‘तराई मधेसमा समाचकेवा’

बारा । दाजु बहिनीको प्रेमको प्रतीकको रूपमा रहेको तराई–मधेसको मौलिक पर्व समाचकेवाको रौनक अहिले बारालगायत प्रदेश–२ मै छाएको छ । अहिले गाउँगाउँमा किशोरीहरू समूह–समूह बनाएर समाचकेवा खेल्न थालेका छन् । गोवद्र्धन पूजा (शुक्रबार) रातीदेखि उनीहरू समाचकेवा खेल्न थालेका हुन् ।

कात्तिक पूर्णिमासम्म खेलिने यस मौलिक पर्वले अहिले गाउँको रौनक बढाएको छ । यो पर्व विशेष गरी तराई मधेसका रौतहट, बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, धनुषा, महोतरी, नवलपरासीलगायत छिमेकी राष्ट्र भारत बिहारका विभिन्न गाउँ तथा सहरी क्षेत्रमा बसोबास गर्ने मधेसी तथा थारू मूलकी अविवाहित किशोरीले मनाउने गर्दछन् ।

द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो बाल्यकाल गोकुलमा बिताई मथुरामा आएपछि राधिका र भगवान् कृष्णका १६ हजार गोपिनीहरूले भगवान् कृष्णको सम्झनामा मनाउने समाचकेवा कालान्तरमा दाजुबहिनीको प्रेम र सद्भावको मौलिक पर्वमा रूपान्तरित भएको कलैया उपमहानगरपालिका–१६ उत्तरझिटकैयाका पुरोहित नन्दकिशोर मिश्रले बताए ।

‘यो पर्वमा पहिला दाजुलाई गीतिशैलीमा बहिनीले मार्ने र फेरी गीति शैलीको माध्यमले नै जीवित बनाउने गर्छन्’, उनले भने, ‘यस दृश्यलाई सर्वसाधारणले अभिरुचीपूर्वक अवलोकन गर्ने र गीत सुन्ने गर्दछन् ।’

आफूले पनि अभिरुचीपूर्वक किशोरीहरूले गाएको समाचकेवाको लोकगीत सुन्ने गरेको उनले बताए । २ सातासम्म मनाइने यस सांस्कृतिक पर्वमा रातको समयमा गाउँघरका खासगरी कुमारी कन्याहरू एकत्रित भई माटोले बनाइएको मूर्तिहरूको लोकगीत गाएर पूजाआजा गर्ने गर्दछन् ।

पर्वको अन्तिम दिन पूर्णिमाको रातमा उक्त मूर्तिहरूलाई परम्परागत गीत गाउँदै फुटाउँछन् । अनि गाउँघर नजिकको नदी, जलाशय, पोखरी, सरोवर आदिमा लगी सेलाएर आफ्ना दाजुभाइहरूलाई मिठाई पकवान आदि खुवाएर यो पर्व विधिवत रूपमा सम्पन्न गर्छन् ।

‘मूर्ति सेलाउने दिन किशोरीहरूले आआफ्नो अभिभावकबाट संकलन गरेको भेटीलाई एकत्रित गरी त्यसबाट दूध, चिनी, तरकारीको परिकार खरिद गर्छौं’, कलैया उपमहानगरपालिका–२ औधापुरकी किशोरी सोनीकुमारी ठाकुरले भनिन्, ‘घरमा उपलब्ध भएको चामल संकलन गर्छौं र पकाउँछौँ ।’ यसरी पकाएको परिकार आफूसँगै गाउँका दाजुभाइलाई समेत बोलाएर श्रद्धापूर्वक खुवाउने गरेको उनले बताइन् ।

समाचकेवामा चकेवा (दाजु), समा (भाउजु), खिडलिच (बहिनी), बृन्दावन र चुङ्गला (भाइहरू) समेत गरी पाँच जनाको रंगीन मूर्तिहरू कुशले बनाइएको रंगीन भाँडोमा राखेर गाउँभरी घुमाएर घरघरै अन्न, नगद आदि उपहार स्वरूप संकलन गर्ने गरिएको उनले जानकारी दिइन् ।

पर्वको अन्तिम दिन भेटी स्वरूप उठेको अन्नपात र नगदबाट भोजभतेर गरी गाउँभरीका मान्यजन र इष्टमित्रहरूलाई एकत्रित गरेर खाने खुवाउने चलन रही आएको अर्का किशोरी खुशबु कुमारीले बताइन् ।

उक्त अवसरमा नाचगान गरेर मनोरञ्जन गर्ने चलनसमेत रहेको उनले जानकारी दिइन् । यसपर्वको अवसरमा तराईका अधिकांश गाउँमा आर्केस्ट, लबन्डा नाच, बिहुलाको नाच, ड्रामाको आयोजना गर्ने गरिएको बारा उत्तरझिटकैयाकी किशोरी राधिकाकुमारी मण्डलले बताइन् ।

‘हामीले नाच नचाउने व्यवस्था मिलाएका छौँ’, उनले भनिन्, ‘त्यसका लागि गाउँबाट चन्दा संकलन गरेका छौँ ।’ यस पर्वमा मूर्तिहरूको अलावा केसार, फूल, कचो, चुलेसी, गाजल बनाउने भाँडो (कजरौटा) आदि प्रयोग हुने गरेको उनले बताइन् ।

दाजुबहिनीको रक्त सम्बन्धलाई प्रगाढ बनाउँदै यस पर्वको एक पात्र चुङ्गलाको खराब छविलाई इङ्गित गर्दै उसको कृतिम दाडी जुंगा जलाउँदै समाचकेवा खेल्ने गरिन्छ । लोपोन्मुख रहेको यस पर्वलाई जीवन्त राख्नका लागि सबै सचेत हुनुपर्ने बेला आइसकेको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताए ।

‘दाजुभाइ दिदीबहिनीको प्रेम सम्बन्ध झल्काउने पर्व हो समाचकेवा’, उनले भने, ‘यसले माया स्नेह बढाउँछ ।’ बिस्तारै हामीले लोक संस्कृति झल्काउने यस्ता चाडपर्व हराउने क्रम बढेको उनको बुझाइ छ । सबैले आआफ्नो स्थानबाट रीति संस्कृतिलाई झल्काउने चाडपर्वको जगेर्ना गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया