काठमाडौं । हल्ट प्राइज एट शंकरदेव क्याम्पसले नेपाल बाल सेवा फाउन्डेसन, नयाँ बानेश्वरमा शनिबार शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा, हल्ट प्राइज एट शंकर देव क्याम्पसको टिमले ‘दिगो प्रोजेक्ट’ अन्तर्गत ५० जना बालबालिकालाई कापी, पुस्तक, पेन्सिल जस्ता शैक्षिक सामग्री वितरण गरेको हो ।
यी सामग्रीहरूले बालबालिकालाई सिकाइको नयाँ अवसर दिने र तिनीहरूको शिक्षा यात्रा सशक्त बनाउने उद्देश्य राखेको संस्थाले जनाएको छ । कार्यक्रमको दौरान बालबालिकाले आफ्ना प्रस्तुति राखेर कार्यक्रमलाई थप रोचक र प्रभावशाली बनाएका थिए ।
यस अवसरमा हल्ट प्राइज एट शंकरदेव क्याम्पसको टिमले बालबालिकासँग खेलकुद र मनोरञ्जनात्मक गतिविधिहरू पनि आयोजना गरेका थिए । कार्यक्रममा क्याम्पस निर्देशक सृष्टि न्यौपाने संयोजक रहेकी थिइन् ।
हल्ट प्राइज एक विश्वव्यापी सामाजिक उद्यमशीलता पिचिङ प्रतियोगिता हो, जसमा विद्यार्थीहरूले नयाँ र प्रभावकारी विचार प्रस्तुत गर्दै सामाजिक समस्याहरूको समाधानका लागि कार्ययोजना तयार गर्दछन् ।
यस प्रतियोगिताले विद्यार्थीहरूमा उद्यमशीलता र सामाजिक उत्तरदायित्वको भावना बढाउने संस्थाको विश्वास छ । क्याम्पसका सदस्य र नेपाल बाल सेवा फाउन्डेसनका कर्मचारीहरूले यस कार्यक्रमको आयोजनामा सहयोग पुर्याउन पाएकोमा आभार व्यक्त गरेका थिए ।
प्रतिक्रिया