काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा काटिएका बिजुलीको लाइन जोड्ने भएको छ । मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।
उनका अनुसार मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने बोर्डले निर्णय गरेको र सोअनुसार करिब ६ अर्ब रुपैयाँ १५ दिनभित्र विद्युत् प्राधिकरणले उठाउने पनि निर्णय भएको छ ।
गत आइतबार मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो ।
तर, सोमबार नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले मन्त्रिपरिषद्को निर्णयको विरोध गरेका थिए । उनीहरूले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रकम नबुझाएरै लाइन जोडिए संघर्ष गर्ने चेतावनी दिएका थिए ।
अर्कोतिर सोमबार अपराह्न मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगरे क्षम्य नहुने चेतावनी दिएका थिए ।
मन्त्रिपरिषद्को उक्त निर्णयसँगै ऊर्जा मन्त्रालयले १५ दिनभित्र टीओडी मिटरको आधारमा बक्यौता रहेका उद्योगमा बिल काट्न र बक्यौता उठाउन निर्देशन दिएको थियो ।
प्रतिक्रिया