विश्वकपमा छनोट भएको यु–१९ महिला क्रिकेट टोली स्वदेश फर्कियाे

काठमाडौं । काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न भएको आइसिसी यु–१९ महिला टि–२० क्रिकेट विश्वकपको एसिया छनोटको खेल खेलेर छनोट भएको महिला टोली स्वदेश फर्किएको छ । बुधबार अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको महिला टोली बिहीबार स्वदेश फर्किएको हो ।

बिहीबार साँझ त्रिभुवन विमानस्थलमा आइपुगेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायत पदाधिकारीहरुले स्वागत गरेका थिए ।

छनोटको अन्तिम तथा निर्णायक खेलमा बुधबार युएईमाथि ८ विकेटको सहज जित निकाल्दै नेपाली टोली पहिलो पटक महिला यु १९ विश्व कपमा स्थान बनाएको हो । विश्वकप आगामी वर्षको जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा आयोजना हुँदैछ ।

नेपालले विश्व कपमा स्थान बनाएसँगै अर्को महिना हुने एसिया कपमा समेत छनोट भएको छ । एसिया छनोटका ६ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो ।

पहिलो संस्करणको यु १९ महिला एसिया कप मलेसियामा डिसेम्बर १५ देखि २२ सम्म आयोजना हुनेछ । यु १९ महिला एसिया कपमा नेपाल भारत र पाकिस्तानसँग एकै समूहमा परेको छ । यस पटक छनोट भएको टोली पूजा महतोको कप्तानीमा रहेको थियो । खेलमा कप्तान पूजाले सानदार प्रदर्शन गरेकी थिइन् ।

प्रतिक्रिया