हचुवा निर्णय गर्नु घातक

सम्पादकीय

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरी पोखरामा १ हजार शय्याको विशिष्टीकृत अस्पताल निर्माणका लागि चिनियाँ सहयोग जुटाइदिन आग्रह गरेका छन् । यही मंसिर १७ गतेदेखि हुन गइरहेको प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपालको तर्फबाट चिनियाँ सहयोगको सूची प्रस्तुत गरिँदा पोखरामा १ हजार शय्याको अस्पताल पनि समेटियोस् भन्ने माग गण्डकी प्रदेशको हो । गण्डकी प्रदेशमा पहिलो सरकार बन्ने वित्तिकै प्रदेश गौरवका आयोजनाका रूपमा पोखरामा १ हजार शय्याको अस्पताल बनाउने कार्यक्रम पनि राखिएको थियो । तर बजेट तथा जग्गाको अभावमा अहिलेसम्म यो आयोजना अघि बढ्न सकेको छैन ।

अस्पताल निर्माणका लागि पोखरा महानगरपालिका–१६ मा सिँचाइ विभागका नाममा रहेको २०० रोपनी जग्गा उपलव्ध गराइदिन पनि गण्डकी सरकारले संघीय सरकारसँग माग राख्दै आएको छ । मुलुककै पर्यटकीय राजधानी घोषणा भइसकेको दोस्रो ठूलो महानगर पोखरामा १ हजार शय्याको विशिष्टिकृत अस्तपाल स्थापनाका लागि प्रदेश सरकारद्वारा पहल हुनु सरसर्ती हेर्दा स्वागतयोग्य हो । प्रदेश सरकारले आफ्नै स्रोत र साधनले यो काम गर्न सक्ने हो भने राम्रै हो, तर संघीय सरकारको प्राथमिकताभित्र पर्छ कि पर्दैन ? भन्ने विषय सोचनीय छ ।

अस्पताल स्थापना गर्ने भनेको भूगोलका लागि होइन, जनताका लागि हो । गण्डकी प्रदेशको जनसंख्या २५ लाखको हाराहारीमा छ । त्यसमध्ये पूर्वी नवलरासी जिल्लाको ३ लाख जनसंख्याका लागि चितवन र बुटबल धेरै नै पायक पर्छ, पोखरा अपायक पर्छ । गोरखा जिल्लाको आधा जनसंख्याका लागि काठमाडौँ र चितवन पायक पर्छ । तनहुँ जिल्लाको पनि आधा जनसंख्याका लागि चितवन पायक पर्छ ।

त्यसै गरी पोखरा उपत्याकासँगै जोडिएको छ, तनहुँको खैरेनीटार । पृथ्वी राजमार्गसँगै जोडिएको खैरेनीटारको जिपी कोइराला श्वासप्रश्वास अस्पताललाई भारतको सहयोगमा १ हजार शय्याको विशिष्टिकृत अस्पताल बनाउने योजनाअन्तर्गत धमाधम काम भइरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट खैरेनीटारसम्मको दुरी जम्मा २५ किलोमिटर मात्रै छ ।

त्यसो त पोखरामा हाल निजी क्षेत्रका २ वटा मेडिकल कलेज छन् । यसमध्ये मणिपाल कलेज ७५० शय्याको छ । ५५० शय्याको गण्डकी मेडिकल कलेज पनि छिटै ७५० शय्याको हुँदै छ । सरकारी स्तरको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ५०० शय्याको छ ।

प्रदेशका ११ वटै जिल्लामा पहिलेका जिल्ला अस्पतालहरूले सेवा दिइरहेका छन् । ८० मध्ये धेरैजसो पालिकामा अस्पताल निर्माण सम्पन्न भइसकेका छन्, केही पालिकामा सम्पन्न हुने चरणमा छन् । पोखरा पर्यटकीय नगरी हो, पोखरामा खान बस्न महँगो छ । मेडिकल सिटीका लागि उपयुक्त ठाउँ भनेको भरतपुर हो ।

राज्यको ढुकुटी खर्च गर्दा आवश्यकता, प्राथमिकता र दीर्घकालीन सोच राख्न सकिएन भने देश ऋणले चुर्लम्म डुब्छ भन्ने कुरा नेपालकै अहिलेसम्मको अनुभवले स्पष्ट पारिसकेको छ । कुन ठाउँको जनसंख्या घट्दै छ ? र कुन ठाउँको जनसंख्या बढ्दै छ ? भन्ने दृष्टिकोण पुर्याउन नसक्दा मुलुकको ठूलो रकम बालुवामा पानी हालेसरह भएको छ ।

पहाडी क्षेत्रका गाउँगाउँका विद्यालय भवन निर्माणमा ठूलो रकम खर्च गरियो, तर अहिले अधिकांश विद्यालय बन्द छन् । गाउँमा सडक पुर्याइयो, स्वास्थ्यचौकी भवन बनाइयो, बिजुली पुर्याइयो, घरघरमा खानेपानीका धारा पुर्याइयो । तर, यी सबै प्रयोगविहीन बने । जनगणना २०७८ ले पनि पुष्टि गरेको छ कि गण्डकी प्रदेशको जनसंख्या घट्दो छ ।

प्रतिशतका आधारमा हेर्दा सबैभन्दा बढी अन्तर्राष्ट्रिय बसाइँसराइ गण्डकी प्रदेशबाटै भएको छ । सबैभन्दा बढी राष्ट्रिय बसाइँसराइ पनि गण्डकी प्रदेशबाटै छ । गण्डकी प्रदेश भित्रका सबै अस्पतालहरूको कुल शय्या संख्या जोड्ने हो भने अहिले पनि ३ हजारभन्दा माथि छ । २५ लाख जनसंख्याका लागि ३ हजार शय्या संख्या भनेको ८०० जनसंख्या बराबर एउटा हो । यति सुविधाजनक मापदण्ड विश्वका थोरै विकसित देशहरूमा छ ।

प्रतिक्रिया