कोप–२९ को उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति

जलवायु परिवर्तन र हिमाल संरक्षण मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज मंगलबार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) को उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै छन् । उनले आज ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यस्तै, भोलि बुधबार राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्नेछ । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उक्त बैठकमा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउनेछ ।

उनले यस वर्षको कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाउनेछन् । १९२ भन्दा बढी देशका राष्ट्रप्रमुख सहभागी हुने सत्रमा उनले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिकोे सचिवालयले जनाएको छ । वन मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. सिन्धुप्रसाद ढुंगानाका अनुसार जलवायुजन्य परिस्थितिले सिर्जना गरेका विपद्जन्य घटनाका विभिन्न उदाहरण प्रस्तुत गरिनेछ ।

सरकारको दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तथा राष्ट्रिय अनुकूलन योजना (न्याप) कार्यान्वयन गर्नका लागि अन्तर्राष्ट्रि««य जलवायु वित्त, क्षमता र प्रविधिको आवश्यकता भएकाले यस पटकको कोपमा जलवायु वित्तलाई नै बढी प्राथमिकता दिइने उनी बताउँछन् । जलवायुजन्य जोखिम न्यूनीकरण गर्न र मुलुकको समग्र हितका लागि नेपालले कोपमा मुख्य ६ वटा एजेन्डा उठाउनेछ । जसमा जलवायु वित्त, जलवायुजन्य हानिनोक्सानी न्यूनीकरण, कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा, प्रविधि र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशिताका ६ वटा विषयगत कार्यपत्र तयार पारिएको छ ।

यस्तै, राष्ट्रिय अवधारणपत्र, जलवायु अनुकूलन, जलवायु वित्त, कृषि र खाद्य प्रणाली, स्वास्थ्य र जलवायु परिवर्तन, ऊर्जा संक्रमण र दक्षता, पानी र जलवायुजन्य कार्य, जलवायुका लागि प्रकृतिलगायत विषय समावेश गरेर राष्ट्रिय स्थितिपत्र पनि तयार पारिएको छ ।
कोप–२९ मा सहभागी हुन सोमबार बाकु पुगेका राष्ट्रपति पौडेललाई हैदर अलियभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्यायमन्त्री फारिद तरुव अहमदोभले स्वागत गरेका थिए ।

मन्त्री अहमदोभसँगको भेटमा राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या नै जलवायु परिवर्तन भएको बताए । उनले यस सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धताअनुसारको रकम लगानी गर्न तथा कार्बन उत्सर्जनमा न्यून योगदान गरेर पनि मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए ।

मन्त्री अहमदोभले पनि सम्मेलनको मुख्य विषय नै जलवायु परिवर्तनसम्बन्धी मुद्दा भएको भन्दै विकाशसील देशमाथि न्याय गरिनुपर्ने बताएका थिए । उनले अजरबैजानमा नेपालका जस्ता पहाड नभए पनि यहाँका हिमाल पग्लिएर पानीको स्रोत सुक्न थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

सोमबार सुरु भएको सम्मेलन ७ मंसिरसम्म चल्नेछ भने राष्ट्रपति पौडेल भने कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।

राष्ट्रपति र गुटेरेस एउटै जहाजमा

राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच छोटो भेट भएको छ । कोपमा भाग लिन हिँडेका दुवै जना कतारको दोहा ट्रान्जिटबाट बाकु जाने क्रममा एउटै जहाजमा परेका हुन् । भेटमा उनीहरूबीच जलवायु परिवर्तनबाट उत्पन्न समस्याबारेमा संक्षिप्त कुरा भएको थियो ।

महासचिव गुटेरेसले राष्ट्रपति पौडेल बसेको ठाउँमै आएर भेटेका थिए । ‘जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ,’ आफूलाई भेट्न आएका गुटेरेससँग राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया