर्छ । सुनमा गरिने लगानी भनेको अनुत्पादक हो । सुन आयात जति बढ्छ, रोजगारी वृद्धि हुने बस्तुको आयात त्यति नै घट्छ । यतिबेला बैंकहरूले निक्षेपको व्याजदरमा भारी मात्रामा कटौती गरेका छन् । कर्जाको व्याजदर पनि घटाएका छन् । कर्जाको व्याजदर घट्दा रोजगारमूलक क्षेत्रमा लगानी बढ्छ । तर अब सुनको मूल्य सस्तो भएपछि सर्वसाधारणले बैंकमा रकम जम्मा गर्नुको साटो सुन खरिद गर्ने संभावना बढ्छ । यो संभावना बढेसँगै बैंक व्याज बढ्न सक्छ । यसैगरी पुँजीबजारको मूल्य पनि घट्न सक्छ ।
सरसर्ती हेर्दा सुनमा गरिने लगानी भनेको सम्पत्तिको बचत पनि हो । तर अधिकांश नेपालीहरूको आर्थिक हैसियत कमजोर छ । सम्पत्तिको बचत गर्नकै लागि सुन किन्ने आर्थिक हैसियत छैन, तर विवाहको सिजन सुरु हुनासाथ सुन पसलहरूमा ग्राहकको घुइँचो लाग्ने गरेको छ । किनकी विवाहमा सुन नभई नहुने परम्परागत मान्यता छ । घरजग्गा बेचेरै भए पनि विवाहका लागि सुनका गरगहना खरिद गर्ने परम्परा घट्दो होइन बढ्दो छ । विगतमा बेहुलाबेहुलीलाई १–१ वटा औँठी भए विवाह उम्कन्थ्यो । तर, पछिल्ला वर्षहरूमा बेहुलीलाई एक सेट सुनका गहना सामान्य बनेको छ । बेहुलाका बाबु–आमा, दाजु–भाइ, दिदी–बहिनी, ज्वाईं–भिनाजु लगायतलाई पनि औँठी, तिलहरी, सिक्री दिने चलन सुरु भएको छ ।
नगद दाइजोको विकृति सुनमा रूपान्तरण भएको छ । सुन जतिसुकै महँगो होस्, सुकुम्बासी बन्न तयार भएरै पनि सुनका गरगहना किन्ने विकृति बढेको छ । हाम्रो देशमा गरिबी घट्न नसक्नुका कारणहरूमध्ये एउटा कारण विवाहमा गरिने सुन खरिद पनि हो । सक्नेहरूको देखासिखी नसक्नेहरूले पनि गरेको देखिन्छ । राज्यले कडाइका साथ यो विकृति रोक्न सक्नुपर्छ । सुनको भन्सारबाट आम्दानी बढाउने राज्यको सोचले जनता झन् झन् कंगाल हुन्छन् भन्ने हेक्का राख्नुपर्छ ।
प्रतिक्रिया